सदरमुकाममा सहुलियतदरको चामल विक्री शुरु,गाउँका विक्री केन्द्र खाली

सदरमुकाममा सहुलियतदरको चामल विक्री शुरु,गाउँका विक्री केन्द्र खाली

 

दैलेख – नेपालीको महानचाड वडादशैलाई लक्षित गरी  दैलेखमा सहुलियत दरको मुल्य चामल विक्री शुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा दैलेखले सर्वसाधारणलाई  चाडबाडमा राहत दिने उद्देश्यले सहुलियत मुल्यमा चामल विक्री सोमवारदेखी शुरु गरेको हो ।  

चाडपर्वका अवसरमा व्यापार कम्पनीले विभिन्न प्रकारको चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिएको छ। किलोमा पाँच रुपैयाँ छुटसहित अरुवा मोटो चामल प्रतिकिलो ५९रुपैयाँ, अरुवा मध्यम चामल प्रतिकिलो ६१ रुपैयाँ, सोना मन्सुली चामल प्रतिकिलो ६१ रुपैयाँ,स्टिम जिरा मसिनो चामल ९१ रुपैयाका दरले बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रविन कुमार रेग्मीले बताए ।

कम्पनीले २५किलोको स्टिम जिरा मसिनो चामल भने प्रतिबोरा २ हजार २ सय ७५ रुपैयाँ विक्री गरेको छ । त्यस्तै अरुवा मध्यम चामल १ हजार ५ सय २५रुपैयाँ ,अरुवा मोटो चामल १ हजार४ सय ७५ रुपैयाँ,सोना मन्सुली १हजार५ सय २५रुपैयाँमा बिक्री भईरहेको कम्पनीले जनाएको छ । 

 चामलमा छुट दिएपछि ज्याला ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई चाडपर्वमा ठुलो राहत मिल्ने आशा गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिल्नेमा स्थानीयबासी आशावादी वनेका छन् । 

गाउँका विक्रीकेन्द्र खाली
 
जिल्ला सदरमुकाममा चाडपर्वलाई लक्षित गरि सहुलियत मुल्यमा चामल विक्री शुरु गरेपनि जिल्लाका ५ वटा विक्री केन्द्र खाली छन् । विक्री केन्द्रका लागि असारतिर सुचना प्रकाशित गरेपनि कोही ठेकेदारले विक्री केन्द्रका लागि आशय पत्र दर्ता नगर्दा जिल्लाका ५ वटा विक्री केन्द्र खाली हुने भएका  हुन् ।  वेस्तडा,नौमुले,दुल्लू,चामुण्डा र ठाटीकाँध विक्री केन्द्रका ठेक्का परेपनि कसैले आशयपत्र दर्ता नहुँदा यो बर्ष सहुलियत विक्री केन्द्रमा नपाईने कम्पनी कार्यालय दैलेखले जनाएको छ ।  


नारायण नगरपालिकाका बाहेक अन्य १० पालिकाका वासिन्दाले सहुलियतदरको चामल सदरमुकाम बाहेक अन्यत्र नपाउने भएपछि अन्य पालिका बासिन्दाले आक्रोश पोखेका छन । शहर केन्द्रित सहुलियत मुल्यमा विक्री गर्ने चामलले विपन्न,गरिव वर्गलाई नभएर हुनेखानेका लागि विक्री गर्न शुरु गरेको दुरदराजका बासिन्दाले आरोप लगाउने गरेका छन् । 
आर्थिक बर्ष ०८०।०८१ मा सहुलियत दरको चामल ६४८.५० क्वीन्टल विक्री भएको थियो । स्वीकृत कोटामा आएको ५ सय क्वीन्टल चामल विक्री भएपछि खाद्य संस्थान शाखाले थप ५ सय ३६ क्वीन्टल चामल आयात गरेकामा १४८.५० क्वीन्टल चामल मात्र विक्री भएको बाँकी चामल व्यापार कम्पनीमा मौज्दात रहेको कार्यालय प्रमुखले जानकारी दिए । चालु आर्थिक बर्षमा ७ सय क्वीन्टल सहुलियत दरको चामल आएको छ । यो माघ २ सम्म मात्र विक्री गरि सक्नुपर्छ,उनले भने । 

प्रतिक्रिया