बाढीपहिरोले १६ जलविद्युत् आयोजनामा क्षति

बाढीपहिरोले १६ जलविद्युत् आयोजनामा क्षति

दुई दिनको अविरल वर्षाका कारण कम्तीमा १६ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।

काठमाण्डौं - नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कम्तीमा १६ जलविद्युत् आयोजनामा क्षति पुगेको विवरण संकलन भएको छ। यद्यपि सबै जलविद्युत् आयोजनासँग सम्पर्क हुन नसकेका कारण अन्य आयोजनामा पनि क्षति पुगेको हुन सक्ने आकलन छ।

मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाको मकवानपुरस्थित पावरहाउस पूर्ण रूपमा डुबेको छ। त्यसैगरी, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरस्थित २२।१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनाको पावरहाउस पनि डुबानमा परेको छ। गत वर्षको बाढीबाट पनि यो आयोजना प्रभावित भएको थियो।

बाढीका कारण पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवा खोला जलविद्युत् आयोजना फेरि क्षतिग्रस्त भएको छ। गत वर्षको बाढीले क्षतिग्रस्त यो आयोजना पुननिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनस् बाढीले असर पुर्‍याएको हो।

त्यस्तै, साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजना, सोलुखुम्बुको पनि हेडवर्क्समा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको छ।

सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित तीन मेगावाटको माई खोला क्यासकेड जलविद्युत् आयोजना, इलामको बाँध र टेलरेसमा क्षति पुगेको छ। यस आयोजनाबाट पनि उत्पादन बन्द भएको छ। सोही कम्पनीको प्रवर्द्धन रहेको ९.६ मेगावाटको माई खोला जलविद्युत् आयोजनाको पनि बाँध र प्रसारण लाइनमा क्षति पुगेको इप्पानले जनाएको छ।

बाढीका कारण एक मेगावाटको पाँचथरको फेमे खोला जलविद्युत् आयोजनाको बाँध र विद्युत्‌गृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

त्यस्तै, लमजुङस्थित पाँच मेगावाटको सिउरी खोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ भने लमजुङकै ४० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्गमा र प्रोटेक्शन वालमा क्षति पुगेको छ।

बाढीले धादिङस्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पहुँचमार्गमा ठूलो क्षति पुर्‍याएको छ। रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको क्याम्प हाउस तथा तीन वटा कन्टेनर बाढीले बगाएको छ भने पहुँचमार्गमा क्षति पुगेका छ।

पाँचथरस्थित १० मेगावाटको हेवा खोला जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति पुगेको र क्रसर पुरिएको जनाइएको छ। यसको प्रसारण लाइनको टावर ढलेको, पावरहाउसमा जडान गर्न ल्याइएका सामग्री पनि बगेका छन्।

त्यसैगरी, पाँचथरकै १५.१ मेगावाटको सभा खोला ‘बी’ जलविद्युत् आयोजनाको पावरहाउस पुरिएको छ। यसको बाँध र पहुँचमार्गमा क्षति पुगेको छ भने बाढीले अस्थायी पुल बगाएको छ। यस्तै, ६.३ मेगावाटको सभा खोला ‘सी’ जलविद्युत् आयोजनाको पनि पहुँचमार्गमा क्षति पुगेको छ।

बाढीले कास्कीस्थित ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ।

त्यस्तै, नुवाकोटस्थित निर्माणाधीन १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाको दुई वटा स्काभेटर, दुई वटा लोडर र तीन वटा टिपर बगाएको छ भने बेलीब्रिज समेत बगेको छ। पावरहाउस बनाउन तयारी गरिएको स्थान पनि पुरिएको छ।

नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवर्द्धित दोलखाको बिगु गाउँपालिका-१, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थल पुरिएको छ। पहिरोका कारण आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुगेको छ। साभार:हिमालखवर 

प्रतिक्रिया