झोलुंगे पुल भत्किएपछि विद्यालय जाने बाटो बन्द

झोलुंगे पुल भत्किएपछि विद्यालय जाने बाटो बन्द बाढीले क्षतिग्रस्त बनेको डिकुवा चारबोटे र सोरुङछबिसे जोड्ने झोलुंगे पुल। तस्वीर:प्रमेश तिलुङ राई


सुनकोशी नदीमा आएको बाढीले झोलुंगे पुल भत्किएपछि तटीय क्षेत्रमा पर्ने खोटाङ र उदयपुरका विद्यार्थी स्कूल जानबाट वञ्चित छन्।

असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका -२ डिकुवा चारबोटे र उदयपुरको कटारी नगरपालिका- १० सोरुङछबिसे जोड्ने झोलुंगे पुल भत्किएको छ। पुल भत्किएपछि सोरुङछबिसेस्थित बेँसीगाउँका विद्यार्थी डिकुवाको डिकुवा आधारभुत विद्यालय जान सकेका छैनन्।

सोरुङछबिसेबाट सुनकोशी पुल तरेर दैनिक १६ जना विद्यार्थी डिकुवा आधारभुत विद्यालयमा अध्ययन गर्न जान्थे ।  आवत जावत गर्न नमिल्ने गरी झोलुंगे पुल क्षतिग्रस्त बनेर झुण्डिएपछि विद्यार्थी आउन नपाएको डिकुवा आधारभुत विद्यालयका प्रधानाध्यापक प्रमेश तिलुङ राईले बताए।

कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा सोरुङछबिसेबाट बाल विकासदेखि कक्षा -८ सम्मका विद्यार्थी आउने गरेका छन्। यो विद्यालयमा ७८ जना विद्यार्थी अध्ययनरत छन्। पानी नघट्दासम्म उनीहरू बढाइबाट बञ्चित भएको राईले बताए। पानी घटेपछि भने डुंगा वा गाडीको ट्युबमा चढेर विद्यालय आउन सक्ने उनको भनाइ छ।

यस्तै, डिकुवा र उदयपुरको ताप्ली गाउँपालिका-५ रुपटारको निवुवाटार जोड्ने झोलुङ्गे पुल बगेपछि डिकुवाका विद्यार्थी पनि स्कूल जान पाएका छैनन्। डिकुवाका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ११ विद्यार्थी दैनिक पुल तरेर महेन्द्र मावि रुपटार जानेआउने गरेका थिए। यो पुलको दायाँ(बायाँको सपोर्ट लट्ठा चुँडिनुका साथै खोटाङतर्फको टावर ढल्किएको छ।

डिकुवाकै बाईटार र उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेको चिपटार जोड्ने नयाँ पुलमा पनि बाढीले क्षति पुगेको छ। गत साउनदेखि सञ्चालनमा ल्याइएको पुलको दुईतिरको सपोर्ट लट्ठा चुँडिएको स्थानीयले बताए। साभार:हिमाल खबर 

प्रतिक्रिया