राउटे समुदायका महिलाहरुको स्वास्थ्य चेकजाँच

राउटे समुदायका महिलाहरुको स्वास्थ्य चेकजाँच


दैलेख -   राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनाको आयोजनामा स्वास्थ्य चेकजाँच गरिएको हो । 

राउटे समुदायका युवा बिर्ख बहादुर शाहीको निधनपश्चात् केही समय अघि मात्र सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ७ मा बसाइँ सरेका राउटे समुदायका गर्भवती महिलाहरुको स्वास्थ्य चेक जाँचसँगै सरसफाई सम्बन्धि कार्यक्रम गरिएको राउटे समुदायमा कार्यरत अनमी अनुजा पन्तले जानकारी दिनुभयो । 

दक्षिण एसियाको एक मात्र घुमन्ते फिरन्ते जाती राउटे समुदायमा पोषणयुक्त खाना खानपानकोे कमि हुने समस्या देखिएकाले स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य र सरसफाई सम्बन्धि कार्यक्रम गरिएको स्वास्थ्यकर्मी पन्तले बताउनुभयो   । 

स्वास्थ्य संस्थामा चेकजाँच गर्न जान मान्दैनन् । आफूहरुलाई पोषण युक्त खानपिनको कमी रहेको राउटे समुदायका महिला बिनी साहीले बताउनुभयो । कहिलेकाहीँ बाँदरको मासु खान पाउने भए पनि प्रयाप्त रुपमा पोषण युक्त खान नपाईने,तथा अन्य खानपिनको पनि कमी महशुस भएको छ,’उहाँले भन्नुभयो, ‘खानपानको कमी महशुस भएका बेला पोषणयुक्त खानपान खानुपर्छ  ।’

राउटे समुदायका मुखियाका कारण स्वास्थ्य चेकजाँच पनि गर्न नपाइने र खानपिनका कुरामा पनि प्रयाप्त नपाउने समस्याले गर्भवती र सुत्केरी अप्ठेरोमा परेको राउटे युवती परी शाहीले बताउनुभयो । 
गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँचका क्रममा राउटे समुदायका महिलाहरुलाई खानपानका कुराहरुमा ख्याल गर्ने र पोषण,आइरन चक्की तथा सरसफाईका बारेमा जनचेतनामुलक जानकारी गराएको पन्तले जानकारी दिनुभयो  ।

राउटे समुदायमा हाल ७३ जना महिला रहेका छन् ।  चेकजाँचका क्रममा राउटे समुदायमा २ जना गर्भवती र १ जना सुत्केरी महिला रहेको अनमी अनुजा पन्तले बताउनुभयो ।

प्रतिक्रिया