रोशीले रुवाएका बस्ती

रोशीले रुवाएका बस्ती

दुई दिने झरीपछि रोशी खोलामा आएको बाढी र पहिरोले तहसनहस भएका पनौती नगरपालिका र रोशी गाउँपालिकाका कयौं बस्ती मसानघाट जस्तै बनेका छन्, जहाँ स्थानीय बासिन्दा बस्न पनि डराइरहेका छन्।

काठमाण्डौं  - नाम नयाँगाउँ भए पनि गाउँभरी कुनै चिज नयाँ छैन। घर भत्किएका छन्। खेत पुरिएका छन्। कतै ढुंगाको थुप्रो छ त कतै खुट्टा भाँसिने लेदो। कतै भाँडाकुँडा छरपस्ट छन् त कतै लत्ताकपडा।

हत्केलामा टाउको अड्याएर टोलाइरहेका वृद्ध गणेशप्रसाद दाहाल घरी घरतिर हेर्छन् त घरी माटो छरफस्ट पारिएको खाल्डोतिर। घरछेउमा बनेको त्यो उही खाल्डो हो, जहाँबाट अढाइ महीनाकी नातिनी प्रिंशा र बुहारी गोपिनी दाहाललाई निकालिएको थियो, मृत अवस्थामा।

टोलाइरहेका गणेशलाई बहिनी ज्वाइँ सुदीप तिमिल्सिना सान्त्वना दिइरहेका छन्। उनी धेरैबेर टोलाए भने सुदीप आएर कुराकानी गर्न खोज्छन्। उनी सम्झाउन खोज्दै भन्छन्, ‘जे नहुनु भइयो। अब आफूलाई सम्हाल्नुपर्छ।’पहिरोमा  नातिनी र बुहारी गुमाएपछि टोलाइरहने गरेका गणेशप्रसाद दाहाल। 


अर्कातिर, गणेशकी पत्नी पनि सम्हालिन सकेकी छैनन्। माला लगाएको बुहारीको तस्वीर हेर्दै टोलाउँछिन्। नातिनी कुरा निकाल्दा आँशु झरेको पत्तै पाउँदिनन्।

कसैसँग पनि बोलचाल गर्न सकिराखेकी छैनन्। गणेशले पनि कुराकानी गर्न सकेका छैनन्। एक्लै टोलाएर बस्छन्। केहीबेर सबै चुपचाप लागेपछि गणेश बोले, “एकैछिनमा १० वटा ज्यान गयो।”

त्यसपछि उनको गला अवरुद्ध भयो। सुदीप उनलाई थमथमाउन थाले।

गणेशले १० ज्यान भनेका बुहारी, नातिनी र आठ वटा बाख्रा हुन्। उनलाई बाख्रा पनि परिवारका सदस्य जस्तै लागेका छन्। असोज १२ गते आएको पहिरोमा उनले घरसँगै बुहारी, नातिनी र बाख्रा गुमाएका थिए।

पहिरोले क्षतिग्रस्त गणेशप्रसाद दाहालको घर।


उनकी छोरी पूजा बजागाईंँ केही दिनअघि मात्रै नातिनी लिएर नयाँगाउँ आएकी थिइन्। सुत्केरी भएकाले केही समय माइतमै बस्ने योजना थियो। तर, पहिरोमा छोरी गुमाउनु परेपछि फर्किएकी छन्। अर्को दिन नै परिवारजनले पूजालाई लगेर गएका छन्, त्यही घरमा बस्दा छोरीको याद आउला भनेर।

गणेशले त बिर्सिनै सकेका छैनन्। त्यो असोज १२ गते साढे ८ बजेतिर हो। दुई दिनदेखिको झरी त्यो बिहान पनि निरन्तर थियो। काभ्रेप्लाञ्चोकको पनौती नगरपालिका–२, नयाँगाउँस्थित घरमै थिए, उनी। केही दिनअघि मात्रै अर्को गाउँ सुनथान ओमडाँडाबाट अढाइ महीनाकी सुत्केरी छोरी आएकी थिइन्।

छोरीलाई दूध तताउन पनि त्यो बिहानै बिउझेका थिए, उनी। बस्तुभाउलाई दानापानी दिए। त्यसपछि भैंसी दुहेर सकेका मात्रै थिए, घरमाथिबाट माटो खस्न थाल्यो। एकैछिनमा भागदौड मच्चियो।

घरमा सुरक्षित हुँदैन भनेर उनले सबै परिवारजनलाई माथिल्लो डाँडामा पठाउन थाले। उनकी जेठी बुहारी गोपिनीले सुत्केरी नन्द पूजालाई छिट्टो भाग्न लगाइन्। अढाई महीनाकी भान्जीलाई आफूले बोकिन्। “आफ्नी भान्जीलाई बोकेर भाग्न खोज्दै थिइन्, तर माथिबाट आएको पहिरोले दुवैलाई हान्यो,” गणेश भन्छन्, “सबैलाई अघि लगाएँ, म पछाडि पछाडि थिएँ, हेर्दाहेर्दै बुहारी र नातिनीलाई पहिरोले पु-यो।”

केहीबेरमै घर पनि गयो। २०७२ सालको भूकम्पले क्षति भएपछि नयाँ घर बनाएका थिए। गोठबाट बाख्रा निकाल्नै भ्याएनन्। केहि दिनअघि छोराले दिएको पैसाले दुई तोला सुन किनेका थिए, त्यो पनि घरसँगै पुरिएको उनी सुनाउँछन्।

त्यो खबर पाउने वितिक्कै उनका दुवै छोरा आइपुगे। एउटा बनेपामा गाडी सर्भिसिङको काम गर्थे भने अर्का पढ्थे। उनका बहिनी ज्वाइँ सुदीप पनि आए। गाउँले थपिए। सबैले मिलेर पहिरो पन्छाउनतिर लागे। “भोलिपल्ट साढे १० बजे मात्रै शव निकालियो,” सुदीप भन्छन्, “त्यतिवेलासम्म उद्दार गर्न न प्रहरी आए न त जनप्रतिनिधि।”

गणेशको घरमा मात्रै होइन, एक साता बित्दासम्म पनि नयाँगाउँमा कोही आएका छैनन्। अहिलेसम्म कुनै राहत पाएका छैनन्। अर्काको घरमा बसिरहेको उनको परिवार अब नयाँगाउँमा नबस्ने निष्कर्षमा पुगेको छ। तर, तत्काल निस्कन सकेका पनि छैनन्।

“मान्छे त जसोतसो निस्किन सकिएला तर बस्तुभाउ लग्ने बाटो छैन,” गणेश भन्छन्, “बस्तुभाउको पनि माया लाग्छ। तिनलाई छोडेर जान पनि सकिँदैन, लिएर जान पनि।”

पहाडी गाउँका घर निकै टाढा टाढा छन्। केहि पर्दा झट्ट पुग्न गाह्रो हुने गाउँमा अहिले पहिरोले बाटो नै भत्किएपछि कठिन भएको छ। न कोही सघाउन आएका छन्, न त उनीहरू घरबाट निस्किन सकेका छन्।

यस्तै, सकसमा भेटिए, पनौती–२ कै जोरघट्ट गाउँका गुमान सिंह। उनी पहिरोले पुरेको घर र बाँकी रहेका सामान नियालेर बसिरहेका थिए। मरमसला, नूनतेल, बेसारका बट्टा असरल्ल थिए। भत्किएको घरमा सरसामान खोजिरहेका उनी बोले, “केही बाँकी रहेनँ, सबै गयो।”

गुमान सिंह।
पहिरो आउन थालेपछि घरपरिवार भागेका थिए। उनीहरूको ज्यान जोगियो, तर धनसम्पत्ति सबै पहिरोले लग्यो। पनौती–२ मा मात्रै बाढीपहिरोले ४७ वटा घर नष्ट भएका छन्। धेरैजसो रोशी खोला किनारका घर छन्।

यो वडाभन्दा तलको पनौती–१२ को अवस्था पनि भताभुङ्ग बनाएको छ, रोशीको बाढीले। स्थानीय बासिन्दा सम्हालिन सकेका छैनन्। “म त बेहोस जस्तै भाछु। के गर्दै छु भन्ने थाहा पाउँदिनँ,” नम्रता नगरकोटी भन्छिन्।

पनौती–१२, भालेश्वरकी ५७ नम्रता त्यो रात मस्त निन्द्रामा थिइन्। राति १२ बजेतिर हो, एक्कासी ‘बाढी आयो, भागौं! भागौं!’ भनेको आवाज आयो। नम्रता दम्पत्ति भीर चढेर पल्लो गाउँ गए। उनीहरू त बाँच्न सफल भए, तर घर बग्यो। अहिले घरको नामोनिसान छैन। घर भएको स्थानतिर इशारा गर्दै उनी भन्छिन्, “ब्लड प्रेसरको औषधि पनि झिक्न पाइनँ।”

नम्रता नगरकोटी।


अहिले छिमेकीको घरमा आश्रय लिइरहेका छन्। धनसम्पत्ति सबै बाढीले लगेको बताउँदै उनी खानपिन गर्न पनि समस्या भएको बताउँछिन्। “धान काटेर राखेको थिएँ। मकै भाँचेको थिएँ। घरमा ३०–४० हजार पैसा पनि थियो,” उनी निरास हुँदै भन्छिन्, “सबै गयो, लगाएका लुगाबाहेक केही रहेन।”

भालेश्वरका अधिकांश बासिन्दाको अवस्था नम्रताको जस्तै छ। रोशी खोलाको बाढीले बस्ती नै बगाएको छ। कहिँ कतै त घरका अवशेष पनि बाँकी छैनन्। क्षतविक्षत भएका घर पनि डरलाग्दा बनेका छन्।

भालेश्वरकै कुमार गुरुङको त भरखरै किनेको घर नै डरलाग्दो भएको छ। कतारमा रहेका उनका जेठो छोरा दिनेशले ३० लाख रुपैयाँ जोडेका थिए। त्यही पैसाले नयाँ किनेका थिए। “छोराले दुःख गरेर कमाएको पैसाले घर किनेका थियौं,” कुमार भन्छन्, “घर किनेको दुई दिनमै ३० लाखको घर रोशीले बगायो।”

 

कुमार गुरुङ।
उनी घर भित्रको लेदो फालिरहेका थिए। रुघाखोकीले च्यापेको थियो। तैपनि सकी नसकी लेदो पन्छाइरहेका थिए।

कुमारकै घरछेउमा तिलकबहादुर तामाङको घर थियो। तिलकको घरलाई पनि रोशीको बाढीले डरलाग्दो ओढार बनाइदिएको छ। उनको घरभित्रबाट रोशी बगिरहेको छ।

अर्कोपट्टिको घरको हालत पनि उस्तै छ। घर अगाडिको एलबीटी खाजाघर लेदोले भरिएको छ। परिवारका सबै सदस्य लेदो फालिरहेका थिए। “न ओढ्ने ओछ्याउने झिक्न पायौं, न त खाने भाँडाकुँडा झिक्न पायौं, खाना बनाउने भाँडा नभएर झन बोजोग भयौं,” तिलक पीडा पोख्छन्।

उनको नाति सचिन तामाङ झन मलिन मुहार लगाइरहेका थिए। आफूले लगाएको टिसर्ट र हाफ पाइन्ट देखाउँदै उनले भने, “यही लगाएको लुगा मात्र बाँकी छ, किताब पनि बगायो।”

उनी पनौतीस्थित काभ्रे इंगिलस सेकेन्डरी स्कूलमा कक्षा ९ मा अध्ययनरत छन्। तर, अब पढाइ कसरी अघि बढाउने चिन्ता थपिएको उनी सुनाउँछन्। “पसल भत्केर हाम्रो परिवारको आयस्रोत बन्द भयो,” सचिन भन्छन्।

यो वडामा बाढीपहिरोमा परी पाँच जनाको ज्यान गएको छ। अधिकांश घर बगेका छन्। ढुङ्गा र गिट्टीले वस्ती भरिएको छ।

अर्को, महभीर टोल पहिरोले क्षतिविक्षत भएको छ। धान, मकै फलिरहेका खेतमा अहिले रोशी खोला बगिरहेको छ।

दिलकुमारी राउत ६ रोपनी खेत बगेको बताउँछिन्। रोशीको भेल र पहिरो खस्दा खस्दै भागेर बस्तभाउ जोगाएको उनी सुनाउँछिन्। “भगवानको कृपाले ज्यान जोगियो,” दिलकुमारी भन्छिन्।

उनी जस्तै घर छोडेर भागेका कतिपय त जोगिए तर १९ जनाको भने ज्यान गएको छ। नगरपालिकाको अभिलेख अनुसार, पनौती–११ का पाँच जना, वडा नं. १२ का पाँच जना, वडा नंं. १ का तीन जना, वडा नं. २ का तीन, वडा नंं. ४ का दुई जना र वडा नंं. ३ का एक जनाको मृत्यु भएको छ। बाढीमा बगेर एक जना हराइरहेका छन्।

राहतको पर्खाइ

पनौती–२, जोरघट्ट गाउँबाट असोज १८ गते बिहान ८ बजे निस्केका एक हुल बाढीपीडित साँझ ६ बजे घर फर्किँदै थिए। चामल, नुन, तेलका पोका छेउमा राखेर बीच बाटोमै थकाइ मेटिरहेका उनीहरू निरास थिए। उनीहरूले दिनभरको बाटो हिडेर राहतका लागि भालेश्वर गाउँ पुगेका थिए।

राहत लिएर फर्किरहेका पनौती–२ का बासिन्दा।
नगरपालिकाले प्रति परिवार ३५ किलो चामल, दुई किलो दाल, एक पोका नुन, एक प्याकेट मस्यौरा र एक लिटर तेल बाँडेको छ। यहि पनि पूरै नपाएको उनीहरूले गुनासो गरे। राहत लिन दिनभर हिडेका उनीहरूले १०–१५ किलो पनि नपाएको बताए।

जनप्रतिनिधिले दिने राहत पनि वडा कार्यालय र बाटो छेउका बासिन्दाले मात्रै पाइरहेको पनौती–१२ का दिनेश गुरुङ गुनासो गर्छन्। “राज्यबाट कुनै सहयोग पाएका छैनौं, जे जति आएको छ त्यो सबै तलतिर मात्रै भयो,” दिनेश भन्छन्, “बाटो नभएकाले जुन ठाउँमा राहात पुग्नुपर्ने हो त्यो ठाउँमा पुगेको छैन।”

स्थानीय जनप्रतिनिधिले बाटो सहज भएको ठाउँसम्म राहत पु¥याइरहेका छन्। त्यसपछि पीडितहरूले नै बोकेर लग्नुपर्छ। तर, बाढीपहिरोले बाटो भताभुङ्ग भएकाले कतिपय राहत पाइने ठाउँसम्म पुग्न सकेका छैनन्। जोरघट्ट गाउँका गुमान सिंहले भने, “आङ छोप्ने र छाक टार्ने मुस्किल छ। अहिलेसम्म राहत पाएका छैन।”

नयाँगाउँका इन्द्रबहादुर तामाङ पनि राहत नपुगेको बताउँछन्। बाढीले घरखेत बगाएपछि पनौती बजार आएर बसिरहेका उनी सरकारले बेवास्ता गरेको गुनासो गर्छन्। “दशैं आईसक्यो, एक किलो चामल पनि पनौतीबाट बोकेर ल्याउने पर्ने स्थिति छ। पानी छैन, बत्ती छैन,  बस्ने लायक कुनै घर छैन,” उनी भन्छन्।


सरकारले राहत दिने भने पनि सबै पीडितले नपाएको उनी सुनाउँछन्। राहतका लागि गए पनि नपाएको बताउँदै उनी भन्छन्, “अहिलेसम्म हामी रित्तो हात छौं। भोलिका दिन पनि पाइने नपाइने टुंगो छैन।”

नयाँगाउँकै गणेश दाहालको घरमा पनि राहत पुगेको छैन। नयाँगाउँका अन्य बाढीपीडितले पनि सरकारी सहयोग पाएका छैनन्। “हामीलाई यहाँबाट निस्कने व्यवस्था मिलाउँन कोही आउलान कि भनेर पर्खिरहेका छौं,” गणेश भन्छन्।

उनलाई जतिसक्दो चाँडो गाउँ छोड्न पाए हुन्थ्यो भन्ने लागेको छ। किनकि, बाढी आएको दिनदेखि बाटो छैन, बत्ती छैन, खानेकुरा छैन, पानी छैन। पहिरोले बाटो भत्किएकाले चार–पाँच किलोमिटर तलको मुहानबाट पानी ल्याउन सकिएको छैन। “हामी बाँचेका मान्छे पनि पानी खान नपाएर मर्ने पो हौं कि!,” उनी भन्छन्, “वस्तुभाउको पनि उहि अवस्था छ।”

सूचना नै पुगेन

बाढीपहिरो आएपछि सरकारले दिने राहत मात्रै होइन, यी गाउँसम्म त झरी पर्ने सूचना पनि पुगेको थिएन। जल तथा मौसम विज्ञान विभागले एक साताअघि नै देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा हुने प्रक्षेपण गरिसकेको थियो। कतिपय ठाउँका पूर्वतयारी गरिएको थियो।

पनौती र रोशी गाउँपालिकाको उपल्लो भेगमा भने पानी पर्दै छ भन्ने सूचना पनि नपुगेको स्थानीय बताउँछन्। “यस्तो विपद् आउने गरी ठूलो पानी पर्छ भन्ने थाहै थिएन,” पनौती–४ का टंक बञ्जारा भन्छन्।

उनी यो वडाको विपद् व्यवस्थापन समितिका सदस्य पनि हुन्। स्थानीय सरकारले पनि पूर्वतयारी गरेको थिएन। “पानी सधैँ आइरहेका थियो। हामी तयारीमा बसेका थिएनौं,” उनी भन्छन्, “यस्तो भयङ्कर बाढी आउने थाहा भए त पहिल्यै सुरक्षित ठाउँमा जान सकिन्थ्यो।”

नयाँगाउँका गणेशलाई पनि यस्तो विपद् आउँछ भन्ने थाहा पाएको भए सुरक्षित ठाउँमा जान्थे भन्ने लागेको छ। ६० वर्षीय वृद्धलाई अहिलेसम्म यस्तो बाढी आएको थाहा छैन। “२०३८ सालमा एक पटक बाढी आएको थियो, त्यो पनि यस्तो क्षति गर्ने किसिमको थिएन,” उनी भन्छन्।

यस पटकको विपत्तिले भने पनौतीबासीको होश हवास उडाएको छ। यो विपत्तिमा कतिले परिवारका सदस्य गुमाएका छन् भने कति बेघर भएका छन्। गाउँबस्ती नै ढुङ्गा, लेदोले भरिएको छ। खेतबारी बगर बनेको छ। “गाउँ त मसानघाट जस्तो भएको छ,” गणेश विस्तारै बोल्छन्, “यस्तो ठाउँमा कसरी बाँच्नु?”

शब्द/तस्वीर:अर्चना दर्जी र शमशाद अहमद ।साभार:हिमालखबर 

प्रतिक्रिया