राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण

राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख - सोमबार लोपोन्मुख जाती राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदाय बसोबास गरिरहेको सुर्खेतको बराहताल गाउँपालिका –७ को कल्यानकाँधमा पुगेर सामाजिक सुरक्षाको भत्ता वितरण गरेको हो । 
राउटे समुदायका १३७ जना राउटेलाई सामाजिक सुरक्षा रकम वितरण गरिएको गुराँस गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी चेतन खड्काले बताए । उनले भने,१ सय ३५ जनालाई ३ महिनाको ४ हजारदरले एकजनालाई २ महिनाको १ जनालाई १ महिना गरि १६ लाख ३२ हजार रकम वितरण गरेका हौं, उनले भने । साउनमहिनामा १ जना,भदौंमा १ र असोजमा १ जना गरि यो समुदायमा तीन महिना तीन जनाको मृत्यु भएकाले जुन महिनामा मृत्यु भयो,त्यही महिनामा लगत कट्टा गरिएकोले मृतकले पाउने रकम परिवारलाई दिइएको छ,खड्काले थपे । 


 
राउटे समुदाय गुराँस गाउँपालिका ८ का  नागरिक हुन् । २०७५गुराँस गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएकोले सामाजिक सुरक्षाको रकम जुन ठाउँमा बसोबास गरेपनि गुराँस गाउँपालिकाले नै वितरण गर्दै आएको छ । समयमै पालिकाले भत्ता दिएको राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले गाउँपालिकाका कर्मचारीलाई समेत धन्यवाद दिएका थिए । दशै कसरी मानौला भनेर मेरो जनताले शोक मान्याँको थियो त । तपाई(कर्मचारी) ले यो बर्ष त समयमै भत्ता ल्याएकोमा मेरो जनता खुशी भयाँको तपाईलाई धन्यवाद भनेको छत,कहिल्यै नमाँझेका पहेला दाँत देखाउँदै मुखियाले भने । सामाजिक भत्ता सँगै राउटे समुदायका सबै सदस्यलाई पालिकाले परिचय पत्र समेत वितरण गरेको छ ।


 
 

 

राउटे समुदाय भन्छन : दशै रमाईलो हुन्याँ भयो
 
गुराँस गाउँपालिकाले दशै अगावै राउटे समुदायमा सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि राउटे समुदाय औधी खुशी छन् । राउटे युवाको मृत्यु पश्चात बसाई सरेर सुर्खेत पुगेका यो समुदायमा दशै कसरी मनाउने भन्ने चिन्ता थियो । कुकाठ पनि नपाईने,समयको अभाव भएकाले दशैको लागि के गर्ने भन्ने चिन्ता थियो । पालिकाले हाम्रो समस्या बुझेर दशै अगावै भत्ता दिदा हामी खुशी भएका छौ,मुखिया डिलबहादुर शाहीले बताए । 

राउटे बस्तीमा यतिवेला दशैको रौनकताले निकै छोएको छ । बस्ती वरपरको सरसफाईमा समुदाय लागि परेका छन् । बालबालिकालाई आवतजावत सजिलो लागि बाटो बनाउने थालेका छन् । रातो माटो गोबरले लिपपोत गरेर त्रिपालभित्र जमिन चिप्लो र चिटिक्क देखिएको छ । प्रत्येक घरधुरीमा दुई देखी तीनवटा खसी बाख्रा गाउँबाट खोजेर बस्तीमा ल्याईसकेका छन् ।

 वस्तीमा कुखुरा बाख्रा देखिदैन थिए तर दशै नजिकदै गर्दा वस्तीमा वगाल झै देखिने गरेको  सोसेक नेपाल राउटे परियोजनाका  कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए । दशैका लागि भनेर प्रत्येक घरधुरीले गाउँबाट कसै उधारो कसैले पैसा तिरेर खसी बाख्रा र कुखुरा खरिद गरी सकेका छन् । प्रत्येक पुरुष लागि छुटै कुखुरा पनि ।
 
वनमा शिकार गर्न गएका वेला चोटपटक नलागोस भनेर पुरुषको नाममा देउता पुज्न कुखुरा ल्याएको राउटे युवा प्रकाश शाहीले बताए । भत्ता पाएपछि सबै परिवारमा खुशी ल्याएको प्रकाशको भनाई छ । हामीलाई त त्यति अप्ठयारो थिएन । विधुवा महिलालाई गाह्रो थियो,भत्ता पाएपछि सजिलो भयो । अब यो पाली दशै खुशीका साथ मनाउने भयौं उनले थपे । 
 

प्रतिक्रिया