राराफुटी राग्म डोल्ने, ज्योतिष गीतानन्दको भविष्यवाणी

राराफुटी राग्म डोल्ने, ज्योतिष गीतानन्दको भविष्यवाणी चक्र बहादुर शाही ठाँटीकाँध गाउँपालीका –५ डिल्ली आग्र, दैलेख हाल ठाकुरबाबा न.पा. – १ भुरीगाउँ, बर्दिया

यो एका समयको व्यथा हो अहिले कथा भयो । दैलेख आठविसको तिलेपाटामा राजा तीलषीबम्म संगै दुल्लु बाट आएका गर्ग गोत्रीय आचार्य ब्राम्हणहरुलाई लामीछानीको पाखा जग्गामा बसाईएको थियो । कर्णाली किनारको राक्मको फराकिलो जिउलो उनीहरुलाई भात खाने खेत बिर्ता दिईएको थियो । गीतानन्द, कालीकानन्द, प्रयागानन्द र कनिकानन्द यी चार भाई आचार्यहरुमा गीतानन्द निकै सिद्धहस्त ज्योतीष थिए । उनले गरेको भविष्यवाणी सबै पुरा हुन्थ्यो । उनको कृति आठबिसमा मात्र नभएर धेरै परपर सम्म फैलिएको थियो ।
एक बर्ष गीतानन्दले राराफुटी राक्म डोल्ने (रारा ताल फुटेर राकम को जिउलो बगाउने) भविष्यवाणी गरे । अहिले सम्म नसुनिएको कुरा कसैले विश्वास गरेनन । रारा के हो र कहाँ छ त्यो पनि धेरैलाई थाहा थिएन । बर्षभरिको  भात खाने खेत नरोपी कोही बस्न सकेनन । सबैले आ–आफ्ना खेत रोपाई गरे । तर गीता नन्दले यो वर्ष आफ्नो जिउलोमा धान रोपाँई नगरी बाँझै राखे ।  राक्मको जिउलोमा त्यो बर्षको धान पनि निकै राम्रो सप्रिएको थियो । आ–आफ्ना खेतमा सबैका नार्या (गोठ) थिए । खेत रोप्ने, काटने र माड्ने बेला सबै यही नार्यामा बस्ने गर्दथे ।
 कार्तिक १६ गते नयाँ धानको नउखाने (नयाँ बालीको नुवागी ) दिन थियो । सोही दिन गीतानन्दले रारा फुटने भविष्यवाणी गरेका थिए । कार्तिक पुर्णिमाको दिन थियो । टहटह जुन लागेका उजेली रात थिए । कार्तिक महिनाको सफा र खुल्ला आकाशमा ताराहरु चमचमाईरहेका थिए । जुनको प्रकाशमा राकमको जिउलोमा पहेलपुर भई लहलह झुलेका धानका बाला बयाली खेल्दै थिए । 
          गाउँघरमा ज्योतिष गीतानन्दको भविष्यवाणीको सन्त्रास त फैलिएकै थियो । त्यसैले त्यो दिन सबैका घरमा साँझको खाना छिटै पाकेको थियो । राकमको जिउलाका नार्याहरुमा बसेकाहरु आ–आप्mना बस्तुभाउहरु सहित माथी गाउँका घरहरुमा सरी सकेका थिए । ज्योतिष गीतानन्दका घरमा पनि साँझको भान्सा अरु दिनको भन्दा छिटै उम्कियो । भोजन पश्चात ज्योतिष धुलौटो लिएर घरको ओटालामा (पिढी) बसे । उनका नजिकमा समय बोध गराउने पानी घडी राखियो । बुहारीले फारसी हुक्कामा तमाखु तयार गरी ससुरा गीतानन्दका अगाडी राखी दिईन । नलीको सहायताले हुक्का गड्गडाउदै, उनी धुलौटोमा रेखी हाल्दै थिए । हुक्का तान्दा उनको मुखबाट निस्केका धुँवाका गोला गोला गुडुल्काहरु घरको दलिनतिर उडदै माथि माथि आकाश तिर बिलिन हुँदै थिए । उनको घरको ओटाला र आँगनभरी मानिसहरुको भिड लागि सकेको थियो । जुनेली रातको सफा र खुल्ला आकाशमा ताराको चमचमाहट संगै धेरै पर–पर सम्मकोे दृश्य देखिदै  थियो । यति सफा र कञ्चन आकाश भएको दिनमा रारा फुटेर राग्म डोल्दैन होला भन्ने सबैको मनमा थियो ।
    तर यो भविष्यवाणी ज्योतिष गीतानन्दको थियो । उनले अहिले सम्म गरेका भविष्यवाणी मिलेका थिए । त्यसैले सबैलाई उनले भनेको कुरामा बिश्वास पनि थियो । उनकी बुहारीले धेरै पटक चिलिम तयार पारी दिईन । हुक्काको पारो सेलाउनै पाएन । घडीमा धेरै पटक पानी थपि सकियो । ज्योतिषले एक हातले धुलौटोमा रेखा कोर्दै अर्को हातले नली समाउदै हुक्का गुडगुडाउदै रहे । कसैको आँखामा निद थिएन । सबैजना  विश्मय र कौतुहलताको भुमरीमा अल्झिएका थिए । सबैजना एकापसमा साउती(इसरा गर्दै,विस्तारै बोल्नु)को भाषामा सम्वाद गर्दै थिए ।
     धेरै जनाले धेरै पटक निलो र उज्यालो आकाश टटोली सकेका थिए । चाँदनीको उज्यालोमा निला निला देखिएका सुदुर उत्तरतिरका गिरीका उच्च शिखरहरु (उच्च पहाडहरु) गजधुम्म बसेकै थिए । तिनका शिरमा मेघधारा बर्षाउने घनघटाका (बादलका)  कतै सिर्का (धर्सा) समेत थिएनन । यिनै गिरीराजका उत्तरमा धेरै पर राराको विशाल जलराशी बिराजमान थियो । यही बाट निसृत हुने जलधारा उच्च पहाड छिचोल्दै किनारका बेशी र फाँट डुल्दै कर्रनाली (कर्णाली) को पहिचान लिएर राक्म (हाल दैलेख जिल्लाको आठविस न.पा. को मुकाम रहेको राकम फाँट,नयाँ शहर ) हुँदै दख्खिनतीर (दक्षिण) बगीरहेको थियो । हो यही कर्णाली नदीले आज बितण्डा मच्चाउने भविष्यवाणी थियो ज्योतिष गीतानन्दको । ज्योतिषको ओटालो र खलाभरी मानिसहरु  एकापसमा कानेखुसी गरिरहेका थिए । यी सबैको केही प्रवाह  थिएन ज्योतिष  गितानन्दलाई । उनी आफ्नै सुरमा थिए । उनी धेरै पटक घोरिए । उनले धुलौटोमा धेरै रेखा कोरे, धेरै रेखा फेरे तर कसैलाई केही भनेनन् । उनका अनुहारका भाव र भंगीमा छिनछिनमा तरंग आईरहन्थ्यो । मुहारका मुजाहरुमा आउने उनका बिचारका छालहरु उनकै कानका लोतीसम्म फैलिने र खुम्चिरहने गरिरहन्थे । तर पनि उनी निर्मग्न थिए । निर्मिमेष र स्थिर थिए । 
          एकाएक उनी चलमलाए । उनले घडीका रेखा गने । बाह्र घडी रात बिते छ । बुहारी लाई नजिकै बोलाए । यी बुहारी यिनकी निकै प्रिय थिईन । उनले बुहारी लाई अह्राए जाउ बाहिर गएर उत्तर पुर्वि दिशा नियालेर हेर । बुहारी बाहिर गईन । उत्तरपुर्व तर्फ नियालेर हेरिन । आकाश खुल्ला थियो । ताराहरु चमचमाईरहेका थिए । निला गिरिराजहरु गजधुम्म बसेकै थिए । तल राक्मको जिउलोमा लहलह झुलेका पँहेलपुर धानका बाला बयाली खेल्दै थिए । कर्रनाली आफ्नै लयमा सुसाउदै थियो ।  बुहारी बिस्तारै नगिचमा (नजिक)मा आईन । सुमधुर वाणीमा उनले आफुले देखेको बताईन । सबैकुरा साविक जस्तै छ । तत्काल कुनै बितन्डा र उल्का हुने छेकछन्द छैन भनि उनले ससुरालाई यथास्थितिको निष्कर्ष सुनाईन । 
            ज्योतिषले बुहारीलाई फेरी भने धीरधैर्य बन्नु पर्दछ । कालका निमेष गन्नु पर्दछ । तिमी फेरी जाँउ धीर भई नियालेर हेर । अब बेला भयो । बुहारी फेरी आँगनमा आईन । बंग्दाल्नाको (जुठेल्नो ÷भाँडा माझ्ने ठाँउ) अलि अग्लो, ठुलो र चौडा सिलामा चढिन । डौठो (अनुहार नछापिने गरि गरी घुम्टो हाली पछाडी बाट शिर देखी जीउ सम्म ढाक्ने कपडा) ले छोपिएको  शिरको अगाडी आँखा माथी हत्केला तेर्साउँदै उत्तरपुर्वी आकाश नियालिन । अहो ! क्षितिजबाट बादलका निख्खर सेता र चम्किला एक जोडी धर्सा बडो वेगका साथ माथि माथी उक्लिदै थिए । तीनको वेग गजबको थियो । चाल र लय अजवको थियो । 
  उनी हतारिदै घरभित्र पसिन । अत्तालिदै बोलिन । उत्तर पुर्वबाट दुई धर्सा बादल माथिमाथी आकाशतिर बढ्दैछन । हो,अव केही हुदै छ । यस पछि ज्योतिषले  सबैलाई हेर्दै स्पष्ट भने । अव बितण्डाको बेला भयो । ती सेता दुई धर्सा बादल छिटै घनघटामा बदलिने छन । आकाश चर्किने छ । मेघ गर्जिने छ ।  हेर्दा हेर्दै तारा चमचमाई रहेको कार्तिक पुर्णिमाको उज्यालो आकाशमा कालो बादल मडारियो । धर्ती काँप्ने गरि बिजुली चम्कियो । एका,एक हावाहुरीको बितण्डा मच्चियो । घनघोर बर्षात शुरु भयो । मिठो संगित सुसेल्ने कर्रनालीमा गडगडाहट सुनियो । शान्त र शालिन पवनका लहरहरुमा बान्की मिलाउदै बयालीने राक्म जिउलाका धानका बालाहरुमा सुसाहटको कोलाहल मच्चियो । 
 चमकन्न रातमा सुस्ताईरहेका पशुचौपायाहरु एकाएका छटपटाउन थाले । कुकुरहरु कुर्लिन थाले । गाईबाच्छाहरु हम्माउन थाले । कर्रनालीको बेग बढ्यो । आवेग थपियो । रारा भरिएछ त्यो फुट्यो । फुटे पछिको भल राग्ममा बिहानको तीन घडी रात बाँकी हुँदा पुगेको थियो ।  रारा फुटेपछि आएको बाढीले राकमको जिउलो पुरै बगाई बालुवाको बगरमा परिणत ग¥यो । राकमको फाँट पहिले त्यति फैलिएको थिएन । त्यही दिनको बाढीले कर्णाली वारीपारिको  पहाड काटेर त्यो फाँट फराकिलो भएको हो, भन्ने भनाई छ । राकमको सानो फाँटमा राराको बिशाल जलराशी नअटाएर त्यो बाढी लामिछानी र बेरुपाटाका गाउँहरु सम्म पुगेको थियो । त्यो उन्माद बाढी लामिछानी र बेणुपाटा सम्म पुगेकाले नै अहिले सम्म पनि ती गाउँका गह्राकान्लाहरुमा घटछालमा पाईने लोणा ढुंगाहरु (नदी किनारमा पाईने गोला बाटुला ढुंगा) पाईन्छन ।

 (लेखक शाही कर्णालीको लोकजीवन, परम्परा, संस्कृति र व्यबहारको खोज तथा अध्यय्नमा रुची राख्दछन )

प्रतिक्रिया