निर्जन जँगलाघाटको बाटो
यात्रा अनुभूति
सवेरै उठे,तल झरे । जयनेपाल गेष्ट हाउसको शौचालय मूल बाटो बाट अलि तलै थियो । मैले बिहानीका नित्य कर्म सके । चिया तयार थियो । साहुजीले हिजो साँझ नै यो ठाउँमा पढाउने मेरो मावलका मेरै जिउडाल र कदकाठी संग ठ्याक्कै मिल्ने एक जना सर छन् भनेका थिए । मैले चिया पिउदै गर्दा ति सर बाटोमा देखिए । साहँुजी फरासिला थिए । उनले ती सर लाई बोलाए । परिचय आदान प्रदान गर्दा थाहा भयो ती सर त मेरो मावली तिरका भाई रहेछन । हामीले पारस्पारिक खुशी साटासाट ग¥यौं ।
ती साहुजी र भाई संग बिदा भएर म बाटो लागे । हल्का सिरेटो चलेको थियो । तुर्माकाँध बजार मै बिहानीको सुनौलो किरण झुल्कियो । बजार मै मस्टा देवताको थान रहेछ । थान लाई एक फन्को लगाए । थान पुरानो हुनु पर्दछ । सिमेन्ट र जस्ता पाताले भर्खरै पुनर्निर्माण गरे जस्तो थियो । यसको निर्माणमा मस्टाको थानमा देखिने वास्तुशैली थिएन न त त्यहाँ कुनै प्राचीन कुराको संरक्षण गरिएको थियो । जे होस् बजार भित्रै देउताको थान थियो । म अगाडी बढे । हिजो आफ्नो होटलमा बास बस्न कर गर्ने साहुजी बाटैमा उभिएका थिए । म उनको होटलमा नबसेको गुनासो विहानीपख पनि दोहो¥याए । अर्को पटक बस्ने वचन दिएर बजारबाट ओरालो लागे । निकै आत्मियताका साथ् साहुजीले म तेस्रो बाटो लागि सक्दा पनि विदाईका हात हल्लाई रहेका थिए ।
अगाडीको कुइनेटोमा दोबाटो आयो । म एकछिन अलमलिए । बाटो भन्दा अलिपर सेतो कपडा को कछाड (धोती) र बाकटे माथी ईस्टकोट लगाएका मानिस देखिए । कम्मरमा अझंगको आँसी कठिया (खुर्पेटो) झुण्डिएको थियो । नबोली हातकै ईसाराले नजिक बोलाए । नजिकैको गाउँका बुढाजी रहेछन । पशुहरुका लागी डाले घाँस काटन बिहानै निस्केका । उभिएरै कुरा ग¥यौं । बुढाजी ले म हिडने बाटोका साथै तुर्माकाँध बाट जय, जैसुर हुदै जंगलाघाट सम्म काटिएको मोटर बाटोको ट्रयाक समेत देखाई दिए । यो ट्रयाक पैदल बाटो भन्दा पश्चिमतिरका गाउँहरु भएर गएको थियो ।
मैले चारैतिर नियालेर हेरे । पश्चिम उत्तरतिर थार, मया, जया, जैसुर र अझ पर ढाङ्ग्टा गाउँका पातला बस्तीहरुका संकेतहरु देखा पर्दै थिए । त्यहि पहाडी श्रृङखलाको फेदीमा यो ठाउँको एउटा चिहान घाट कोल्लिमोरा र सानो जिउलो बाक्लो सेतो कुहिरोको पछ्यौरीमा लुटपुटिएको थियो । यो जिउलो , कोल्लीमोरा (मसानघाट) र माथि पाखा पखेराको वस्ती अनि यी सबै संग जोडिएको यो क्षेत्रको निकै नामी र प्रसिद्ध बार्णो देवता र यो देवताका धामीका तिलस्मी कहावतहरुका बारेमा पनि धेरै कुरा मानसपटलमा आईरहे । कर्णाली नदि वारिपारीका अझंगका पहाडहरुको पुर्व पश्चिम फैलिएको शिवालिक पर्वत श्रृङखला लाई निकै बेर टोलाएर हेरिरहे । यी उच्च पहाडहरुका खोंच र पखेरा अनि वेसीमा जीवन निर्वाह गरिरहेका दाजुभाईहरुका कठिनाईहरुमा घोत्लिए । तल कर्णाली नदि डम्म कुहिरोले ढाँकिएको थियो । नागबेली नदीको निकै माथिल्लो उचाई सम्म नागबेली आकारमै ढाकिएको कुहिरोको आकृति निकै आकर्षण थियो । भिरालो जमिनका बान्की परेका कान्लाहरुका झारपातहरुमा टिल्पिलाउदै गरेका शीतका थोपाहरु विहानीको झुल्के घामको सुनौलो किरणले मोतीका दाना जस्तै चम्किदै थिए । कर्णाली नदी नदेखिए पनि तेज जलाधाराको सुस्साहट कानमै ठोक्किन आईपुगेको थियो ।
चारैतिर नियाल्दै उभिएरै निकै बेर धेरै कुराहरु मनमा खेलाईरहे । आज दिनभरि हिड्नु पर्ने बाटो कुहिरोमा ढाकिएको थियो । बाँसखोला माथि साल्मको काँध मधुरो मधुरो देखिदै थियो । आज तय गर्नु पर्ने यात्रा निकै दुस्कर थियो । म अगाडी बढे । गोद्याको गाँउ देखियो । एकजना किशोर भाई संग जम्काभेट भया े। उनी देवताका धामी थिए । उनका हातका नाँडीभरी चादीका चेप्टा बाला थिए । हातमा ईट्टा जत्रो चौडा स्मार्ट मोबाईल बोकेका उनले टाउकोमा सेतो पगरी गुथेका थिए । । त्यो पगणीको माथिल्लो घेरा पहेलो पिताम्बरको थियो ।उनीसँग एकछिन गफिए । के गर्नु सर देवताले मलाई नै रोज्यो तैपनि म पढछु । साथीहरु सबैले । मोबाईल चलाउँछन त्यसैले मैले पनि बुवासँग किनिमागे । उनले आफ्नो मोबाईल मोह बारे प्रष्ट पारे ।
अगाडी बढे । अब यहाँ देखि जंगलाघाट सम्म पुरै ओरालो हिडनु पर्ने थियो । बाटोको दुबै छेउका कान्लाहरुमा हरियो जौका बोटहरु निकै राम्रा थिए । जौ गराका बिचबिचमा सरसियौंका पÞmुल्न आँटेका बोटहरुले त्यो पाखाबारीमा अझै सुन्दरता थपेका थिए । पिठ्युमा झोला बोकेर उभों आउदै गरेका दुई किशोरहरु संग जम्काभेट भयो । बाटो छेउमा घर भएकी आमाले उनीहरुलाई कहाँ जान लागेको भनि सोधिन । उनीहरुले जैसुर गाँउमा रहेकी आफ्नी दिदीलाई माघ्त्यार (माघे संक्रान्ति ) को हरियो पात (माघे संक्रान्ति मा पकाएको सेल, पुरी,तरुल लगायत का खानेकुरा को भाग ) दिन जान लागेको भने । ति आमाले आफ्नो छोरीको घर पनि तिमीहरु को दिदिको घर नजिकै छ उसको लागी पनि यो पोको लैजाउ भनेर भनिन । एउटाले सक्दैनौ भन्दा पनि अर्कोले हुन्छ भन्यो । ति आमाले घर भित्र पसेर एउटा पोको ल्याएर उनीहरुको हातमा थमाउदै निकै मायाको आवाजमा छोरीलाई नै दिनु है बा । फर्किदा भेटेर आउन अनुरोध गरिन ।
तल्लो कान्लाबाट म यो सबै हेरिरहेको थिए । मलाई खुशी लाग्यो यतातिर पनि माघेसंक्रातिमा छोरीबहिनीहरुलाई सम्झने चलन रहेछ । दैलेखको मेरो थातथलोमा माघको महिना चेलीलाई पठाईने कोशेली लाई ’माघ्त्यारको पोको’ भन्ने गरिन्थ्यो । यतातिर त्यसलाई ’हरियो पात’ दिने भनिने रहेछ । हो यसरि दिईने कोशेली यता जस्तै हाम्रोतिर पनि हरियो पातमा राखेर दिने चलनमा चाहि समानता रहेछ । छोरी बहिनीलाई कोसेली पठाउने माघ महिनाभरि चलिरहन्छ ।
अछामको यो क्षेत्रका आमी, लकान्द्र,थालपाटा, चिस्सी,थार्म,मोय ,जुय , जैसुर,अम्गाऊ, जम्पानी, ढाङ्टा लगायतका गाउँहरुमा बुढा क्षेत्रीहरुको बाहुल्यता छ । महिलाहरुको पोशाकमा भिन्नता नभए पनि ४० को दशक सम्म पनि यहाका पुरुषहरुले सेतो कपडाको कछाड बाध्ने गर्दथे । जिउमा लगाउने लुगामा बाहिरबाट लगभग सबैले ईस्टकोट लगाएका हुन्थे । अरु जातजातीका मानिसहरुले बुढा क्षेत्रीका पुरुषहरुलाई मख्खिया भनेर सम्बोधन गर्ने चलन पनि थियो। अहिले यो साँस्कृतिक परिधान र सम्मानमा गरिने सम्बोधन समेत हराईसकेको छ ।
गाउँको पुछार बाट सालघारी सुरु भयो । कंकड़ युक्त माटोमा सालका धेरै पुराना रुखहरु पनि पोथ्रापोथ्री जस्तै देखिन्थे । जे होस् जंगल घना नै थियो । केहि बेरको जंगल भित्रको बाटो हिडे पछि अबको बाटो बाँझा गराहरुको छेउबाट थियो । यी गराहरुमा तितेपाती हलक्क बढेको थियो । बाटो जता भए पनि ओरालो नै थियो । यो बाटो छेउ र वरपरका पाखा भित्ताहरुमा आकारमा गोला र गाढा कलेजी रंगका ढुंगाहरु छरपस्ट थिए । यी ढुंगाहरुको रंग र आकृतिले मलाई आकर्षित गरे । मैले नियालेर यी ढुंगाहरु लाई हेरे । एउटा सानो ढुंगाले यी ढुंगाहरु लाई टक टक हाने टं टं को मेटालिक आवाज आयो । हो यी ढुंगाहरुमा फलामको धाऊ मिसिएको छ । हुनसक्छ यी पहाडहरुमा फलामको ठुलै खानी सुसुप्त अवस्थामा छ । यो गुप्त स्रोतमा राज्यको नजर कहिले पुग्ला ।
अब बाटो खोलई खोला थियो । कतिपय ठाउँमा बाटोको निशान पनि थिएन । अनुमानका भरमा हिड्नु पर्दथ्यो । खोला वारिपारी एक दुई वटा घर थिए । रोपाइँ सकेर मानिसहरु माथि गाँउ सरिसकेको हुनु पर्छ कोहि देखिदैन थिए । अब बाटो खोलाको दाहिने तर्फ मोडियो । खोला बाट माथि उक्लेर साँघुरो कुलाको डिलडिलमा सम्हालिएर हिड्नु पर्ने भयो। एउटा गोठ देखियो । छाना माथिबाट आगोको धुँवा देखियो । कुकुर पनि भुक्यो । सचेत भएर हिड्दै थिए । गोठको आँगनमा बाख्राका पाठाहरु बुर्कुसी मार्दै थिए । गोठ बाहिर पाणी सहित लैनो भैसी बाँधिएको थियो । भैसीको खुट्टा घुंडा सम्म हिलोमा धसिएका थिए । हिलो नहोस भनेर हालेको सोत्तर हिलोको आहालमा डुबिसकेको थियो । त्यो हिलोमा डुबेका तितेपातिका छेउटुप्पा र केहि पातहरु भने हिलो बाट माथि चियाउदै थिए । भैसीले कुल्चे पछि हिलोमा माडिएको तितेपाती र त्यो भैसीको आलो भकारो बाट निस्केर एकसाथ मिसिएको प्राकृतिक सुगन्धले मेरो नाक सक्रिय भयो ।
मलाई देखेर एकोहोर कुकुर भुकेपछी भित्रबाट एउटा केटो निस्कियो । मैले पानी मागे । उसले दिएको एक अम्खोरा पानि ठाडै रित्याएपछि मैले अब जंगलाघाट कती टाढा छ भनि सोधे । उसले थोरै तेस्रो गए पछि अलिकती ओरालो झरे पछि मूल बाटोमा पुगिन्छ,धेरै टाढा छैन भन्यो । बाटो कुलाको डिलमै थियो । देब्रेतिर खेत र अलि तल ठुलो खोलो थियो भने बाहिनेतिरको भिरालो पाखोमा सालका पोथ्रापोथिहरुको घना जंगल थियो । तल लमतन्न निलो कर्णाली निकै शान्त सुरमा बगिरहेको थियो । म मूल बाटोमा ओर्ले । यहाँ मोटर बाटोको ट्रयाक देखियो । यो बाटो तुर्माखाद बाट थार्मा, जुय, जैसुर हुदै यहाँ सम्म मेशिन प्रयोग गरेर खनिएको थियो । हिउदमा एकाध पटक ट्र्याक्टर समेत हिडेको रहेछ । बर्षात लागेपछि धेरै ठाउँमा यो बाटोको नामो निशान समेत नाराहर बगेछ । जे होस् बाटोको सुरुवात गरिएको छ । केहि बर्ष पछि मोटर बाटो अवश्य बन्ने छ । देब्रेतिर ठुलो खोलाको बगर सहितको खोला कर्णाली नदीमा मिसिएको थियो । खोला को परपर ठुलो बगर चिसो बालुवाले ढाकिएको थियो ।
कर्णाली नदि किनारको सानो चौरमा उभिएर चारैतिर हेर्दै थिए । आगाडी कर्णाली नदि माथि जंगलघाट को झोलुङ्गे पुल ठिङ्ग उभिएको थियो । म उभिएको ठाउँ नजिक दुई जना किशोरहरु देखा परे । उनीहरु पछि एक एक गर्दै धेरै भैसिहरु आउदै थिए । ति दुई किशोरहरूले ति भैसिहरुलाई अगाडी जान नदिएर रोके । हेर्दा हेर्दै त्यो सानो बगर भैसीले भरियो । निकै थकित र भोकाएका ति भैसिहरु त्यो चौरमा रहेका असारे बुट्यानका पातहरु मन नलगाई नलगाई लुछ्न थाले । कसैका सिङ्ग अगाडीका खुट्टा सम्म लत्रेका । कसैका सिङ्ग दुई वटा तरवार सिधा एकापसमा बिपरित दिशातिर पÞmैलिएजस्तै त् कसैका घुम्रिएका पनि थिए। धेरै जस्तो भैसिहरु बुडाखाडा, रोगी र जिर्ण थिए । यी मध्ये धेरै जस्तो सायद थारा र दुध दिन छोडी सकेका भैसी थिए ।
त्यो सानो चौरमा भैसीको ठुलो बथान जम्मा भयो । पछाडी बाट चार जना अरु मानिसहरु समेत थपिए । कर्णाली नदि माथिको झोलुङ्गे पुल पारीबाट अरु दुई जना पनि आएर त्यहि मिसिए । अब ति भैसिहरु लाई पुल पारी तराउन थालियो । ति भैसिहरु पुलमा चढन मानिरहेका थिएनन । त्यतिकैमा एक जना पुल माथि गयो । दुई जनाले एउटा भैसीलाई घिसारेर पुल नजिक पु¥याए । पुलमा भएको मानिसले एउटा कपडाले त्यो भैसीको दुवै आखा छोप्दै दुवै सिङमा डोरी अल्झाएर त्यो डोरी भैसीको चिउडो हुदै सिधै अगाडी तान्यो र पछाडीका मानिसहरुले त्यो भैसीलाई धकेल्दै लट्ठीले जोर जोरले हाने । आँखा छोपिएको, अगाडी बाट तानिएको अनि पछाडी बाट हानिएको त्यो भैसी अब पुलमा हिड्यो । तान्ने र हान्ने मानिसले त्यसलाई आधा पुल सम्म पु¥याएर आँखा छोपेको कपडा खोलिदिए । पुलको बिचमा अघि नै एउटा मानिस तैनाथ थियो उसले त्यसलाई पुल पारी सम्म पठायो र पुलपारी त्यहा हेर्ने अरु मानिस पनि तयारी अवस्थामा बसेका हँुदा रहेछन । यसै गरि उनीहरुले एक ÷एक गरेर भैसीलाई पुल पार गराए । । पुलमाथि धेरै भैसी हिडन थालेपछि केहि भैसिहरु आफै पनि पुलमा चढेर हिडन थाले ।
यो दृश्य हेर्दै गर्दा धेरै कुरा थाहा भयो । ति भैसी कालिकोटको कोटबाडाबाट र केहि अछामको मंगलसेन आसपास बाट ल्याएका रहेछन् । भैसी छेक्न बसेका किशोरहरूले मलाई धेरै जानकारी दिए । उनीहरु मध्ये एउटा अछाम मंगलसेनको र अर्को कालिकोट कोटबाडाको रहेछ । उनीहरु लाई खाना र खाजा दिएर दैनिक सात सय ज्याला मिल्ने रहेछ । यहीबाट खान खाएर अनि ज्याला बुझेर आफ्नो घर फिर्ता हुने रहेछन । अघि पुल पारी बाट आएका मानिस नै उनिहरुलाई बदली गर्न चिसापानी बाट आएका रहेछन । यसैगरी बाटो बाटोमा यिनीहरुको अदली बदली भईरहने रहेछ । भैसीको खास व्यापारी कहिले पछाडी नै र कहिले अगाडी गईसकेको हुने रहेछ । बाटोको सम्पूर्ण जिम्मेवारी एक जना लाई सुम्पिएको हुनेरहेछ । उसले नै गोठालाहरुको खानपान , अदली बदली , ज्याला र बाटोमा भैसी कहा बास बसाउने र कहा चराउने भन्ने कुराको निर्णय गर्ने रहेछ ।
डोटी, डडेल्धुरा, अछाम, कालिकोट, सुर्खेत र दैलेख बाट संकलन गरेर यी भैसी बिभिन्न बाटो प्रयोग गरेर कैलाली, बर्दिया र बाँकेका बिभिन्न पशु हाट बजारहरु मा पु¥याइदो रहेछ । ति पशुहाट बजारहरु बाट राजधानी काठमाडौ लगायत अन्य बजारहरुमा यी पहाडी भैसी पुग्ने रहेछन् । पुल तर्न आधा बगाल भैसिहरु बाँकी नै थिए । म पुलमा चढे । बिस्तारै पाईला अगाडी बढाए । यो पुलमा बि सं २०५१ मा पनि हिडेको थिए । पुलवारी सात आठ वटा पसल थिए । यिनमा आधा आधी चिया नास्ताका होटेल थिए । एउटा पसल जुत्ता, चप्पल र फेन्सी कपडाको थियो । अनि अर्को एउटा थोरै औषधी भएको पसल पनि थियो । बिहानको साढे नौ बजेको थियो । मैले बाटोको बाँया छेउको एउटा होटलमा खाना छ कि भनि सोधे । अर्डर गरे पछि पकाउने गरेको कुरा होटलको साहुनीले भनिन । खाना पाक्दै थियो । मैले त्यहि खाना पाईन्छ कि भनि सोधे त्यो खाना त भैसिवालाहरुका लागि रहेछ । उनले यो खाना पाकी सके पछि फेरि पकाउछु भनिन । मलाई समय लाग्छ जस्तो लाग्यो । जोडिएको अर्को पसलको बहिनी हेर्दै थिईन । सोधे, एकै छिनमा पकाई दिन्छु भनिन ।
म उनको होटलमा गए । पिढीमा काठको चौडा फल्याकको बेञ्च थियो । त्यसैमा झोलाको सिरानी राखेर पल्टिए ।
त्यो बेन्चमा पल्टिएर नदि पारीको अग्लो पहाडलाई निर्मिमेष हेरिरहे । सुकेर सुनौलो भएको खर र झर्न लाई तयार भएका धाईराका राता पातहरुले त्यो अझंगको पहाड लाई सुन्दर देखाएका थिए । समय ठुलो कुरा रहेछ । धेरै बर्ष भएकै छैन यो बाटो बिरान भएको । बाजुरा, जुम्ला , हुम्ला, मुगु , कालिकोट, अछाम , दैलेख र सुर्खेतका मानिसहरुले यो बाटो हाट र देश (मजदुरी गर्न भारत ) जान प्रयोग गर्दथे । हिमाली भेकको जडीबुटी, कस्तुरी , बाज, सिमि र पहाडी भागको घिउ, अलैची, मास, भट्ट लगायत दाल बालीहरु यो बाटो हाट आउँथ्यो । हाट बाट नुन,मसला, कपडा, भाँडाकुडा, गुणगोट्टा, मट्टितेल लगायत का बस्तुहरु उभो लाग्दथे । कर्णाली भेकका मानिसहरुले आफ्ना माल बस्तुहरु बोक्न भेडा, बाख्रा, चौरी र खच्चरको प्रयोग गर्दथे । यी पशुहरुका पिठ्युमा लुकालमा सामान राखेर बोकाउने गरिन्थ्यो । उनीहरुका आफ्ना मालबाहक पशुहरुका साथ मालसामान तथा पशुहरुको सुरक्षाका लागी आ आफ्नै भोटे कुकुर समेत हुन्थे ।
कर्णाली भेक बाहेक अरु जिल्लाका मानिसहरुले आफ्ना मालसामान बोक्न आफ्नो ढाण र डोको प्रयोग गर्दथे । डोको त कर्णाली भेकका मानिसहरुले पनि बोकेका हुन्थे तर ति डोकाहरुमा धेरै भारी हुदैनथ्यो । हो कर्णाली भेकका सबै मानिसहरु संग भेडा बाख्रा हुदैन थे । आफुसंग भेडा बाख्रा नहुनेहरु डोको लिएर हाट जाने आउने गर्दथे । कर्णाली नदिको शिर देखि तल्लो पहाड सम्मकाका मानिसहरु यहि बाटो भएर हाट र देश आउजाउ गर्दथे । बाटो यो नदि किनारै किनार कहिले वल्लो छाल त कहिले पल्लो छाल भएर गएको थियो । विभिन्न पहाडका लेक र खोचहरु अनि खोला र नदीका बगरहरु एबम घना जंगल पार गर्नु पर्दथ्यो । कर्णाली नदिको मैदानी भागमा रहेका राजापुर, गोलामण्डी, खक्रौला, कटासे, पाताभाणि , बणचौर र चिसापानी समय क्रम अनुसार हाट बजारहरुको उपस्थिति थियो । जति जति तराई र तल्लो भागमा बाटोघाटोको सुबिधा र बिकास हुदै गयो उतिउति हाटबजारहरु उभो लाग्दै गए ।
पुलहरु थिएनन । नदीहरु डुंगामा तर्नु पर्दथ्यो । भारी सामान सहितका गरुंगा डोका र मानिसहरु एकसाथ राखेर डुंगाहरु उर्लिदो नदीमा हेलिन्थे । भेडा बाख्रा तराउन दुई वटा डुङ्गा लाई एकापसमा जोडिएको हुन्थ्यो । यसलाई पटेला भनिन्थ्यो । पटेलामा एकसाथ धेरै भेडा बाख्राहरु तराउन सकिन्थ्यो । यसरि घाट तराउने पनि सरकारी ठेक्का हुन्थ्यो । ठेकेदारहरुले घाट तराएको शुल्क असुल्थे । हटेरु चल्ने हिउदको याममा घाटहरुमा तर्ने पालो पर्खिनु पर्दथ्यो । आफ्नो फौजको तर्ने रोल लेखाउन एकजना अगाडी आएर हामी यति जना यो दिनको यो समयमा पुग्दै छौ भनी रोल लेखाउनु पर्दथ्यो । कहिले काही तर्ने धेरै ठाउँका मानिसहरु एकसाथ जम्मा हुदा घाटहरुमा जाम लाग्दथ्यो । त्यस्तो अवस्थामा दुई तिन दिन सम्म पनि एउटै घाटमा बस्नु पर्ने हुन्थ्यो ।
यो भेकका अघिल्ला पिढिहरुले धेरै दुख गरेका छन । यो बाटोमा धेरै पटक पैताला खियाएका छन । कष्टका निकै लामा सुस्केरा सुसेल्दै धेरै माना पसिना बगाएका छन् । ठेला उठेका नाङ्गा पैताला , पिडौलामा बटारिएका नशा, खुईलिएका तालुमा बसेको नाम्लोको गहिरो डोब र टाउकोमा बचेखुचेका फुरफुर उडने रौहरु सहितको मुजई मुजाले ढाकिएको मुखाकृति भएका धेरै कृशकाय मानिसहरुले सकी नसकी भारी बोक्दै गरेको दृश्य देखिन छोडेको अब धेरै बर्ष भईसकेछ ।
अब त् बाटो माथि माथि उभो कर्णाली सम्म पुगिसकेछ । अब त् हाटहरु पनि बजारहरु मा परिवर्तन भईसकेका छन् । जंगलाघाट वारीपारीका मानिसहरु समेत अँसारा घाट तरेर टुनिबगर , रामागण बाट कर्णाली राजमार्गमा चल्ने सवारीसाधनहरुमा तरईतिर आउने जाने गर्दछन । यहि कारणले यो बाटो बिरान भएछ । अब यो बाटोमा भैसी र खसीबोका ब्यापारीहरु हिडने रहेछन । वारिपारिका मानिसहरुले काम विशेषले र यहि भेकको अछाम सुर्खेत खण्डका मानिसहरुले घर व्यवहारको कामले समेत कहिले काही यो बाटो प्रयोग गर्ने रहेछन ।
पल्टिएरै धेरै कुरा सम्झे । यहि ठाउँमा धेरै चोटी बास बसेको थिए । २०४८ सालमा हो सायद बर्दिया बाट दैलेखको घर जादै गर्दा साँझ छिटै यो ठाउँमा बास बसेको थिए । बिहान सबेरै उठेर बाटो लागेको थिए । कर्णाली पारीको लामो बगरमा हिडदा कति खेर कर्णालीको छेउमै पुगेर पानि छोएको कतिखेर टर्च को प्रकाश कर्णालीको जलाधारामा परि परावर्तन भएर नदि पारिको जंगलमा पुगेको त्यो यात्राको सम्झना भयो ।
(लेखक शाही कर्णालीको लोकजीवन, परम्परा, संस्कृति र व्यबहारको खोज तथा अध्यनमा रुची राख्दछन )
प्रतिक्रिया