पोखरामा सुरक्षाकर्मी तैनाथी बढाईयो

पोखरामा सुरक्षाकर्मी तैनाथी बढाईयो


पोखरा -  रास्वपा सभापति रवि लामिछानेलाई आज(आईतवार) कास्की जिल्ला अदालत उपस्थित गराउनु अघि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुँदा सुरक्षा चुनौती बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीको तैनाथी बढाइएको हो ।

राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरिएको भन्दै रास्वपाले आफ्ना नेता–कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन भनेको छ भने निश्पक्ष छानबिन गरेर न्याय दिन दबाब दिन भन्दै सहकारी पीडितहरुले पनि राष्ट्रबैंक चोकमा उपस्थितिका लागि आह्वान गरेका छन् ।
यसअघि राष्ट्र बैंक चोकमा सहकारी पीडित र शहीद चोकमा रास्वपा नेताकार्यकर्ता भेला भएर प्रदर्शन गर्ने गरेका थिए । आज यी दुवै चोकमा सुरक्षाकर्मीहरु तैनाथ छन् ।

यी दुई चोक बीचको दुरी करिब एक सय मिटर मात्रै छ । दुबै पक्षलाई आमने–सामने हुनबाट रोक्ने प्रयासमा प्रहरीहरु खटाइएको छ ।

सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । साभार : अनलाईन खबर 
 

प्रतिक्रिया