रवि,छवि र लिलालाई ७ दिनको म्याद थप

रवि,छवि र लिलालाई ७ दिनको म्याद थप

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई ७ दिन म्याद थप भएको छ । गोरखा मिडियाका उनका साझेदार अर्का छविलाल जोशीलाई  ७ दिन नै म्याद थप भएको छ भने सोही प्रकरणमा पक्राउ परेकी लीला पछाईलाई पनि ७ दिनको म्याद थप गरिएको छ  । 
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरुलाई उक्त मुद्दा अनुसन्धानका लागि थप ७ दिन म्याद थपेको प्रहरीलाई अनुमति दिएको हो । 
रास्वपा सभापतिसमेत रहेका लामिछाने गत शुक्रबार पक्राउ परेका थिए । उनलाई गत आइतबार ६ दिन म्याद थप भएको थियो । पूर्व डिआईजी समेत रहेका जोशीलाई गत ६ असोजका पक्राउ गरिएकोमा एक महिनायता अनुसन्धान भइरहेको छ । उनको रुपन्देही सरकारी वकिल कार्यालयले पनि बयान लिइसकेको छ । 
बिहीबारको बहसमा सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेसहित सहायक जिल्ला न्यायाधिवक्ताद्धय  शान्तिदेवी शर्मा र विपीनराज तिवारी, अधिवक्ता बिबी विष्ट र युवराज पराजुलीले बहस गरेका थिए । 
सरकारी वकिलले थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए । अनुसन्धानमा विभिन्न सरकारी कार्यालय तथा बैंकहरुबाट कागजात माग गरिएकोमा तत्काल प्राप्त नभइसकेको र बयान प्रारम्भ भएकाले थुनामै राख्नुपर्ने माग गरेका थिए ।
उता, रवि लामिछानेको तर्फबाट गत आइतबार झैं वरिष्ठ अधिवक्ताद्वय नारायण घिमिरे र हरिप्रसाद सुवेदी, अधिवक्ता नारायण कँडेल, सोविता गौतम, मधुकुमार चौलागाईं र पदमराज शर्माले बहस गरेका थिए ।  छविलाल जोशीका तर्फबाट अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।

लामिछानेलाई थप हिरासतमा राखिने भएपछि रास्वपा कार्यकर्ताले पोखराको राष्ट्र बैंक चोक क्षेत्रमा चर्को नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लखेटेको थियो ।

प्रतिक्रिया