यु–१९ छनोट: फाइनलमा रुकुम पश्चिम

यु–१९ छनोट: फाइनलमा  रुकुम पश्चिम

रुकुमपश्चिम - रुकुम पश्चिम कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा जारी वाई वाई १९ वर्ष मुनिको छनोटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो फाइनलमा सल्यानलाई पराजित गर्दै रुकुमले फाइनल यात्रा तय गरेको हो । रुकुम ७८ रनले विजयी भयो ।

टस जितेर पहिलो ब्याटिङमा उत्रिएको रुकुम पश्चिमले निर्धारित २५ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । रुकुम पश्चिमका लागि कप्तान अरविन्द घर्तीले अर्ध शतक पुरा गरे । उनले ५३ बलमा ६८ रन बनाउँदै कप्तानी इनिङ खेले । उनले ९ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै नवीन खत्रीले ३२, नवीन विकले १८, युनिस विक्रम सिंहले १७ र अनुज चनाराले १० रन बनाए । सल्यानका लागि कुशल डाँगीले २, विक्रम रोका, रोहित हमाल र अनिरुद्ध कुँवरले समान १/१ विकेट लिए । १ सय ९२ रनको लक्ष सहित जवाफी ब्याटिङमा उत्रिएको सल्यान १९।४ ओभरमा १ सय १३ रनमा समेटियो । 

सल्यानलाई सस्तैमा समेट्न रुकुम पश्चिमका युनिसविक्रम सिंहले धारिलो बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै मात्र ५ रन दिएर ४ विकेट लिए । उनले २ ओभर मेडन फाले ।

त्यस्तै भुवन भण्डारीले ३.४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । अनुज चनारा, अरविन्द घर्ती र टिकम भण्डारीले १/१ विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच रुकुम पश्चिमका युनिसविक्रम सिंह बने । रुकुम पश्चिमले फाइनलमा अहिले चलिरहेको दोस्रो सेमिफाइनलमा सुर्खेत र दैलेखको विजेतासँग खेल्ने छ । फाइनल खेल भोली हुने छ । कर्णाली प्रदेश क्रिकेट सङ्घले वाई वाई १९ वर्ष मुनिको राष्ट्रिय प्रतियोगिताका लागि छनोट आयोजना गरेको छ । 

यसबाट राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम तयार पारिने कर्णाली प्रदेश क्रिकेट सङ्घका सचिव श्रीधर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया