आगामी कांग्रेस कमान्डर को ?
काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशन आउनु दुई वर्षअगावै सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने दौड सुरु भएको छ । देउवाको उत्तराधिकारी बन्ने उत्कट चाहनामा शशांक कोइराला, शेखर कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासम्मले आफ्ना गतिविधि अगाडि बढाएका छन् । देउवाको उत्तराधिकारीको प्रश्न जति सरल छ, त्यति नै पेचिलो यसको उत्तर खोज्न हुनेछ ।
२०७८ साल मंसिरमा नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको थियो । कांग्रेसको विधानअनुसार हरेक ४ वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने उल्लेख छ । तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि नेपाली कांग्रेसको महाधिवेशन कहिल्यै विधानअनुरूप ४ वर्षमै भएन । आगामी १५औं अधिवेशन पनि ४ वर्षमै अर्थात् २०८२ साल मंसिरभित्रै हुनेमा यसका नेता–कार्यकर्ता विश्वस्त छैनन् ।
त्यसो त महामन्त्री थापाले २०८० सालको फागुनमा सम्पन्न महासमिति बैठकमा पार्टीको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्ने प्रस्ताव राखेका थिए । तर, महामन्त्रीको यस प्रस्तावलाई केन्द्रीय समितिको बैठकले अझैसम्म पनि पारित गरेको छैन । अर्थात्, पार्टीको १५औं महाधिवेशन विधानअनुरूप ४ वर्षभित्रै गर्नुपर्ने महामन्त्रीको यस प्रस्तावलाई केन्द्रीय समितिले ‘नोटिस’मै लिएको छैन । यस्तै १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि शेखर कोइरालाले पनि भनेका थिए, ‘देउवालाई ४ वर्षभन्दा एक दिन पनि पार्टी चलाउन दिन्नौं ।’
१४औं महाधिवेशन सम्पन्न भएको साढे २ वर्ष भइसक्दा पनि पार्टी पदाधिकारी र कैयन् विभागलाई सभापति देउवाले पूर्णता दिएका छैनन् । पार्टीको कोषाध्यक्षजस्तो महत्वपूर्ण पद अझै रिक्त छ । संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभागलगायत १४–१५ विभागले अझै पूर्णता पाएका छैनन् । सबैभन्दा आश्चर्यलाग्दो विषय त पार्टीका कतिपय जिल्लाका क्षेत्रहरूको महासमिति सदस्यसमेतको टुंगो लाग्न सकेको छैन । पार्टीको १४औं महाधिवेशनअगावै टुंगो लागिसक्नुपर्ने महासमिति सदस्यहरूमध्ये विवादकै कारण देखाएर सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायत जिल्लाका ३ सय १९ जना महासमिति सदस्यहरूको अझैसम्म टुंगो लाग्न सकेको छैन । पार्टी सभापति देउवाकै पहलबाट सम्पन्न गरिनुपर्ने पार्टीका यी विशेष र महत्वपूर्ण कार्यहरू सभापति बनेको साढे २ वर्षमा पनि नगर्नुले देउवालाई सक्षम र क्रियाशील सभापति मान्न नसकिने उदाहरण हुन् ।
१४औं महाधिवेशनमा विजयी भएपछि महामन्त्री थापाले ‘अब नेपाली कांग्रेस पार्टीलाई देखिने, सुनिने, बुझिने र आमकार्यकर्ता र जनताको भरोसायोग्य पार्टी बनाउने’ घोषणा गरेका थिए । यसैगरी, अर्का महामन्त्री शर्माले ‘नेपाली कांग्रेस हिजोको जस्तो चल्दैन, रूपान्तरित भएर जान्छ’ भन्ने घोषणा गरेका थिए । तर, यी दुवै युवा महामन्त्रीले गरेका घोषणाअनुरूप कांग्रेस अघि बढेको नदेखिएको कांग्रेस काठमाडौंका युवा नेता लोकेश ढकालको भनाइ छ ।
केन्द्रीय समितिमा सभापति देउवाको वर्चस्व रहेका कारणले पनि युवा महामन्त्रीद्वय शर्मा र थापाले केही गर्न नसकेको कांग्रेस सिन्धुपाल्चोकका अर्का युवा नेता भोला बोहोराको भनाइ छ । बोहोरा भन्छन्, ‘विश्वप्रकाश सैद्धान्तिक ज्ञान भएका राम्रा वक्ता हुन् तर पार्टीभित्र वा बाहिर संगठनकर्ता होइनन्, यसको ठीकविपरीत गगनकुमार थापा वैचारिकका साथै राम्रा वक्ता त हुँदै हुन्, राम्रा संगठनकर्ता पनि हुन्, केन्द्रीय समितिमा भने वर्चस्व नभएकाले यी दुवै युवा नेताका कुराहरू कम सुनिएका छन्, त्यसैले पनि उनीहरूले पार्टीमा देखिने र बुझिने परिवर्तन ल्याउन नसकेका हुन् ।’
अहिले दोस्रो पुस्ताका भनेर देखिएका शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र शशांक कोइरालाजस्ता वरिष्ठ नेताहरू स्वाभाविक रूपले नेपाली कांग्रेसमा सभापति देउवाको उत्तराधिकारीको दौडमा देखिन्छन् । यीमध्ये शशांक र शेखर कोइरालाबाहेक सबै नेता पटकपटक राज्य सत्ताको महत्वपूर्ण पदमा पुगेर जनसमक्ष ‘टेस्टेड’ भइसकेका छन् ।
पदमा पुग्दा कांग्रेसको वैचारिक र सैद्धान्तिक अवधारणालाई यी नेताले कहिल्यै अनुसरण गर्न नसकेको कांग्रेसका आमकार्यकर्ताको बुझाइ छ । बीपीपुत्र शशांक र शेखरको हकमा भने उनीहरू आजसम्म राज्यसत्ताको पद ग्रहण नगरेका ‘फ्रेस’ नेताका रूपमा चिनिन्छन् ।
अन्यको तुलनामा कोइरालाको विरासत बोकेका यी दुवै नेता देउवाका प्रबल उत्तराधिकारी हुनसक्ने सम्भावना देखिन्छ तर कांग्रेसका युवा पुस्ता अर्थात् तेस्रो पुस्ताका थापा र शर्माजस्ता प्रखर युवा नेताको समेत सभापतिमा दाबेदारीका साथ देउवाको उत्तराधिकारी बन्ने चाहना देखिएको युवा नेता गुरु घिमिरे बताउँछन् ।
घिमिरे भन्छन्, ‘कुनै पनि प्रजातान्त्रिक संस्था बनाउन त सजिलो हुन्छ तर चलाउन गाह्रो १ त्यसैले नेपाली कांग्रेसको नेतृत्व विकास र हस्तान्तरण प्रक्रिया परम्परागत रूपले नै हुँदै आएको छ, इतिहास नियाल्दा सबै नेताको सभापति बन्ने उमेर लगभग ६९–७० वर्ष नै देखियो, १५औं महाधिवेशन पनि यसैको निरन्तरता होलाजस्तो देखिन्छ, तर अहिले पुस्ताको लडाइँ पनि प्रखर र सशक्त ढंगबाट अगाडि आएको छ ।’
उनले गगनकुमार थापा, पूर्णबहादुर खड्का र शेखर कोइरालाको त आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा नै भएको बताए । ‘यही दौडमा प्रकाशमान सिंह, कृष्ण सिटौला र शशांक कोइराला पनि देखिन्छन्,’ घिमिरेले भने, ‘१५औं महाधिवेशनमा ठुलै चमत्कार भयो भने मात्र नेतृत्व यो घेराभन्दा बाहिर जाला ।’
सभापति देउवा निकटस्थ स्रोतका अनुसार देउवाले शशांक कोइरालालाई आगामी अधिवेशनमा सभापति बनाउने वचन दिएका छन् । तर स्रोत भन्छ, ‘शशांकमा पार्टी चलाउने हुतीचाहिँ छैन र यस कुरालाई आमकार्यकर्ताले पनि राम्ररी बुझिसकेका छन् ।’ १४औं महाधिवेशनमा शेखर कोइरालाले ‘एकपटक, यसैपटक’ भन्ने नाराका साथ सभापतिको उम्मेदवारी दिएका थिए । उनले त्यतिबेला १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने घोषणासमेत गरेका थिए ।
यही घोषणाले पनि उनलाई १५औं महाधिवेशनमा अप्ठेरो पार्नसक्ने युवा नेता ढकालको बुझाइ छ । ‘यद्यपि, अहिले हेर्दा सभापतिका लागि सबैभन्दा बलियो उम्मेदवार शेखर नै देखिन्छन्, थापा र शर्माले कति साथ दिन्छन् रु शेखरको सम्भावना त्यसैमा निर्भर हुन्छ,’ ढकालको बुझाइ छ ।
देउवाको उत्तराधिकारी बन्ने सार्वजनिक घोषणा गर्ने हिम्मत नभए पनि सर्वाधिक चाहना श्रीमती आरजु राणा देउवाको रहेको देउवानिकट नेताहरू बताउँछन् । ‘देउवाले पनि आरजुलाई पार्टीमा स्थापित गर्न ठूलो शक्ति लगाइरहेको देखिन्छ,’ देउवासँग लामो संगत गरेका र नेपाली कांग्रेसलाई राम्ररी बुझेका अनारसिंह कार्की भन्छन्, ‘अहिले भारतले पनि परराष्ट्रमन्त्रीका रूपमा आरजुलाई राम्रो ‘रेस्पोन्स’ ग¥यो, भारतले अहिले नेपालमा विश्वास गर्ने मानिस नभेटेर पनि आरजुले राम्रो ‘रेस्पोन्स’ पाएकी हुन् तर कांग्रेसको सभापति नै बन्न भने उनलाई कठिन छ, सभापतिको लाइनमा शेखरको स्थिति बलियो हुनुपर्ने हो तर कोइराला खेमाभित्रै एकजुट नभएकाले उनलाई त्यति सजिलो भने छैन ।’
कार्कीले युवा नेतामा शर्मा पनि लोकप्रिय भएको तर थापाको सहयोगबिना उनी एक्लैले पार्टी चलाउन नसक्ने बताए । अहिले पार्टीका तीन जना युवा नेता प्रदीप पौडेल, शर्मा र थापा एकै ठाउँमा छन् । आगामी पार्टी नेतृत्व युवापंक्तिमा आउनुपर्छ भन्ने कुरामा समेत यिनमा एकमत देखिन्छ ।
१४औं महाधिवेशनमा खसेको मत ४ हजार ६ सय ८२ मध्ये सर्वाधिक ३ हजार ३२ मत ल्याएर महामन्त्रीमा विजयी हुने थापा नै यी तीन नेताका सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने अवस्था देखिएको छ । यी कारणले १५औं महाधिवेशनमा देउवाको उत्तराधिकारीमा थापाभन्दा बलिया र सक्षम नेता अरू नदेखिएको कार्कीले बताए ।
देउवानिकट एक उच्चस्तरका कांग्रेसी बुद्धिजीवीका अनुसार अहिले देउवामा आफू प्रधानमन्त्री बन्ने बाहेक अरू कुनै चाहना प्रकट भएको छैन । श्रीमती आरजुलाई उपसभापति वा महामन्त्री बनाउने उनको उत्कट अभिलाषा हो । त्यसका लागि विगतदेखि नै पार्टीभित्र उठ्दै आएको उपसभापति वा महामन्त्रीमध्ये एक पदमा महिला आरक्षणको मुद्दालाई सभापति देउवाको मौन समर्थनले पनि यो भित्री चाहना मुखरित हुन्छ ।
ती बुद्धिजीवी अगाडि भन्छन्, ‘अहिले भारतीय नेताहरूको मनसाय शशांक वा शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्ने देखिन्छ, यी दुईमध्ये शेखर बलिया उम्मेदवार बन्ने सम्भावना भएकाले उनैलाई देउवाको समेत समर्थन मिल्ने अड्कल गरिँदै छ, निर्वाचनको दोस्रो चरणमा लगेर सभापति बनाउने सोच पार्टी संस्थापन पक्षको देखिन्छ, यी सब कुरालाई हेर्दा थापा र शेखरमध्ये एक जना सभापतिमा निर्वाचित हुने देखिन्छ ।’
नेपाली कांग्रेसको आगामी सभापतिका लागि देउवाको उत्तराधिकारी बन्न लालायित नेताहरूले कांग्रेसको वैचारिक र सैद्धान्तिक धरातल भने चटक्कै छाडेको प्रतित हुन्छ । १३औं महाधिवेशनपछि पार्टी प्रवेश गरेका नवआगन्तुक नेताहरूमा व्यक्तिगत स्वार्थबाहेक कांग्रेसको विचार, सिद्धान्त, मूल्य र मान्यतासँग पटक्कै सरोकार देखिँदैन ।
अधिकांशलाई त प्रजातान्त्रिक समाजवाद र कांग्रेसको निष्ठा के हो भन्नेसम्म थाहा छैन । न त उनीहरूमा कांग्रेसको विचार र सिद्धान्त पढ्ने र जान्ने इच्छा नै देखिन्छ । नेपाली कांग्रेस पार्टीका ’दयगतमा विशेष जानकारी राख्ने र ‘नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली कांग्रेस’ विषयमा शृंखलाबद्ध ९ भागका पुस्तक लेखक प्राध्यापक राजेश गौतमका अनुसार कांग्रेसको आफ्नो मूल स्वरूप नै फेरिइसकेको छ । कांग्रेसका नेताहरूमा विचारहीनता, सैद्धान्तिक विचलन र पार्टीको मूल्य मान्यता र आदर्श अब खोज्दा पनि मुस्किलले मात्र भेटिने अवस्था आएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका संस्थापक एवं वैचारिक नेता बीपी कोइरालाको स्मरण यहाँ निश्चय पनि समुचित होला । बीपीको नाम जपेर त्यसैको ब्याजका भरमा सत्तामा पुगेका कांग्रेसका नेताहरूले बीपीद्वारा प्रतिपादित विचारलाई भने हृदयंगम गर्ने र व्यवहारमा उतार्ने कोसिस गरेको देखिएन । ‘राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्नुपर्छ’ भन्ने बीपीको विचार अधिकांश नेताहरूले बुझ्नु त परको कुरा, पढेको समेत छैन होला ।
त्यसैगरी, १० पुस २०१३ मा बाग्लुङ जिल्लाका कांग्रेस नेता ओमप्रकाश थकालीलाई बीपीले सबै साथीहरूलाई सुनाइदिनुहोला भन्ने उल्लेख गर्दै लेखेको व्यक्तिगत पत्रमा ‘नेपाली कांग्रेसका प्रत्येक व्यक्तिले आफ्नो स्वार्थ छोड्नुपर्छ, ‘यदि कांग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनका निमित्त बनाउन कोही लाग्छ भने हामीले त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ, ‘गेरुवा रङको लुगा नलगाएर पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ, कुनै ठूलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवा भाव हुनुपर्छ’ भनेका थिए । ‘अहिलेका अधिकांश कांग्रेस नेता हुँ भन्नेहरूले बीपीको यस विचारलाई अंगीकार गर्ने त टाढाको विषय भयो, सुनेकामा समेत शंका छ,’ कांग्रेसका पुराना काभ्रेली नेता इन्द्रमणि अधिकारी भन्छन् ।
कांग्रेसको १५औं महाधिवेशनले नेतृत्व चयन गर्दा कसैको निगाह वा कृपाबाट नभएर कांग्रेसको मूल्य, मान्यता, वैचारिक र सैद्धान्तिक निष्ठाका आधारमा हुनुपर्छ भन्ने ओखलढुंगाका युवा नेता कुमार लुइँटेलको धारणा छ ।
मुलुकको आर्थिक, सामाजिक र राजनीतिक रूपले समग्र रूपान्तरणका लागि क्षमतावान् र सिद्धान्तनिष्ठ नेतृत्व अबको आवश्यकता भएको औंल्याउँदै नेता लुइँटेलले अगाडि भने, ‘सिद्धान्त र विचारलाई जनजनसम्म सम्प्रेषण गर्नसक्ने व्यक्ति कांग्रेसको भावी नेतृत्वमा आउनुपर्छ, थापाजस्ता ऊर्जावान् युवा नेताबाट आमकार्यकर्ताले यस्तो अपेक्षा राख्नु सर्वथा अनुचित होइन ।’ राजधानीबाट
प्रतिक्रिया