स्थानीय पाठ्यक्रम पुस्तक बिनै पढाइ

स्थानीय पाठ्यक्रम पुस्तक बिनै पढाइ

कुशल उपाध्याय

सुर्खेत – बीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरूमा कक्षा ६–८ मा अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म उनीहरूले पढिरहेको स्थानीय विषय ‘हामी र हाम्रो बीरेन्द्रनगर’को पाठ्यपुस्तक प्राप्त गरेका छैनन् । सङ्घीयतापछि आधारभूत तह १–८ कक्षाको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएकाे छ।

सङ्घीयता आएको करिब ८ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर नगरपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गर्न सकेको छैन् । जसका कारण विद्यार्थीहरू कक्षाकोठामा शिक्षकले पढाएको सुनेकै भरमा परीक्षा दिन बाध्य छन् ।

सपुरा बुढा कृष्ण संस्कृत तथा साधारण मावि इत्राममा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । उनले पाठ्यपुस्तक नहुँदा शिक्षकले भनेका कुरालाई नै आधार मानी परीक्षा दिनुपरेको गुनासो गर्नुभयो । ‘पाठ्यपुस्तक नहुँदा परीक्षामा कस्ता प्रश्न आउने हुन् भन्ने अन्योलता छ’ बुढाले भन्नुभयो ।

शिक्षकले भनेका कुरा आधिकारिक र तथ्यपरक नभएकाले नगरका विभिन्न क्षेत्रसँग सम्बन्धित आधिकारिक जानकारी प्राप्त भएको छैन । कक्षा ७ मा अध्ययनरत त्रिपुरेश्वर मावि ढोडेखालीकी छात्रा भविशिका आचार्यले पनि अहिलेसम्म आफूले अध्ययन गरेको स्थानीय विषयको पाठ्यपुस्तक पाउनुभएका छैन । ‘शिक्षकका कुरा सुनेकै भरमा परीक्षा दिनुपर्छ’ आचार्यले भन्नुभयो ।

‘किताब नपढेरै हतारहतार शिक्षकका कुरा कापीमा सारेर सो कुरालाई नै आधिकारिक मानी परीक्षा दिनुपरेको छ । यस्तो बाध्यता कहिलेसम्म ?’ भविशिकाले प्रश्न गर्नुभयो । पाठ्यपुस्तकबिनै परीक्षा दिएकाले गत वर्षको वार्षिक परीक्षामा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको उहाँले सुनाउनुभयो ।

नेरामावि खजुरामा कक्षा ८ मा अध्ययनरत आशिका बिकले पाठ्यपुस्तकबिनै परीक्षा दिँदा राम्रो नतिजा ल्याउन नसकेको दुखेसो पोख्नुभयो । ‘सरले कक्षाकोठामा पढाउनुहुन्छ,कापीमा सार्न पनि भ्याइँदैन, सुनेकै भरमा परीक्षा दिँदा नगरस्तरीय परीक्षामा सोचेजस्तो नतिजा ल्याउन सकिएला जस्तो लाग्दैन’ आशिकाको टिप्पणी छ ।

बीरेन्द्रनगर नगरपालिकाे स्थानीय पाठ्यक्रम लगायतका शिक्षा समस्या बारे छलफल हुँदै 

प्रभात मावि कोलडाँडामा आधारभूत तह ६–८ कक्षामा स्थानीय विषय अध्यापनरत शिक्षक हिरामणि पोख्रेलले नगरपालिकाले अध्यापन गराइरहेको स्थानीय विषय सिपमूलक र व्यावहारिक नभएको गुनासो गर्नुभयो । ‘स्थानीय भाषा, संस्कृति, समेटिएको पाठ्यपुस्तक तयार गर्नुपर्छ’ शिक्षक पोख्रेलले भन्नुभयो ।

‘शैक्षिक, अवलोकन भ्रमणको बारेमा पनि उल्लेख गरी यथाशीघ्र पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने देखिन्छ, पाठ्यपुस्तक नहुँदा अरू विषयको जस्तो राम्रो नतिजा आउन सकेको छैन । पाठ्यक्रमले स्थानीय पाठ्यपुस्तक हुनुपर्छ भनी अनिवार्य गरेको छ तर विना पुस्तक कसरी पढ्ने, पढाउने ? गाह्रो भएको छ’ उहाँले भन्नुभयो ।

त्रिपुरेश्वर माविका प्रधानाध्यापक रुद्र बहादुर खत्रीले पाठ्यपुस्तक नहुँदा विद्यार्थीले मिहिनेतका साथ नपढ्ने र शिक्षकले राम्रोसँग नपढाउने गरेको पाइएको सुनाउनुभयो । ‘शिक्षकले सोधीखोजी गरेर पढाए भने पनि विद्यार्थीले महत्व दिँदैनन्’ खत्रीले आफ्नो स्वतन्त्र मूल्यांकन सुनाउनुभयो ।

प्रधानाध्यापक खत्रीको सुझाव छ ‘स्थानीय भाषा, धर्म, संस्कृति, कला, साहित्य आदिको बारेमा जानकारी दिन स्थानीय विषय पढाइएतापनि पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूले यी क्षेत्रसँग सम्बन्धित सही तथ्य र जानकारी प्राप्त गर्न सकेका छैनन् । नगरपालिकाले यथाशीघ्र पाठ्यपुस्तक प्रकाशन गरिनुपर्दछ ।’

यस बारे बीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्थानीय पाठ्यपुस्तक क्रमिक रूपमा प्रकाशन हुँदै गरेको बताउनुभयो ‘आ. व २०७८/०७९ मा पाठ्यक्रम प्रकाशन भयो, २०८० मा आधारभूत तह कक्षा १–३ सम्मको पाठ्यपुस्तक प्रकाशन गरियो ।’

शैक्षिकसत्र २०८१ मा आधारभूत तह ४–५सम्मको पाठ्यपुस्तक प्रकाशन भयो । कक्षा ६–८ को पाठ्यपुस्तकको मस्यौदा तयार भई प्रकाशोन्मुख अवस्थामा रहेको छ, आगामी शैक्षिक सत्र २०८२ सम्म सबै कक्षाहरुमा स्थानीय पाठ्यपुस्तक प्रकाशन गरी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

(कुशल त्रिपुरेश्वर माबि ढोडेखालीमा कक्षा ९ अध्ययनरत प्रशिक्षार्थी बाल पत्रकार हुनुहुन्छ ।)

प्रतिक्रिया