कांग्रेसले स्थानीय तह उप-निर्वाचनका लागि टुंगो लगायो ४ उम्मेदवार
दैलेखको महाबु गाउँपालिका अध्यक्षको लागि झलक बहादुर भण्डारी
काठमाडौँ - नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उप-निर्वाचनका लागि विभिन्न ४ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। बाँकी स्थानमा पनि केही दिनभित्रै उम्मेदवारहरू टुंगो लाग्ने नेपाली कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।
स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजन समितिका सदस्यसमेत रहेका विश्वकर्माका अनुसार, कात्तिक २५ गतेभित्र सबै नामहरू टुंगो लाग्नेछ। त्यस्तै, २९ गतेसम्म सबैलाई मनोनयपत्र पठाइसक्ने विश्वकर्माले बताउनुभयो ।
हालसम्म कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो।
कांग्रेसले ग्रामथानमा गाउँपालिका अध्यक्षका लागि बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको मोरङ संसदीय समितिको आज (बिहीबार) बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बुले जानकारी दिनुभयो । ग्रामथानमा गाउँपालिका अध्यक्षको लागि आंकक्षी रहेका १३ जनाबाट कांग्रेसले सरदारको नाम टुंगो लगाएको हो।
सरदार नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । यसअघि कांग्रेसबाटै निर्वाचित जय प्रकाश गच्छदार थारुको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।
कांग्रेसले दैलेखको महाबु गाउँपालिका अध्यक्षको लागि झलक बहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जिल्ला सभापति मणिराम रेग्मीका अनुसार अध्यक्षको आकांक्षी रहेका १५ जनामध्येबाट भण्डारीको नाम टुंगो लागेको हो।
कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवार पनि टुंग्याएको छ। कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले उपप्रमुखमा इन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस्तै, नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकामा पासदिकी शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकामा निर्वाचित श्यामसुन्दर तामाङको ३१ असार २०८० मा ह्रदयरोगका कारण निधन भएको थियो।
उपाध्यक्ष तामाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले उनको श्रीमती पासदिकी शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। कांग्रेस जिल्ला सभापति बर्मा लामाका अनुसार उनको नाम सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाइएको छ।
मंसिर १६ मा जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा गरी विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचन हुन लागेका ४४ मध्ये २७ ठाउँ यसअघि नेपाली कांग्रेसले जितेको थियो।
प्रतिक्रिया