सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले निरौला र पाण्डेयको नाम अनुमोदन गरेको हो। दुवैको नाम सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य जबराले बताए।
यसअघि संसदीय समितिको बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए। उनीहरूले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादन नै आफ्नो प्रमुख कार्यभार भएको उल्लेख गरेका थिए। दुवै जनाले सविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा न्यायिक सम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यस्तै, निरौला विरुद्ध परेको उजुरीका विषयमा प्रश्न प्रश्न गरिएको थियो। उनले सफाइ दिएका थिए। पाण्डेय विरुद्ध भने उजुरी परेको थिएन।
न्याय परिषद्ले असोज ११ गते निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिश गरेको थियो। निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डेय उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश हुन्।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया