असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

असोज बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति सुनकोसीको बाढीले डुबानमा पारेको सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट बजार । तस्वीर : रासस

काठमाडौं । गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी–पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो ।

प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ ।
विज्ञका अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्र विस्तारमै असर गर्ने गर्छ । मनसुनको अन्त्यतिर आएको बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो । १८ जना अझै बेपत्ता छन् । १ सय ७७ घाइते भएका थिए ।
पूर्वाधारमा ३९ अर्ब क्षति

प्राधिकरणका अनुसार बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा मात्र ३९ अर्ब रुपैयाँ बराबर क्षति भएको देखिएको छ । बाढीले देशभरि ४४ पुलमा क्षति गरेको थियो । जसको आर्थिक क्षति १ अर्ब ४ करोड बराबर छ ।

त्यस्तै दूरसञ्चारका ४ सय ४६ संरचनामा क्षति पुगेको छ । जसको आर्थिक क्षति १५ करोड २३ लाख बराबर देखिन्छ । खानेपानी र सरसफाइमा १ हजार ६ सय ७८ संरचनामा क्षति पुगेको छ । जसको क्षति ५ अर्ब ९० करोड ६० लाख बराबर छ । जलविद्युतका २६ संरचनाको क्षति हुँदा ३ अर्ब १ करोड बराबर छ ।

त्यसैगरी सडकमा २ अर्ब ७९ करोड बराबर क्षति पुगेको देखिएको छ । देशभरि सडकमा ४१ स्थानको संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

सार्वजनिक यातायाततर्फ ८४ संरचनामा ७२ करोड बराबर क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । सार्वजनिक भवनमा ९ करोड ५० लाखसहित पूर्वाधारमा कुल ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर क्षति पुगेको छ ।

निजी आवासमा कति क्षति ?

असोज बाढीबाट देशभरि ५ हजार ९ सय ९६ घरमा पूर्ण तथा १३ हजार ४९ मा आंशिक क्षति पुगेको तथ्यांकमा छ । बाढी र पहिरोले १० हजार ८ सय ७ जनाले घर गुमाएका छन् । बाढीबाट १६ हजार २ सय ४१ जना प्रभावित भएका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रका ६ संरचनामा पूर्ण र ३३ मा आंशिक क्षति पुगेको छ । जसको आर्थिक क्षति २ करोड १७ लाख बराबर छ । शिक्षातर्फ ६ भवनमा पूर्ण र १ सय ३६ संरचनामा आंशिक क्षति पुगेको तथा यसको आर्थिक भार ७ करोड २ लाख रुपैयाँ बराबर छ ।

कृषिमा कति ?

बाढी र पहिरोले कृषि क्षेत्रमा ५ अर्ब ८८ करोड २८ लाख बराबर क्षति भएको देखिएको छ । सिँचाइमा १ अर्ब ३५ करोड बराबर क्षति भएको देखिएको छ । साभार:अनलाईनखवर 

प्रतिक्रिया