राज्यका हरेक निकायमा महिलालाई मुख्य जिम्मेवारी दिनुपर्छ : पूर्वसभामुख घर्ती

राज्यका हरेक निकायमा महिलालाई मुख्य जिम्मेवारी दिनुपर्छ : पूर्वसभामुख घर्ती

काठमाडौँ - पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले महिलाहरूलाई राज्यका हरेक निकायको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताउनुभएके छ । 

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताउनुभयो ।

मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उहाँको भनाइ छ। उहाँले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताउनुभयो ।

महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उहाँको दाबी छ।

उहाँले भन्नुभयो, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन। दिएपनि ‘सह’ जिम्मेवारी दिइन्छ। कसैको सहयोगिको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन। मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र ? भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ। म सभामुख भएँ । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो । सभामुख चलाएँ ।’

उहाँले तत्कालीन मन्त्रीहरूले आफनो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढेँ । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैं लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोध्नुभयो । मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ। महिलामाथि यसरी हिंसा हुन्छ। त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरूका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाएँ ।’

छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरुको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै उहाँले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरुको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरुको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।  उहाँले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताउनुभयो ।

उहाँले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरूले राज्यका हरेक निकायमा सहभागिताका लागि अभ्यास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया