'केरा-केतुकीको रेशाबाट बनेका सामग्री : स्वास्थ्य र वातावरणमैत्री'

'केरा-केतुकीको रेशाबाट बनेका सामग्री : स्वास्थ्य र वातावरणमैत्री'


काठमाडौँ -   दैलेखको दुल्लू नगरपालिका -८ का उद्यमीहरुले परम्परागत रुपमा खेर गइरहेको केरा र केतुकीको रेशा प्रयोग गर्दै घरायसी सामाग्री निर्माण गर्न थालेका छन् । प्लाष्टिकले भरिएको बजारलाई चुनौनी दिँदै, स्थानीय स्तरमा सजिलै पाइने प्राकृतिक स्रोत केरा र केतुकीको रेशालाई प्रयोग गर्दै चकटी, झोला, गुन्द्री, लगायतका सामाग्रीहरु निर्माण गर्ने गरेका छन् । परम्परागत रुपमा वेवास्ता गरिँदै आएको केरा र केतुकीको रेशाबाट घरायसी सामाग्री निर्माण गर्दै आएको दुल्लू नगरपालिका ८ कि मैसरा कार्की बताउँनुहुन्छ   । 

 केरा र केतुकीको रेशाबाट घरायसी सामाग्री निर्माण गर्दै आउनुभएकी मैसरा कुमारी कार्कीलाई पहिले पहिले केरा र केतुको रेसाबाट पनि घरायसी सामाग्रि बन्छ होला भन्ने विश्वास नै नलागेको थिएन  । जब एक महिने रेशा सम्बन्धी तालिम लिएर अनि चकित पर्नुभयो । खेर गइरहेको बस्तुबाट पनि यस्तो राम्रो सामाग्री बन्ने रहेछ भनेर अचम्मा परेको कार्कीको भनाई छ । 

गाउँघरमा प्रसस्त रुपमा पाइने केरा र केतुकी खेर गइरहेको थियो’,उहाँ भन्नुहुन्छ, ‘केरालाई बस्तुभाउको सोत्तरका रुपमा प्रायोग गथ्र्यौँ भने केतुकी जंगलमै यसै खेर गइरहेको थियो ।

रेशाबाट पनि सामाग्रि बन्छ भनेको सुन्दा अचम्म लागेको थियो । तालिममा बस्दै सिक्दै गयौँ । सिक्दै जादा आफैले घरायसी सामाग्री  निर्माण गर्दा अचम्म मान्दै खुशी लाग्यो ।’

ग्रामिण समुदायमा केरा र केतुकी  जहाँतही पाउँछ तर, प्रयोगमा भने छैन । खेर गइरहेको छ । यही खेर गइरहेको केरा र केतुकीको रेसाबाट दैलेखको दुल्लू ८ का उद्यमीहरुले घरयसी सामान निर्माण गरेका छन् । 

विपद जोखिम न्यूनिकरण र उत्थानशील समुदाय निर्माणका लागि सामाजिक उद्यमशील परियोजना अन्र्तगत संचालन गरिएको थियो ।

 युएसएआइडी तयार नेपालको सहयोग बतास फाउन्डेसनको साझेदारी दुल्लू नगरपालिकाको समन्वय तथा सहकार्यमा यो परियोजना कायान्वयन गरिएको थियो । २०८० साउन ८ गते देखि २०८१ साउन १६ सम्म यो परियोजना लागु भएको बताइएको छ  । 

रेसाबाट घरायसी सामाग्रिमा गुन्दी, दाम्लो, नाम्लो, चकटी, सुकल, मोजा, झोला, निर्माण गरिँदै आएको पञ्चकोशी रेशा उत्पादन लघु उद्यमी समूहका सदस्य सुभद्रा उपाध्याय बताउँनुहुन्छ  । केरा र केतुकी हाम्रो छरछिमेकमा प्रसस्त रुपमा पाइन्छ तर, पहिले खेर गइरहेको थियो,’उहाँले भन्नुभयो, ‘पहिले कवाडका रुपमा खेर गइरहेको केरा र केतुकी यसरी प्रयोगमा आउँछ भनेर कल्पना समेत गरेका थिएनौँ । तर, यस्बाट त गज्जबका घरायसी सामाग्री निर्माण गर्न सकिदो रहेछ ।’

यसरी ग्रामिण समुदायमा प्रसस्त मात्रामा पाइने केरा र केतुकीको रेशाबाट सामाग्री  निर्माण हुन थालेपछि प्लाष्टिकका सामाग्री खरिदमा केही हदसम्म कम भएको पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्य मैसरा कुमारी कार्की बताउँनुहुन्छ । पहिले घरमा बजारका प्लाष्टिकका सामाग्री अत्यधिक खरिद गर्ने बानी थियो,’कार्कीले भन्नुभयो, ‘पहिले बजारका प्लाष्टिकका सामाग्री खरिद गर्ने बानी अहलिे कम भएको छ । प्लाष्टिकका सामाग्री भन्दा केरा र केतुकीको रेसाबाट बनेका सामाग्री बातावरण र हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिनेरहेछन् ।’

गाउँमै बिना प्रयोग खेर जाने केरा र केतुकीको रेसाबाट घरायसी सामाग्रि निर्माण गरेर प्रयोगमा आएपछि बाताबरणलाई समेत स्वच्छ राख्ने विश्वास लिइएको छ । पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्यहरुले अहिले प्लाष्टिकको सामाग्री प्रयोगलाई घटाउदै लिएको बताउँछन् ।
 

आफ्नो घरमा प्लाष्टिकजन्य सामाग्री कम गर्दै स्थानीय वरपरका आफ्ना छरछिमेकलाई समेत रेसाबाट बनेका सामाग्रीको महत्व र फाइदा बुझाउँदै प्लाष्टिकबाट बनेका सामाग्रीको प्रयोग कम गर्न सुझाउँदै आएको पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्य सुभद्रा उपाध्यायले बताउनुभयो  । 

केरा र केतुकीको रेशाबाट बनेका सामाग्रीले सहज बन्दै दैनिकी 

ग्रामिण भेगमा पछि परेका पछि  पारिएका महिलाहरु प्राय चुलोचौकोमै व्यस्त हुन्छन् । आफ्ना साना साना इच्छा आकाङ्छा पूरा गर्नका लागि पनि श्रीमानकै भर पर्नुपर्ने हुन्छ । तर, पञ्चकोशी बोल्न डुल्न नसक्ने हामी महिलाहरुलाई यस्तो तालिम दिएर अहिले आत्मनिर्भर भएका छन्  । 

केरा र केतुकीको रेसाबाट घरायसी सामाग्री  निर्माण गर्ने तालिम पाएर सामाग्रि निर्माण गर्न थल्नुभएकी पञ्चकोशी रेशा उत्पादन लघु उद्यमी समूहकी सदस्य सुभद्रा उपाध्याय भन्नुहुन्छ, पहिले घर खर्च र छोराछोरीको स्कुल खर्चका लागि श्रीमानको भर पर्नुपर्ने हुन्थ्यो,  तर, रेसाबाट सामाग्रि निर्माण गर्न थाले देखि पञ्चकोशी रेशा उत्पादन लघु उद्यमी समूहका उद्यमी महिलाहरुको दिनचर्या बद्लिएको छ । पहिले आफ्ना साना साना आवश्यक्ताहरु पूरा गर्न श्रीमानकै भर पर्नुपर्ने समूहका महिलाहरु रेसाबाट सामाग्री निर्माण गर्न थाले देखि घरायसी काम गर्दै रेशाबाट सामाग्री बनाउदै आएको पैसाबाट आफ्ना आवश्यक्ताहरु पूरा गर्ने गरेको समूहका सदस्य कार्की बताउँनुहन्छ  ।

पहिले आफ्ना आवश्यक्ताहरु पूरा गर्न श्रीमानको भर पर्नुपर्ने हुन्थ्यो,’उहाँले भन्न्भयो, ‘अहिले घरायसी काम गर्दै रेशाबाट सामाग्री निर्माण गछौँ । र आएको पैसाले आफ्ना इच्छा पूरा गछौँ ।’ 
पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका महिलाहरूले रेसाबाट बनेका सामग्रीहरू, गुन्द्री, सुकुल, चकटी, मोजा, झोला र दाम्लो निर्माण गर्दै आएका छन् ।  यो उत्पादन उनीहरुका लागि केवल आत्मनिर्भरताको साधन मात्रै नभएर, परिवारमा सुख शान्ति र समृद्धि ल्याउने उपाय बनेको यहाँ कार्यरत उद्यमीहरुको भनाई छ ।

उक्त ठाउँमा रेसाबाट उत्पादन सामाग्री उत्पादन हुन थाले देखि अहिले प्लाष्टिकका सामाग्री घटाउँदै आएका छन् । समूहका सदस्यहरुले पनि स्थानीय बजार र छरछिमेकमा प्लाष्टिकका सामाग्रीको बेफाइदा र रेशाबाट उत्पादन सामाग्रीको फाइदाबारे छरछिमेकमा भएका विभिन्न विवाह बर्तबन्ध, क्रियाकर्म लगायतका ठाउँहरुमा गएर उक्त सामाग्रीहरुको फाइदाबारे बजारिकरण र सचेतना फैलाउन थालेपछि सामाग्री धेरैैले रुचाएर लैजाने गरेका पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्यहरुले बताएका छन् ।

गाउँघर देखि शहरसम्म माग 

तालिमपश्चात् पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्यहरुले केरा र केतीकीको रेसाबाट उत्पादन गरेका सामाग्रीको माग गाँउ देखि सहरसम्मै रहेको छ । केरा र केतुकीको रेसाबाट बनेको सामाग्रीको माग गाउँ हुँदै सहरसम्मै बढ्दै गएको पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका अध्यक्ष रुप माया चौलागाईँले बताउनुभयो । 

तालिम पश्चात पहिले बजारिकरण अभावका कारण खासै बिक्रि भएको थिएन अहिले बजारिकरण पश्चात् सामाग्री पुु¥याउन नसकिएको पञ्चकोशी रेशा उत्पादन लघु उद्यमी समूह सुभद्रा कुमारी उपाध्यायको भनाई छ । उहाँका अनुसार रेसाबाट उत्पादन सामाग्री चकटी दुइसय देखि पाँचसय सम्म, मोजा एकजोर २५०, गुन्द्री तीनसय देखि पाँचसयसम्म बिक्रि गर्दै आएको उपाध्याय बताउँनुहुन्छ  । 

आत्मनिर्भरता र आत्मविश्वास जगायो

पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूह रेसा उत्पादनबाट घरायसी सामाग्रि तयार गर्नमा सामाजिक उद्यमशील परियोजनाको तालिमको भूमिका ठूलो छ । तालिमका माध्यमबाट केरा र केतुकीको रेशाबाट विभिन्न प्रकारका घरायसी सामाग्री बनाउन सिकेका उद्यमीहरुले आफूलाई आत्मनिर्भर बनाउनका साथै अन्यलाई पनि प्रेरित गरेका छन् । 

पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहका सदस्य मैसरा कुमारी कार्र्कीले थप्नुभयो,  हामीले सुरुमा केरा र केतुकीका रेशाबाट के बन्न सक्छ भनेर कल्पना गर्न सकेका थिएनौं । अब हामीसँग समृद्धि र स्वावलम्बनका अवसर खुलेका छन । 

कार्कीले भन्नुभयो, ‘केरा र केतुकीको रेशाबाट बनेको सामाग्रि प्रयोग गर्दा र विक्रि गर्दा बारीमै पैसा फलेको महशुस भएको छ ।’
पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहमा १३ जनाको सदस्य रहेको छ ।  समूहमा १० जना महिला र ३ जना पुरुष रहेका छन् । 

कच्चा पदार्थका लागि विरुवा रोप्नुपर्छ 

पञ्चकोशी रेसा उत्पादन लघु उद्यमी समूहमा १३ सदस्य रहेका छन् जसमा १० जना महिला र ३ जना पुरुष छन । समूहका सदस्यहरूले आगामी दिनहरूमा केरा र केतुकीका विरुवा रोप्न र कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन् । 

 समूहका सदस्य मैसरा कुमारी कार्की भन्छिन्, ‘अहिले उपलब्ध कच्चा पदार्थ प्रयोग हुँदै गर्दा यस्को निरन्तरतासँगै एक दिन यो समाप्त हुन सक्छ । त्यसैले, भविष्यमा पर्याप्त कच्चा पदार्थ प्राप्त गर्नका लागि स्थानीय सरकार लागायत हामी सबैले नयाँ विरुवा रोप्ने योजना बनाउन आवश्यक छ  । 

केरा खेती प्रोत्साहनासँगै केतुकी वृक्षारोपण गर्ने दुल्लू नगरको योजना

बातावरण संरक्षण र कच्चा पदार्थको अभाव नहुन दिनका लागि दुल्लू नगरपालिकाले केतुकी र खेती प्रबद्र्धनका लागि नगरपालिकाबाट यो आर्थिक वर्षमा नौ लाख रुपैयाँ बजेट छुट्याइएको दुल्लू नगरपालिका मेयर भरत प्रसाद रिजालले बताउनुभयो । गत वर्ष पनि तिनचार ठाउँमा केतुकीे रोपेका थियौँ, यो वर्ष पनि रोप्छौँ,’रिजालले भन्नुभयोे, ‘केतुकीले बातावरण संरक्षणसँगै कच्चा पदार्थको पनि काम गर्दोरहेछ ।’ 

कृषकलाई केरा खेती गर्न प्रोत्साहन गर्ने केराको बिउ उत्पादन गर्ने कार्यक्रम रहेको मेयर रिजालले जानकारी दिनुभयो  । 

केरा र केतुकीको रेशाबाट घरायसी सामाग्रि बनाउने तालिम पाएपछि समूहमा आवद्ध सदस्यहरु उत्साहित भएको दुल्लू नगरपालिका मेयर भरत रिजालले बताउनुभयो  । 

कच्चा पदार्थका लागि उद्यमी समूहलाई तालिम मात्र नदिएर तालिमसँगै कच्चा पदार्थको अभाव नहुन दिनका लागि केरा र केतुकीका विरुवाहरु रोप्ने योजना रहेको छ,’मेयर रिजालले भन्नुभयोे, ‘केही ठाउँमा गत वर्ष नै केतुकीका विरुवा लगाएका थियौँ, यो वर्ष केतुकीका विरुवा रोप्ने योजनासँगै फलफूल प्रबद्र्धन कार्यक्रम अन्र्तगत केरा खेती तर्फ पनि कृषकलाई प्रोत्साहन गर्ने योजना छ जस्ले गर्दा कच्चा पदार्थको अभाव नहोस ।’

प्रतिक्रिया