विषरहित तरकारी खेतीले बदलिएको किसानको जीवनशैली
काठमाडौँ - दैलेख जिल्लाको दुल्लू नगरपालिका वडा नम्बर -२, बडापोखरा गाउँ, जसलाई अहिले विषरहित व्यवसायिक तरकारी खेतीको केन्द्रको रूपमा चिनिन्छ । केही वर्ष अघिसम्म आफुलाई खानका लागि मात्र तरकारी उत्पादन गर्ने यहाँका कृषक अहिले व्यवसायिक रुपमै तरकारी खेती गर्न थालेका छन् । बडापोखरा गाउँका कृषकहरूले विषरहित र अर्गानिक खेतीमा प्रगति गर्दै आत्मनिर्भर बनेका छन ।
भगवती बडापोखरा कृषक समूहका अध्यक्ष हुन धर्म बहादुर थापा । थापाको कथा गाउँको रूपान्तरणको प्रतिबिम्ब हो । ४३ वर्षका थापा बिहान भालेको डाकोसँगै आफ्नो बारीमा पुग्नुहुन्छ । विषादीको प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गर्ने उनी विगत चार वर्षदेखि व्यवसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ ।
“पहिले खानका लागि मात्रै तरकारी लगाउँथेँ,” उहाँ भन्नुहुन्छ, “तर अहिले तीन पाथी बारीमा लटरम्म तरकारी फलाएर राम्रो आम्दानी गरिरहेको छु ।” हिराको मुख्य फसलमा काउली, गोलभेंडा, र बन्दागोभी छन । थापा आफ्नो परिश्रम र उत्पादनबाट आत्मनिर्भर मात्रै होइन, परिवारको आर्थिक बोझ पनि हल्का गर्न सफल देखिनुहुन्छ ।
समूहगत तरकारी उत्पादन प्रयास
धर्म थापा जस्तै ४५ वर्षीया नानकला थापा पनि व्यवसायिक तरकारी खेतीमा सफलताका उदाहरण नुहुन्छ । उहाँ पनि भगवती बडापोखरा कृषक समूहककी एक सदस्य रहनुभएको छ ।समूहमा आवद्ध रहेका ४२ जना कृषक आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै बेमौसमी र मौसमी तरकारी उत्पादनमा संलग्न छन ।
नानकला थापाले विषादी प्रयोगको सट्टा जैविक मल र झोल मल प्रयोग गर्दै उत्पादनमा वृद्धि गर्दै आउनुभएको छ । “पहिले विषादीले उत्पादन बढ्ने ठान्थ्यौं,” उहाँले भन्नुभयो, “तर अहिले विषरहित खेतीले उत्पादन मात्र होइन, माटोको उर्वराशक्ति पनि बढाएको छ।”
मूल प्रेरणा स्रोत बन्यो सोसेक
बडापोखरा गाउँको कृषि क्रान्तिको मूल प्रेरणा स्रोत गैरसरकारी संस्था सोसेक नेपाल हो । ग्रामिण क्षेत्रमा पछाडि परेका समुदायका समस्या पहिचान गर्दै सोसेक नेपालले आधुनिक कृषि तालिम, जैविक मलको प्रयोग विधि, टनेल निर्माण, र उन्नत बीउबिजन उपलब्ध गराउँदै आएको छ ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सोसेक नेपाल पछाडि परेका र आवाजविहिनहरुको आवाज भएको बताउनुभयो । सोसेक नेपालले ग्रामिण क्षेत्रका पछाडी परेका समुदायको समस्या पहिचान गर्नमा तल्लिन छ,’उहाँले भन्नुभयो, ‘सोसेक सदैव आवाजबिहिनहरुको आवाज बनिरहने सुनिरहने छ ।’
सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द माझीका अनुसार, जलवायुमैत्री कृषि प्रविधि प्रयोग गराउँदै किसानहरूलाई आत्मनिर्भर बनाइएको हो । १२ वटा पक्की टनेल, ३५ वटा कच्ची टनेल, र २५ वटा भकारो निर्माण गरेर किसानलाई व्यवसायिक तरकारी खेतीमा सक्रिय बनाइएको छ ।
सोसेक नेपाालको साथ पाएर स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि तरकारी खेतीमा हिरा रावत र धर्म बहादुर थापा मात्र नभएर बडापोखरा गाउँ नै होमिएको छ ।
दुल्लू नगरपालिका वडा नम्बर —२ ,३,४ र ९ वडाका कृषक समूह समुह मार्फत व्यवसायिक कृषि खेतीमा होमिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझी बताउँनुहुन्छ । उहाँका अनुसार दुल्लु नगरपालिका वडा नम्बर —२ को भगवती बडापोखरा कृषक समूह र तरिया बेमौसमी तरकारी उत्पादन समूह रहेका छन् ।
त्यस्तै वडा नम्बर —३ को मुलपानि कृषक समूह वडा नम्बर —४ को भण्डारी टोल बहुउद्देश्यीय कृषक समूह र वडा नम्बर -९ को कालिका दलित कृषि तथा पशुपन्छि सहकारी समूह प्यादुरामा स्माट कृषि गाउँ कार्यक्रम संन्चालन भएपछि किसानहरु व्यवसायिक तरकारी खेतिमा लागेका छन । दुल्लु नगरपालिका क्षेत्रका बडा पोखरा, तरिया, सुवाछडा,भण्डारी टोल,पाली,प्यादुराका किसान अहिले परम्परागत खेति छाडेर मौसमी तथा बेमौसमी तरकारी खेति तर्फ आकर्षित भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो ।
२०७९÷ ०८० देखि दुल्लू नगरपालिका क्षेत्रमा लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यहाँका एकसय २० जना कृषकहरू मौसमी तथा बेमौसमी तरकारी खेतिमा लागेको माझीको भनाई छ । जस मध्ये ४० जनाले पक्कि प्लाष्टिक टनेलभित्र तरकारी खेती गर्दै आईरहेका छन भने ८० जनाले कच्चि प्लाष्टिक टनेलमा व्यवसायिक तरकारी खेती गरेका छन् ।
जलवायुमैत्री कृषि र उत्पादनमा वृद्धि
जलवायुमैत्री कार्यक्रमले कृषकहरूलाई विषरहित तरकारी उत्पादनतर्फ आकर्षित गरेको छ । जैविक झोल मल १, २, ३ प्रयोग गरेर यहाँका कृषकले उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छन ।
कृषक समूहका सदस्यहरूले वार्षिक १५ लाख रुपैयाँको तरकारी उत्पादन गरेर स्थानीय र छिमेकी बजारमा बिक्री गर्दै आएका छन । प्रत्येक कृषकले औसतमा वार्षिक ५०÷६०हजार रुपैयाँ आम्दानी गरिरहेको भगवती बडापोखरा कृषक समूहका अध्यक्ष धर्म बहादुर थापा बताउँनुहुन्छ ।
'विषरहित उत्पादन गरेको तरकारी खेतीले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याएको छ। समूहगत प्रयास र सोसेकको सहयोगले हामीलाई आत्मनिर्भर बनायो र उत्पादनमा वृद्धि भएको छ,' थापाले भन्नुभयो ।
जलवायुमैत्री कृषि गाउँ कार्यक्रम लागु भएपछि यहाँका कृषकहरु आत्मनिर्भर हुँदै गएका छन् । व्यवसायिक तरकारी खेती गरेर आत्मनिर्भर हुँदै गएपछि परिवार परिवार पालनपोषण देखि पढाउन लेखाउन सहज भएको कृषकहरुको भनाई रहेको छ ।
व्यवसायिक कृषि गरे घर खर्च चलाएर पनि समुह मार्फत कृषकहरुले बचत गर्ने गरेका छन् । घरपरिवार पालन पोषण देखि सबै कुरा गरेर पनि बाँकी पैसा समुह मार्फत बचत गर्ने गरेको कृषक नानकला थापाले बताउनुभयो ।
नामै काफी 'बडापोखरा कृषक समूह'
विषरहित व्यवसायिक तरकारी खेती गर्दै आएका बडापोखराका कृषकहरुलाई बजारको चिन्ता छैन । तरकारी उत्पादन र आम्दानीमा उल्लेखनीय वृद्धि भएको बडापोखरामा बजारको लागि बडापोखरा कृषक समूह भन्नेबित्तिकै व्यापारी र उपभोक्ताले तरकारी खरिद गर्ने गरेको समूहका अध्यक्ष धर्म थापा बताउँनुहुन्छ । “समूहगत रुपमा तरकारी उत्पादन गर्दा धेरै नै फाइदा हुने र विरहित तरकारी उत्पादन गर्दा सबैले रुचाउने पनि रहेछन्,”अध्यक्ष थापा भन्नुहुन्छ, “भगवती बडापोखरा कृषक समूहले उत्पादन गरेको तरकारी माग अनुसार पु¥याउनै सकेका छैनौँ ।”
बडापोखरा गाउँले देखाएको कृषि क्रान्तिले नेपालका अन्य ग्रामीण क्षेत्रहरूका लागि उदाहरण प्रस्तुत गरेको छ । विषादीमुक्त खेती, जैविक मलको प्रयोग, र समूहगत प्रयासले यहाँका कृषकहरूको जीवनस्तरमा परिवर्तन ल्याएको छ ।
आफ्नो परिश्रम र संस्थागत सहयोगबाट आत्मनिर्भर बन्दै गएका यी कृषकहरूको कथा केवल दुल्लू नगरपालिकामा मात्र सीमित छैन । यो प्रयासले सिंगो मुलुकलाई विष रहित कृषि क्रान्तितर्फ अघि बढ्न उत्प्रेरणा प्रदान गर्नेछ ।
प्रतिक्रिया