आधारशिला सहकारी संस्थाको कारोबार २७ करोड नाघ्यो
काठमाडौँ - सर्लाहीको हरिवन नगरपालिकामा रहेको सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाले १४औँ वार्षिक साधारण सभाको अवसरमा आर्थिक वर्ष २०८०/८१ मा २७ करोड १७ लाख ५ सय १३ रुपैयाँको कुल कारोबार गरेको घोषणा गरेको छ।
संस्थाका प्रबन्धक रविन्द्र बहादुर थापाका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले २० करोड ६१ लाख १३ हजार ८ सय ५४ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने ४ हजार शेयर सदस्यमार्फत २ करोड २६ लाख ५४ हजार ४ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ।
त्यस्तै, संस्थाले २० करोड ९ लाख १ हजार ४ सय ३८ रुपैयाँ कर्जा लगानी गरेर ६७ लाख ४२ हजार ३ सय ५७ रुपैयाँको खुद मुनाफा आर्जन गरेको छ। संस्थाले नियमित, बाल शैक्षिक, ऐच्छिक, आवधिक, क्रमिक, र नारी उत्थान गरी ६ प्रकारका खाताबाट सेवा प्रदान गर्दै आएको छ।
सदस्यहरूलाई निशुल्क एसएमएस र मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको सहकारीले २ करोड २ लाख ३१ हजार ९ सय ४० रुपैयाँ जगेडा कोष र ७४ लाख १० हजार ९ सय ८९ रुपैयाँ अन्य कोषहरूमा विनियोजन गरेर संस्थाको आर्थिक अवस्था थप सुदृढ बनाएको जनाएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ८९ लाख ८९ हजार रुपैयाँ मुनाफा लिने कार्ययोजना प्रस्ताव गरिएको छ। संस्थाका कोषाध्यक्ष दिनेश केसीका अनुसार यस वर्ष शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषमार्फत १५.६२ प्रतिशत बोनस वितरण गरिएको छ।
साधारण सभाको उद्घाटन हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले गर्नुभएको थियो । उहाँले ग्रामिण क्षेत्रमा रहेका साना पुँजीहरू संकलन गरेर निम्न वर्गका नागरिकको जीवनस्तर सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकारीमार्फत साना कारोबार गर्न सबैलाई प्रेरित गर्नुभयो ।
कार्यक्रममा हरिवन नगरका सहकारी संजाल संयोजक रामप्रसाद घिमिरे, राष्ट्रिय सहकारी बैंक हरिवनका प्रबन्धक नारायण लामिछाने, नेफ्स्कुन फिल्ड कार्यालयका महेश बराललगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
साधारण सभाले रिक्त रहेका पदहरूमा पनि नियुक्ति गर्यो । सचिव पदमा कृष्णप्रसाद श्रेष्ठ र सञ्चालक सदस्यमा जयन्ती कुमारी आले चयन हुनुभएको छ ।
संस्थाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीको भविष्य र आर्थिक लक्ष्यबारे थप योजनाहरू प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया