परम्परागत शैलीमा महाङ्काल मन्दिरको सत्तल पुनःनिर्माण सुरू
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनःनिर्माण सुरू गरेको छ ।
आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गर्नुभएको हो । “काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ,” त्यस अवसरमा उपप्रमुख डङ्गोलले भन्नुभयो, “प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ ।” व्यक्तिलाई समस्या परे, भगवान्का शरणमा जाने गरिन्छ । भगवान् स्थलमा उतारचढाव नहोस् समयमा कार्य सम्पन्न गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ।
योजनाको लागतअनुमान रू १० करोड १० लाख ७९ हजार दुई सय ७९ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट रू १० करोड पाँच लाख १० हजार छ सय १९ मा निर्माण गर्नेगरी कबोल गर्ने विनायकरएसपिरबोहोरा जेभि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । खरिद प्रक्रिया र लागतका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भन्नुभयो, “परम्परागत निर्माण सामग्री र शैली पुनःनिर्माणको मुख्य विशेषता हो ।”
इञ्जिनियर रवीन्द्र रिजालका अनुसार सत्तल पाँच सय ८३ दशमलव ८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल एक सय ९४ दशमलव ४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन् । पहिलो तलामा तीन वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । यस माथि बुइँगल हुनेछ । रिजालका अनुसार विसं १९९७ मा खिचिएको तस्बिरका आधारमा पुनःनिर्माण गर्न लागिएको हो ।
विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको सत्तलको मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । सत्तल पुनःनिर्माणका लागि विसं २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । यसबाट पाँच वटा प्रस्ताव पेस भएका थिए । यीमध्ये चार वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए । निर्माण पक्षलाई गएको असार १९ गते कार्यादेश दिइएको हो । सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म रहेको छ ।
मन्दिरका पुजारी दीपक हर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब एक हजार तीन सय पाँच सय वर्ष अगाडि निर्माण भएको हो । मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो, “तान्त्रिक शाश्वत बज्र र शिवको आकाश मार्गको यात्रासँग मन्दिर स्थापनाको कथा जोडिएको छ ।
प्रतिक्रिया