शिक्षामा उज्यालो खोज्दै राक्सिराङ
शैक्षिक पहुँचमा सुधार गर्न विपन्न तथा सीमान्तकृत समुदायलाई छात्रवृत्ति
काठमाडौँ - मकवानपुर जिल्लाको पश्चिममा भेगमा पर्ने राक्सिराङ गाउँपालिका भौगोलिक विकटतासँग जुध्दै आएको पालिका हो । भौगोलिक विकटता मात्र होइन आर्थिक अभाव, र सामाजिक असमानताकोे भारी बोकेर पनि शिक्षामा उज्यालो खोजिरहेको छ । पछिल्लो समय उदाहरणीय शैक्षिक कार्यक्रम मार्फत अघि बढ्दैछ । जिल्लाकै पछाडी परेको यो गाउँपालिका आफ्ना सीमित स्रोत र साधनलाई उपयोग गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिर्वतन ल्याउन तल्लीन छ ।
यहाँको भौगोलिक विकटताले विकास र आधारभूत आवश्यकता पूरा गर्न ठूलो चुनौती छ । त्यसमाथि शिक्षा, स्वास्थ्य, आर्थिक र भौतिक पूर्वाधारमा पछाडी परेको यो पालिकाले विभिन्न छात्रवृत्ति कार्यक्रम संचालन गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिर्वतन ल्याउन लागि परेको छ ।
राक्सिराङको हालसम्मको साक्षरता दर ७० प्रतिशतमा सीमित छ । प्राथमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या ठिकठाक भएपनि कक्षा १ मा भर्ना भएर १० कक्षा पास गर्ने विद्यार्थीको संख्या २० प्रतिशत छ । माथिल्लो तहको अध्यनका लागि विद्यालयको अभाव र आर्थिक कठिनाई र बालविवाह जस्ता समस्याले गर्दा शिक्षामा ठूलो अवरोध गरेको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताउनुभयो । गाउँपालिकाले यस्ता समस्या समाधानका लागि विभिन्न छात्रवृत्ति कार्यक्रम र प्रोत्साहन योजना सुरु गरेको छ ।
चेपाङ समुदायका लागि छात्रवृत्ति र प्रोत्साहन
राक्सिराङ गाउँपालिकाको एउटा प्रमुख पहल भनेको चेपाङ विद्यार्थीहरूका लागि शिक्षामा आर्कषण गर्न प्रोत्साहन स्वरुप मासिक भत्ता कार्यक्रम हो । मासिक पाँचसय रुपैँया प्रदान गर्दै आएको छ । कक्षा ९ देखि १२ सम्म अध्यनरत छात्राहरुलाई मासिक पाँचसयका दरले वार्षिक छ हजार रकम प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम २०७६÷०७७ बाट सुरु भएको कार्यक्रममा २०७७÷०७८ मा एक सय १९ जना, २०७८÷०७९ मा एकसय ६१ जना । २०७९÷०८० मा १५८ जना चेपाङ छात्राहरुले यो छात्रवृत्ति पाएको राक्सिराङ्ग गाउँपालिका शिक्षा शाखा सायक साबित्री मोक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार चेपाङ छात्राहरु श्री शूर्योदय माध्यमिक विद्यालय, श्री राष्ट्रिय माध्यमिक विद्यालय, श्री कालिका माध्यमिक विद्यालय, श्री प्रजा जागृति माध्यमिक विद्यालय लगायतका विद्यालयहरूमा अध्ययनरत छन ।
मोक्तानका अनुसार, चेपाङ समुदायको आर्थिक अवस्था कमजोर भएकाले प्रोत्साहन स्वरुप उपलब्ध गराइएको रकमले चेपाङ छात्राहरुको शिक्षामा निरन्तरता दिन सहयोग पु¥याएको छ ।
दलित समुदायका लागि उच्च शिक्षा छात्रवृत्ति
चेपाङ समुदायलाई मात्र नभएर गाउँपालिकाले सीमान्तकृत समुदायले भोग्नुपरेको सामाजिक असमानता, आर्थिक बाधा र सीमित शैक्षिक पहुँचलाई सम्बोधन गर्ने उद्देश्यले दलित विद्यार्थीका लागि दलित उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
२०७७÷०७८ मा सुरु गरिएका छात्रवृत्ति कार्यक्रममा २०७७÷०७८ मा १६ जना, २०७८÷०७९ मा ९ जना, २०७९÷०८० मा ९ जना २०८०÷०८१ मा ९ जना विद्यार्थी दलित समुदाय लक्षित उच्च शिक्षा छात्रवृत्तिबाट लाभान्वित भएका छन् । दलित छात्रवृत्तिका लागि गाउँपालिकाले एकजना बराबर वार्षिक १२ हजारका दरले उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
समाजमा रहेका जातीय असमानता, आर्थिक अवरोध र शैक्षिक अवसरको पहुँचमा देखिने असमानतालाई कम गर्न र गाउँपालिकाको साक्षरता दर वृद्वि गर्न दलित छात्रवृत्ति कार्यक्रम सिर्जना गरिएको गाउँपालिकाले जनाएको छ । यस प्रकारका कार्यक्रमले दलित समुदायका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा प्रोत्साहन, सहयोग, र आत्मनिर्भरता प्रदान गर्न मद्दत गर्ने बताइएको छ । दलित छात्रवृत्ति कार्यक्रमले समग्र समाजको विकाससँगै शैक्षिक पहुँचमा सुधार, लैङ्गिक समानता प्रवद्र्धन, जातीय विभेद हटाउने प्रयास हुनेछ ।
प्राविधिक शिक्षालाई प्राथमिकता
त्यस्तै गाउँपालिकाले प्राबिधिक छात्रवृत्ति पनि पढाउँदै आएको छ । गाउँपालिकाले २०७६÷०७७ बाट प्राबिधिकर्फका विभिन्न कोर्षमा छात्रवृत्ति दिएर पढाउँदै आएको छ । गाउँपालिकाले प्राबिधिक छात्रवृत्ति, एमबिबिएस अध्यन छात्रवृत्ति र चेपाङ्ग समुदायका छात्राहरुलाई प्रोत्साहन रकम प्रदान गर्दै आएको छ ।
प्राबिधिक छात्रवृत्ति तर्फ २०७६÷०७७ मा ७ जना, २०७७÷०७८ मा ११ जना, २०७८÷०७९ मा १७ जना २०७९÷०८० मा ३० जना छात्र छात्रा गरी ६५ जना लाभग्राही संख्या रहेको छ । अहिले उनीहरुले गाउँपालिकाको छात्रवृत्ति मार्फत विभिन्न प्राविधिक विषयहरु पढ्दै आएका छन् । गाउँपालिकाले प्राबिधिक छात्रवृत्ति तर्फ एकजना बराबर वार्षिक २२ हजारका दरले बजेट छुट्याउँदै आएको छ ।
त्यस्तै गाउँपालिकाले २०७५÷०७६ देखि असहाय विपन्न छात्रवृत्ति पनि उपलब्ध गराउँदै आएको छ । असहाय छात्रवृत्तिका लागि वार्षिक २० हजारका दरले बजेट छुट्याउँदै आएको छ । असहाय विपन्न छात्रवृत्ति मार्फत २०७७÷०७८ मा १२ जना, २०७८÷०७९ मा ३१ जना, २०७९÷०८० मा ११ जना गरी हालसम्म ५४ जनाले असहाय विपन्न छात्रवृत्ति पाएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय रूपमा डाक्टरहरू उत्पादन गर्न एमबीबीएस छात्रवृत्ति
राक्सिराङ गाउँपालिकाको सबैभन्दा महत्वाकांक्षी कार्यक्रम मध्ये एक हो स्थानीय रूपमा डाक्टरहरू उत्पादन गर्न एमबीबीएस छात्रवृत्ति कार्यक्रम । गाउँपालिकामा चिकित्सकहरूको अभावलाई सम्बोधन गर्ने र त्यहाँका राक्सिराङबासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न एमबीबीएस छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आएको छ ।
पत्येक वर्ष गाउँपालिकाले एमबिबिएस छात्रवृत्तिका लागि एक लाख रुपैयाँ छुट्याउँदै आएको गाउँपालिकाले अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
हाम्रो गाउँपालिका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ,’उहाँले भन्नुभयो, ‘आफ्नै गाउँपालिकामा डाक्टर, इन्जिनियर, शिक्षक लगायतका दक्ष जनशक्ति उत्पादनका लागि पालिकाले कार्यविधि निर्माण गरेर विभिन्न छात्रवृत्ति दिदै आएका छौँ ।’
राक्सिराङ गाउँपालिका पहुँच नहुनेहरुका लागि पहुँच, समाजमा पछि परेका र पछि पारिएका दलित, असहाय, सीमान्तकृत वर्गका लागि आवाज बन्दै आएको गाउँपालिका अध्यक्ष मल्लको भनाई छ ।
एमबिबिएस कार्यक्रमबाट २०७६÷०७७ देखि २०८०÷०८१ सम्म पाँचजना एमबिबिएस छात्रवृत्ति कार्यक्रमबाट एमबिबिएस अध्यनरत रहेका छन्
विवाहित महिलाहरूको लागि बुहारी छात्रवृत्ति
ग्रामीण क्षेत्रमा विवाह पछि महिलाहरु शिक्षाबाट प्रायः विमुख हुने समस्या देखिन्छ । यस्लाई ध्यानमा राख्दै राक्सिराङ्ग गाउँपालिकाले २०७६÷०७७ देखि विशेषः बुहारीहरुका लागि ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ सुरु गरेको छ ।
बुहारी छात्रवृत्ति कार्यक्रमका लागि राक्सिराङ्गले १२ देखि १६ हजारसम्म बजेट छुट्याउँदै आएको छ । जस्बाट २०७७÷०७८ मा ४ जना, २०७८÷०७९ मा ४, २०७९÷०८० मा १० जना र २०८०÷०८१ मा ९ जना रहेका छन् । २०८०÷०८१ को बुहारी छात्रवृत्ति कार्यक्रमबाट अध्यनरत पाँचजना १२ कक्षामा, दुईजना ११ कक्षामा, र अन्य दुईजना स्नातक तहमा अध्ययनरत छन ।
गाउँपालिकाले यो कार्यक्रम महिलाहरूको आत्मनिर्भरता र सामाजिक सशक्तिकरणका लागि निकै महत्तवपूर्ण रहेको बताएको छ ।
समाजमा धेरैजसो महिलाहरू आर्थिक कारणले पढ्न सक्दैनन् । बुहारी छात्रवृत्तिले आर्थिक बोझ कम गरी उनीहरूलाई पढ्न सहज बनाइरहेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।
शिक्षाले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन मद्दत गर्छ’,उहाँले भन्नुभयोे’, ‘सशक्त महिलाहरूले आफ्ना अधिकारहरू बुझ्न, निर्णय लिन, र सामाजिक अन्यायको सामना गर्न सक्षम हुन्छन ।’
महिलाको शिक्षामा लगानीले समग्र समाजको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पुयाउँछ । शिक्षित महिलाहरू श्रमशक्ति, उद्यमशीलता, र नेतृत्व क्षमतामा सहभागी हुन सक्ने भएकाले बुहारी छात्रवृत्ति कार्यक्रम संचालन गरिएको अध्यक्ष मल्लको भनाई छ ।
बुहारी छात्रवृत्ति कार्यक्रमले महिला सशक्तिकरण र सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष मल्लले बताउनुभयो । महिलाहरूलाई शिक्षित भए उनीहरूलाई आत्मनिर्भर बन्न मात्र नभई आफ्नो अधिकारको पक्षमा उभिने र सामाजिक अन्यायलाई चुनौती दिने क्षमता पनि बलियो हुने विश्वास छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाका अनुसार, यो कार्यक्रमले विपन्न समुदायका बालबालिकालाई शिक्षा तर्फ आकर्षित गर्न र पढाइ छोड्नुपर्ने अवस्थालाई कम गर्न ठूलो मद्दत पुगेको बताउनुभयो ।
‘शैक्षिक रूपमा पछाडि परेको चेपाङ समुदायको लागि यो पहिलो कदम हो । हाम्रो उद्देश्य उनीहरूलाई माध्यमिक तहसम्म पढ्न प्रेरित गर्नु हो,’ उहाँले भन्नुभयो ।
वार्षिक चारसय जनाले प्रोत्सान स्वरुप उक्त रकम पाउँदै आएका छन् । पहिले बिचमै विद्यालय छोड्नेको संख्या ४०÷४५ प्रतिशत हुन्थ्यो भने अहिले १० प्रतिशतमा झारेको प्रशासकीय अधिकृत गर्तौलाले जानकारी दिनुभयो । ८ कक्षा पास गरेपछि बिचमै हराउने हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘पालिकाले प्रोत्साहन रकम उपलब्ध गराउन थाले देखि बिचमै हराउनेको संख्या ४५ बाट १० प्रतिशतमा झारेका छौँ ।’
गाउँपालिकाले यो शैक्षिक सत्रबाट कक्षा पाँच उत्तिर्ण गरेका विपन्न किशोर किशोरीलाई विपन्न लक्षित कार्यक्रममा जोड्ने कार्यक्रम रहेको शिक्षा अधिकृत पंकस थारु बताउनुहुन्छ ।
शिक्षा मार्फत बालविवाह न्यूनीकरण
राक्सिराङ्गमा बालविवाहको समस्या अझै उस्तै छ, तर शिक्षामा चेतना बढ्दै जाँदा यो समस्या क्रमशः घटिरहेको छ । गाउँपालिकाले अभिभावक शिक्षालगायत बालविवाह न्यूनिकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौलाले बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गतौलाका अनुसार, चेपाङ समुदायमा अभिभावक शिक्षाको अभावले बालबालिकाको अध्ययनमा बाधा पु¥याउँदै आएको थियो । तर, विभिन्न कार्यक्रममार्फत अभिभावकलाई शिक्षित गर्ने प्रयासले सकारात्मक परिणाम देखाएको छ ।
अभिभावकमा ‘पढाउनुपर्छ’ भन्ने चेतना जागेपछि यस वर्ष चेपाङ समुदायका करिब ४५ प्रतिशत विद्यार्थीले प्लस टु उत्तीर्ण गरेका छन ।
गाउँपालिकाले आर्थिक विपन्नता र बालविवाह जस्ता समस्याका कारण चुनौती झेल्दै आएको भए पनि पछिल्लो समय बालविवाहका घटना घट्दै गएको छ । यो समस्यालाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी रहेको प्रमुख गर्तौलाले बताउनुभयो ।
चेपाङ छात्राहरूलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने रकम वृद्धि गर्ने विषयमा गाउँपालिकामा छलफल भइरहेको छ । प्रशासकीय अधिकृत गर्तौैलाका अनुसार, विभिन्न साझेदार संघसंस्थासँगको समन्वयमा एकीकृत रूपमा सेवा प्रवाह गर्दै बालबालिकाको शैक्षिक सामग्री र पोशाक उपलब्ध गराउने तथा परिवारलाई आर्थिक आयआर्जनमा समेट्ने कार्यक्रमहरू अघि बढाउन योजना बनाइएको छ ।
गाउँपालिकाका यी र यस्ता प्रयासहरूले विपन्न समुदायलाई शिक्षामा पहुँच प्रदान गर्दै उनीहरूको आर्थिक र सामाजिक अवस्था सुधार्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।
भावी योजना र चुनौतीहरू
गाउँपालिकाले गरेका महत्वपूर्ण प्रगतिका बावजुद, राक्सिराङले अझै पनि बालविवाह, गरिबी र सीमित शैक्षिक पूर्वाधार लगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको छ । यद्यपि, नगरपालिका यी कार्यक्रमहरू विस्तार गर्न र विभिन्न साझेदार संघसंस्थाहरुसँग मिलेर काम गर्न प्रतिबद्ध छ, जात, जाति वा लिङ्गको भेदभाव नगरी सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न लागि परेको छ ।
नगरपालिकाले आफ्नो विद्यमान छात्रवृत्ति कार्यक्रमलाई विस्तार गर्ने र गरिब परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र डे«स उपलब्ध गराउने जस्ता नयाँ पहल गर्ने योजना बनाएको छ । चेपाङका विद्यार्थीहरूलाई पढाइलाई निरन्तरता दिन थप उत्प्रेरित गर्न आगामी वर्षहरूमा छात्रवृत्तिको रकम बढाउने योजना समेत रहेको छ ।
प्रतिक्रिया