विद्यालयको जर्जर भवनदेखि पक्की संरचनासम्म निर्माण
स्थानीय उत्साहितसँगै विद्यार्थीको सिकाइमा सुधार ल्याउने अपेक्षा
काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिका, विशेषगरी -३ नम्बर वडा (माझखर्क), जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएका क्षेत्रमध्ये पर्छ । यहाँका बासिन्दाले वर्षौंदेखि शिक्षा, स्वास्थ्य, र यातायातजस्ता आधारभूत सेवाको अभाव झेल्दै आएका थिए । जर्जर र असुरक्षित संरचनामा सञ्चालित श्रीकृष्ण आधारभूत विद्यालय त्यस क्षेत्रको समस्याको एउटा जीवन्त उदाहरण थियो । कमजोर भौतिक संरचना, चुहिने छानो, र कच्ची भवनका कारण शिक्षाका लागि यो स्थानमा चुनौतीपूर्ण वातावरण थियो।
संघीय शासन व्यवस्थापछि यहाँको अनुहार फेरिन थालेको छ। दुर्गम क्षेत्रको यो विद्यालय अहिले पक्की भवनमा रूपान्तरण भएको छ, जसले विद्यार्थी र अभिभावकलाई नयाँ आशा र उत्साह प्रदान गरेको छ।
घरआँगनमा मोटरबाटो पुगेको छ । तर, मोटर गाडी गुड्ने बाटो भने सहज भइसकेको छैन । मोटरबाटोसँगै पहिलेभन्दा अहिले यहाँको मुहार फेरिएको छ । पहिले कच्ची भवनमा पढाई हुँदै आएको माझखर्कमा रहेको श्री कृष्ण आधारभूत विद्यालयको अहिले मुहारमा बद्लाव आएको देख्न सकिन्छ ।
वर्षौदेखि भोग्दै आएको दयनीय अवस्थाको अन्त्य भएको सोही विद्यालयका शिक्षक भिम बहादुर भण्डारीले बताउनुभयो । ।
शिक्षक भण्डारीका अनुसार २०३२ सालमा स्थापना भएको यो विद्यालयले लामो समयसम्म शिक्षा प्रदान गर्न जर्जर र जोखिमयुक्त भवनको भर पर्नुपरेको थियो । कमजोर संरचना, पत्थरको छानो, र कच्ची भौतिक अवस्थाले विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्न असहज भएको थियो । तर, अब विद्यालयको मुहार फेरिएको छ । हाल विद्यालयमा दुइवटा भवनका आठवटा नयाँ कोठाहरू निर्माण गरिएका छन, जसका लागि २०७८÷ ०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत चार कोठे भवनका लागि ३६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।
संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३६ लाख र प्रदेश सरकारको ५० लाख रुपैयाँको बजेटले विद्यालयमा आठ कोठे दुईवटा पक्की भवन निर्माण गर्न सम्भव बनाएको ठाटीकाँध गाउँपालिका शिक्षा शाखा प्रमुख नेत्र बहादुर थापा बताउनुहुन्छ ।
उहाँका अनुसार शौचालयको समस्या समाधान गर्न पालिकाको पहलमा नेपाल सरकारको सशस्त्र अनुदान सहयोगमार्फत नयाँ शौचालय पनि निर्माण गरिएको छ । भने एमसिडियस संस्थाको सहयोगमा विद्यालयमा पिउनेपानीको बन्दोबस्त गरिएको छ ।
पक्की भवनमा सहज पठनपाठन
२०३२ सालमा स्थापना भएको श्रीकृष्ण आधारभूत विद्यालयले लामो समयसम्म जर्जर भवनमा पठनपाठन गर्दै आएको थियो। कमजोर संरचना, कच्ची भौतिक अवस्था र जोखिमयुक्त भवनका कारण विद्यार्थीले सुरक्षित वातावरणमा अध्ययन गर्न सकिरहेका थिएनन् । तर, अहिले पक्की भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएकोमा शिक्षक विद्यार्थी सँगै यहाँका अभिभावकमा उत्साह थपेको छ ।
नयाँ भवनको निर्माणपछि विद्यार्थी सुरक्षित वातावरणमा अध्ययन गर्न पाउँदा खुसी छन् । शिक्षक र अभिभावकले पनि भवन निर्माणले विद्यार्थीको सिकाइमा सुधार ल्याउने अपेक्षा गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष नेवलसिंह भण्डारीका अनुसार, नयाँ संरचनाले विद्यार्थीलाई सिकाइमा केन्द्रित गर्न ठूलो मद्दत गरेको बताउनुभयो ।
पहिले विद्यालयमा राम्रो भवन नहुँदा निकै समस्या रहेको र अहिले भवन बनेपछि सहज भएको शिक्षक भण्डारीको भनाई छ । पक्की भवन थिएन पठनपाठनका लागि असहज र असुरक्षित सँगै सानो कोठाका कारण सिकाईमा प्रभाव परिरहेको थियो,’उहाँले भन्नुभयो, ‘अहिले पक्की भवन निर्माणसँगै विद्यार्थीमा सिकाइको प्रेणा जगाएको र नयाँ संरचना बनेसँगै शिक्षामा गुणस्तरीय सुधार ल्याउने आशा गरिएको छ ।’
नयाँ भवन निर्माण भएपछि विद्यालयका १३६ जना विद्यार्थी अहिले सुरक्षित र व्यवस्थित भवनमा अध्ययन गर्न पाउँदा अत्यन्तै उत्साहित छन । नयाँ भवन बनेपछि विद्यार्थीहरूलाई चिसो, गर्मी र वर्षाको समस्याबाट मुक्त भएको छ । अभिभावकहरू पनि आफ्ना छोराछोरी सुरक्षित वातावरणमा अध्ययन गर्न पाएकोमा सन्तुष्ट देखिन्छन । अब विद्यालयको छानो भत्किने डर छैन, ढुक्क भएर छोराछोरीलाई विद्यालय पठाउँछौं, स्थानीय अभिभावक बताउँछन् ।
शैक्षिक गुणस्तरमा सुधारको अपेक्षा
नयाँ संरचनाले शिक्षाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको सोही विद्यालयमा कार्यरत शिक्षक भण्डारी बताउँनुहुन्छ ।
उहाँका अनुसार बालविकास कक्षा १ देखि कक्षा ८ कक्षासम्म रहेको विद्यालयमा १० जना शिक्षक कार्यरत छन् ।
कक्षा ८ सम्म अध्ययन हुने यो विद्यालयमा निर्माण गरिएको पक्की भवनले अभिभावकहरूको विश्वास पनि बढेको स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष भण्डारीले बताउनुभयो । ‘नयाँ भवनले विद्यार्थीहरूलाई सिकाइमा केन्द्रित गर्न मद्दत गरेको छ । पहिले असुरक्षित भवनले ध्यान भंग गथ्र्यो अहिले ढुक्क छौँ ।’
भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उहाँको भनाइ छ ।
‘विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो’, उहाँले भन्नुभयो, ‘यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्धरुपमा थप काम गर्छौँ ।’
विद्यालय निर्माण हुनुमा स्थानीय सरकार, प्रदेश सरकार, र समुदायको पनि उत्तिकै सहकार्य रहेको यहाँका स्थानीय अभिभावक बताउँछन् ।
विद्यालयमा घेरवारको आवश्यक्ता
पहिले चुहिने छानोबाट पक्की भवन निर्माण भएसँगै यहाँको समाज तथा अभिभावक निकै उत्साहित छन् । दुइवटा भवन निर्माणसँगै विद्यालयमै पक्की शौचालय छ ।
विद्यालयको आँगनमै बालमैत्री धारा जडान गरिएको छ । तर, विद्यालय वरिपरि घेरवार नहुँदा गाइबस्तुको हैरानी खेप्नुपरेको छ । विद्यालयमा घेरबार नभएको र घेरबारको आवश्यक्ता रहेको शिक्षक भण्डारीले बताउनुभयो । पहिले भन्दा विद्यालयको मुहार धेरै फेरिएको छ तर, पनि विद्यालयमा घेरवार छैन,’उहाँ भन्नुहुन्छ, ‘विद्यालय वरिपरि घेरवार नहुँदा विद्यालयसमयभित्र समेत गाइबस्तु गएर असहज हुने गरेको छ ।’
विद्यालय नजिकै रहेको सरस्वतीको मन्दिर अहिले जिर्ण अवस्थामा छ । सरस्वती मन्दिरको निर्माण र विद्यालय वरिपरि घेरवारको आवश्यक्ता रहेको शिक्षक भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया