लैङ्गिक समानता तथा हिंसा न्यूनीकरणका लागि अभिमुखीकरण
काठमाडौँ - कालिकोटको शुभकालीका गाउँपालिकामा लैङ्गिक हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । शुभकालिका गाउँपालिकाको आयोजनामा, सशक्त महिला समूह नेपालको सहयोग र सोसेक नेपाल दैलेखको समन्वयमा अभिमुखिकरण सम्पन्न भएको हो । लैङ्गिक समानता, सामाजिक समावेशीकरण योजना निर्माण तर्जुमा तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा लैङ्गिक हिंसा रोकथामका उपायहरूका साथै विस्तृत कार्ययोजना निर्माणका विषयमा छलफल गरिएको थियो । शुभकालीका गाउँपालिका–५ का वडाध्यक्ष भीमबहादुर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीसहित गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षा, जनचेतना र कानुनी कारबाहीको प्रभावकारी भूमिका हुने बताउँदै गाउँपालिकाले हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताउनुभयो ।
त्यस्तै, महिला तथा बालबालिका शाखा प्रमुख अमृता न्यौपानेले लैङ्गिक समानता र हिंसा न्यूनीकरणका लागि शिक्षा र व्यवहारमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले बालबालिका र युवाहरुलाई सुरु देखिनै सम्मान, समानता र मानव अधिकारको महत्वबारे सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सोसेक नेपाल दैलेखका फिल्ड अफिसर नम नेपालीले अभिमुखीकरण कार्यक्रममा बोल्दै लैङ्गिक हिंसा न्यूनीकरणका लागि गैरसरकारी संस्थाहरूको मात्र होइन, स्थानीय सरकारको पनि महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले स्थानीय तहले हिंसा रोकथामका लागि स्पष्ट नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालीले भन्नुभयो, “सोसेक नेपाल दैलेखले शुभकालीका क्षेत्रमा लैङ्गिक हिंसा पीडितलाई मनोवैज्ञानिक, आर्थिक र सामाजिक सहयोग प्रदान गर्दै आएको छ। साथै, पीडितका लागि सुरक्षित आश्रयस्थल र परामर्श सेवासमेत उपलब्ध गराउँदै आएको छ ।”
कार्यक्रमको अन्त्यमा सहभागीहरूले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय र सहकार्य अझै प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए । समानता र समावेशी समाज निर्माणका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको धारणा प्रस्तुत सहभागिले राखेका थिए ।
प्रतिक्रिया