गिफ्ट परियोजनाबाट बाख्रा पाएपछि उत्साहित नाउलेका कृषक

आम्दानी बढाउने र परिवारलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्य

गिफ्ट परियोजनाबाट बाख्रा पाएपछि उत्साहित नाउलेका कृषक

दैलेख (दुल्लू) - दैलेखको दुल्लू नगरपालिकामा डिसीय नेपालको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित गिफ्ट परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको छ।

दुल्लू नगरपालिका–१ नाउलेस्थित नमुना कृषि तथा पशुपन्छी समूह र शान्ति मिलन बाख्रा पालन कृषक समूहका २८ जना कृषक सदस्यलाई चारवटा दरले खरीजातका बाख्रा वितरण गरिएको सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द्र माझीले जानकारी दिनुभयो।

बाख्रा बितरण कार्यक्रमका प्रमुख अतिथि दुल्लू नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले बाख्रा वितरण जस्ता परियोजनाहरू कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण रहेको बताउनुभयो ।  कृषिमा आधारित व्यवसायलाई प्रवर्द्धन गर्दै किसानको जीवनस्तर उकास्न नगरपालिकाले निरन्तर सहयोग गर्नेछ, उहाँले भन्नुभयो ।

त्यस्तै वडा नम्बर -१ का वडाअध्यक्ष तर्कबहादुर खड्काले यस परियोजनाले कृषकलाई आत्मनिर्भर बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो। वडा अध्यक्ष खड्काले  बाख्रा पालनलाई व्यवस्थित रूपमा अगाडि बढाए यस क्षेत्रलाई बाख्राजन्य उत्पादनका लागि उत्कृष्ट केन्द्र बनाउन सकिने बताउनुभयो । 

गिफ्ट परियोजनाका संयोजक पुष्कर प्रसाद शर्माले बाख्रा वितरण कार्यक्रमलाई लक्षित गर्दै यस परियोजनाले स्थानीय कृषकहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ूगिफ्ट परियोजनाको मुख्य उद्देश्य स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै कृषकहरूको आयस्तर बढाउने हो। यो कार्यक्रम दुल्लू नगरपालिकाका कृषकहरूको जीवनस्तर सुधार गर्नको लागि मात्र नभई सम्पूर्ण समुदायलाई आत्मनिर्भर बनाउनतर्फ केन्द्रित छ। कृषकहरूले बाख्रापालनलाई आधुनिक प्रविधिसँग जोडेर व्यवस्थित रूपमा अघि बढाएमा दिगो आर्थिक विकास सम्भव हुनेछ।' 

बाख्रा सहयोग पाएपछि कृषक सदस्यहरु उत्साहित भएका छन् । शान्ति मिलन बाख्रा पालन कृषक समूहका सदस्य लालबहादुर नेपालीले बाख्रा पाएपछि निकै उत्साहित भएको बताउँदै सोसेक नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'हामीजस्ता साना किसानलाई यस्तो सहयोगले निकै ठूलो हौसला दिन्छ। अब बाख्रापालनलाई व्यवसायिक रूपमा अगाडि बढाउने योजना बनाएको छु । यसबाट आम्दानी पनि हुने र परिवारको आर्थिक स्थिति पनि सुधार हुने आश छ ।'

त्यस्तै, नमुना कृषि तथा पशुपन्छी समूहकी सदस्य सदस्य पानसरा खड्काले पनि बाख्रा पाएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, यसअघि परम्परागत खेतीमै सीमित थियौं। तर, अहिलेको सहयोगले हाम्रो सोच र काम गर्ने तरिका बदलिएको छ। बाख्रापालनलाई व्यवस्थित गरेर आम्दानी बढाउने र परिवारलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्य राखेकी छु।'

कार्यक्रममा गिफ्ट परियोजना संयोजक पुष्कर प्रसाद शर्मा र दुल्लू नगरपालिकाको पशु शाखाका प्रमुख रामचन्द्र अवस्थी पनि सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया