सहयात्रा तेस्रो परियोजनाको वार्षिक समीक्षा सम्पन्न
दैलेख - दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सहयात्रा तेस्रो परियोजनाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको साझेदारी सोसेक नेपालद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको वार्षिक समीक्षा गोष्ठी तथा परियोजना सल्लाहकार समितिको बैठक चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सम्पन्न भएको हो ।
सामाजिक सेवाको क्षेत्रमा सक्रिय सोसेक नेपालद्वारा सञ्चालित यस परियोजनाले नगरपालिकाभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक सुधारका विभिन्न कार्य सम्पन्न गरेको छ।
वार्षिक समीक्षाको क्रममा जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागितामा परियोजना अन्तर्गत सञ्चालित विद्यालयहरूको अवलोकन र अनुगमन समेत गरिएको थियो। परियोजनाले दुर्गम क्षेत्रका विद्यालयहरूमा भौतिक संरचना निर्माणसँगै शैक्षिक सामग्रीको व्यवस्थापनमा योगदान पुर्याएको छ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले कार्यक्रममा बोल्दै हरेक व्यक्तिले आफ्ना कमजोरीहरूको महसुस गर्दै सकारात्मक परिवर्तन आफ्नै पहलबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो । थापाले यस्तो परिवर्तनबाट मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’ को परिकल्पना साकार हुने धारणा व्यक्त गर्नुभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाहीले परियोजनाले नगरपालिकामा उल्लेखनीय प्रगति गरेको बताउँनुहुँदै वडादेखि बस्तीस्तरसम्म यस परियोजनाको थप सहयोग र विस्तार आवश्यक रहेको धारणा राख्नुभयो।
परियोजनाले विशेष गरी दुर्गम क्षेत्रका विद्यालयहरूको भौतिक संरचना सुधार, शैक्षिक सामग्री व्यवस्थापन र शिक्षा क्षेत्रको गुणस्तर सुधारमा सक्रिय भूमिका खेल्दै आएको छ ।
प्रतिक्रिया