दुल्लूका गाउँहरुलाई कृषि नमूना गाउँ बनाउँदै 'ग्रीन कर्णाली'

समूहगत तरकारी खेतीले उत्पादन र बजारमा सहजता

दुल्लूका गाउँहरुलाई कृषि नमूना गाउँ बनाउँदै 'ग्रीन कर्णाली'

काठमाडौँ -  “जमिनलाई माया गर्न सिक्यौँ भने जमिनले कहिल्यै भोको राख्दैन,” दैलेखको दुल्लू नगरपालिका–२ , सुवाछेडा तरिँयाका कर्ण बहादुर थापा भन्नुहुन्छ ।  पहाडको छेउमा रहेको थापाको बगैँचा अहिले तरकारी खेतीले हराभरा छ, मानौँ प्रकृतिले यहाँ आफ्नै सिर्जनाको नमूना प्रस्तुत गरेको हो । परम्परागत खेती छोडेर जैविक खेतीको बाटो रोजेका थापाले अहिले पाँच रोपनी जग्गामा विभिन्न तरकारी फलाउँदै आउनुभएको छ  । 

कर्ण बहादुर थापाको प्रारम्भिक जीवन निकै संघर्षपूर्ण रह्यो । थोरै जमिन, न्यून उत्पादन र आर्थिक अभावका कारण परिवारको गुजारा मुस्किल हुन्थ्यो । युवावस्थामा १८ वर्षकै उमेरमा रोजगारीको खोजीमा भारत पलायन भएका थापा आर्थिक समस्याका कारण परदेशी भूमिमा श्रम गर्न बाध्य हुनुभयो   । अहिले भने उहाँले आफ्नो जीवनलाई स्वदेशमै आर्थिक उन्नतिको बाटोमा मोड्नुभएको छ ।  करिब ३१  वर्ष भारतमै बिताएपछि उनले ४८ वर्षको उमेरमा स्वदेश फर्केर आफ्नै देशमा नै केही गर्ने अठोट गर्नुभयो  । आर्थिक अभाव लगायतका कारणले विभिन्न समयमा गरी भारतको मुम्बई, महाराष्ट्र, हिमाचल, अल्मोडा र मनालीसम्मको यात्रा गरेँ,’उहाँ भन्नुहुन्छ्, ‘आफ्नै देशमा सिप सिकेर काम गरेको भए जीवन कति सजिलो हुने थियो  अहिले सम्झिदा पछुतो लाग्छ  ।’ 

भारतबाट फर्केर पनि व्यवसायिक तरकारी खेती थालेका थापाले अहिले वार्षिक तीन लाख रुपैयाँसम्मको आम्दानी गर्दै आउनुभएको छ  ।  जलवायुमैत्री र जैविक विधिमा आधारित खेती अपनाएका थापाले झारपात कुहाएर र गोठेमल प्रयोग गरेर विषादीरहित ताजा तरकारी उत्पादन गरिरहेको थापा बताउँनुहुन्छ  ।  उहाँ भन्नुहन्छ, “जैविक खेतीले उत्पादनको गुणस्तर र माग दुबै बढाएको छ ।” 

जैविक खेतीले उत्पादनको गुणस्तर बढाउनुका साथै उपभोक्ताको विश्वास र मागमा वृद्धि गरेको थापा बताउँनुहुन्छ ।

समूहगत तरकारी खेती 

तरियामा १५ सदस्यीय कृषक समूह गठन भएपछि थापाजस्ता किसानहरूको मेहनतले नयाँ आयाम पाएको छ । समूहगत खेतीले उत्पादन र बजार व्यवस्थापनमा सहजता ल्याएको छ । पहिले व्यक्तिगत प्रयासमा सीमित उत्पादनले बजारमा पुग्न नसक्दा समस्या हुन्थ्यो । तर अहिले समूहले सामूहिक उत्पादन बढाएर बजारमा सहज पहुँच बनाएको छ ।

कर्ण थापाजस्तै, सोही ठाउँका अर्का एक सफल कृषक हुन् लोग बहादुर थापा । उहाँ पेशाले शिक्षक भए पनि शिक्षणसँगै कृषिमा सक्रिय हुनुहुन्छ ।  दुल्लू–२, तरिँयाका निवासी लोग बहादुर थापा तरिँयाकै एक अगुवा कृषकका रूपमा परिचित हुनुहुन्छ ।  कृषिको रुपान्तरणका लागि उनी उदाहरणीय पात्र मानिनुहुन्छ  ।

लोग बहादुरले बिहान र बेलुका कृषि कर्ममा समय दिने गर्नुहुन्छ  भने दिनभरि विद्यालयमा शिक्षकको जिम्मेवारी पूरा गर्दै आउनुभएको छ ।  कृषि क्षेत्रमा उहाँको यो लगावमा उहाँकी श्रीमती धना थापाको महत्वपूर्ण योगदान छ । धना थापा घरायसी कामसँगै बिहान र साँझको समय श्रीमानसँगै बारीमा काम गर्दै कृषि क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आउनुभएको छ  । 

‘हामी बिहान र साँझ दुबै जना बारीतिर काम गछौँ, लोग बहादुर भन्छन, ‘कृषि रुपान्तरणका लागि श्रीमतीको सहयोग निकै महत्तवपूर्ण छ । बिहान र साँझ घरायसी कामसँगै कृषिमा पनि समय दिन्छिन । म दिउँसो विद्यालयमा शिक्षकको जिम्मेवारी सम्हाल्छु, भने उनी त्यो समयमा बारीमा कृषि कर्म गर्छिन ।’

शिक्षण र कृषिको यो तालमेलले लोग बहादुर थापा र उहाँको परिवारलाई मात्र नभई, स्थानीय समुदायलाई पनि प्रेरणा प्रदान गरेको छ । थापा दम्पतीले अहिले करिब आठ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ   ।  उहाँले भन्नुभयो, “पहिले सामान्य गहुँ र मकै मात्र लगाउँथें । खान पनि पुग्दैनथ्यो । अहिले खानपिनदेखि बचतसम्म सहज भएको छ ।’

लोग बहादुर थापाको परिवारले २०५७ सालदेखि नै तरकारी खेतीको यात्रा सुरु गरेको हो । विभिन्न संघसंस्थाको सहयोगमा उहाँका बुबा आमाले तरकारी खेती गर्न थाले पनि त्यो समय खेती केवल परिवारका लागि खान पुग्ने मात्र थियो । व्यवसायिक कृषि भने बनेको थिएन ।

आजका दिनमा लोग बहादुर थापाले आफ्ना बुबा आमाबाट सिकेको अनुभवलाई प्रयोग गर्दै व्यवसायिक तरकारी खेतीमा सफलतापूर्वक पाइला चाल्नुभएको छ  । परम्परागत खेती प्रणालीमा निर्भर परिवारले अहिले व्यवसायिक कृषि अंगाल्दै आर्थिक उपार्जनका लागि ठूलो फड्को मारेको छ ।
पहिलेका दिनमा बुबा आमाले थोरै जग्गामा तरकारी खेती र धेरैमा परम्परागत खेती गर्ने हुन्थ्यो  । त्यतिबेला उत्पादन सीमित मात्रामा हुन्थ्यो र मुख्यतः परिवारका लागि उपयोग गरिन्थ्यो । तर, अहिले लोग बहादुरले कृषि क्षेत्रलाई आधुनिक विधिबाट अघि बढाउँदै परम्परागत खेतीलाई कम गर्दै व्यवसायिक तरकारी उत्पादनलाई प्राथमिकता दिएको बताउँनुहुन्छ  । 

व्यवसायिक तरकारी खेतीबाट दुःख गरेअनुसार नभएता पनि तरकारी राम्रो फलेमा एक सिजनमा ५० हजार देखि १ लाखसम्म आम्दानी गनेगरेको उहाँको भनाई छ । वार्षिक दुइ लाख सम्म आम्दानी हुने गरेको उहाँ बताउँनुहुन्छ । पहिले अनुमान गरेअनुसारको उत्पादन हुँदैन थियो अहिले माटोको परिक्षण र जैविक मलको प्रयोग गर्न थाले देखि उत्पादन र गुणस्तर दुबै राम्रो भएको थापाले बताउनुभयो  । 

लोग बहादुरका अनुसार, तरकारी उत्पादनमा वृद्धि भए पनि उत्पादित सामग्रीलाई उचित मूल्यमा बजारसम्म पठाउने प्रक्रियामा केही कठिनाइ भएको बताउँनुहुन्छ  । उहाँले बजारिकरणलाई सहज बनाउन बजारिकरणसम्बन्धी उचित तालिम आवश्यक रहेको बताउनुभयो  । 

‘उत्पादन राम्रै भएको छ, तर बजार व्यवस्थापन बजारिकरणका लागि उचित तालिमको अभावले समस्या छ, लोग बहादुर भन्नुहुन्छ, ‘बजारिकरणको प्रभावकारी तरिका सिक्न र उत्पादनलाई सही मूल्यमा बिक्री गर्न तालिमको आवश्यकता महसुस भइरहेको छ ।’

बजारसँगको सञ्जाल, मूल्य श्रृंखलाको समझदारी, र आधुनिक व्यवसायिक रणनीति सम्बन्धी तालिमले खेतीबाट हुने आम्दानीलाई अझ वृद्धि गर्न सहयोग पुग्ने उहाँको विश्वास छ । 

यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारसम्म मात्र सीमित नरहेर, जुम्ला, सुर्खेत हुँदै नेपालगन्जसम्म समेत पुग्ने गरेको थापाले बताउनुभयो ।

तरियासँगै सिँयाला, बडपोखरा, र बोडजस्ता गाउँहरू पनि कृषि र पर्यावरणीय दृष्टिकोणले उदाहरणीय बन्दै गएका छन् ।  किसानहरूले तरकारी खेती, सुन्तला खेती, र माहुरी पालनलाई आयआर्जनको मुख्य स्रोत बनाएका छन । रासायनिक मल र विषादीको सट्टा गड्यौला मल, झोल मल र जैविक विषादी प्रयोग गरी ताजा र अर्गानिक उत्पादन गरिरहेका किसानहरूले राम्रो प्रतिफल पाएको बताएका छन् । 

 जैविक खेतीले किसानहरूको जीवनस्तर मात्र होइन, पर्यावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्दै आएको सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द माझीले बताउनुभयो । जैविक खेतीले माटोको उर्वरता शक्ति, उत्पादनको गुणस्तर र स्थानीय उपभोक्ताको स्वास्थ्यमा सकारात्मक असर पु¥याएको छ,’ उहाँले भन्नुभयो, ‘किसानहरू अहिले रासायनिक मल र विषादीको विकल्पमा गड्यौला मल, झोल मल र जैविक विधि प्रयोग गर्दै आउनुभएको छ, जसले उत्पादनको माग र मूल्य दुवै बढाएको छ ।’

माझीका अनुसार, समूहगत खेती र ग्रीन कर्णाली परियोजनाले किसानहरूलाई प्राविधिक सहयोग, तालिम र प्रेरणा प्रदान गरिरहेको छ । 

उहाँले स्थानीय किसानहरूको मेहनत र लगावले ग्रीन कर्णाली परियोजनालाई सफल बनाएको उल्लेख गर्दै भन्नुभयो, “ दुल्लूका तरिँया लगायतका गाउँहरू कृषि र पर्यावरणीय नमूना क्षेत्रका रूपमा स्थापित हुँदैछन । किसानहरूले स्थानीय स्रोत र सीपको अधिकतम उपयोग गर्दै आउनुभएको छ । यसले  भविष्यमा अझ राम्रो आर्थिक प्रगति गर्ने अपेक्षा गरिएको छ ।’

डिसीय नेपालको साझेदारी सोसेक नेपालद्वारा दुल्लू नगरपालिका १,२,३,४ र ९ वडामा संचालित ग्रीन कर्णाली परियोजनाले तरिया लगायतका गाउँहरूको कृषि परिदृश्य परिवर्तन गरेको छ । परियोजनाले किसानहरूको जीवनस्तर सुधार गर्न, युवाहरूको परदेश पलायन रोक्न, र पर्यावरणीय सन्तुलन कायम राख्न ग्रीन कर्णाली परियोजनाको उद्धेश्य रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो । कार्यकारी निर्देशक थापा भन्नुहुन्छ, “किसानहरूको मेहनत र लगानीले यो परियोजना सफल भएको छ । यहाँका गाउँहरू कृषि पर्यावरणीय नमुना गाउँका रूपमा विकसित भएका छन ।”

जहाँ युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन, त्यहाँ ग्रीन कर्णाली परियोजनाले आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्दै आएको छ  । कर्ण बहादुर थापा र लोग बहादुर थापा र धना थापा दम्पतीजस्ता किसानहरूको सफलता कथा केवल व्यक्तिगत प्रेरणा मात्र होइन, स्वदेशमै सम्भावना खोज्नेहरूका लागि एउटा उदाहरण समेत बनेको छ । 

प्रतिक्रिया