मेलम्ची–४ का विपन्न परिवारलाई खाद्यान्न वितरण

मेलम्ची–४ का विपन्न परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ  -   सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ मा रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। भिएफएस ग्लोबलको साझेदारी र सोसेक नेपालको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरू, गरिब तथा एकल परिवारलाई विशेष प्राथमिकताका साथ राहत सामग्री प्रदान गरिएको हो।

यस सहयोग अन्तर्गत मेलम्ची–४ का ६ परिवारलाई अत्यावश्यक खाद्य सामग्री वितरण गरिएको छ। राहत सामग्रीमा चामल, दाल, नुन, तेल, अनाज, सुकेको रातो खुर्सानी लगायतका दैनिक जीवनयापनका लागि आवश्यक वस्तुहरू समावेश गरिएका थिए। अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता विशेष ध्यानमा राखी राहत प्रदान गरिएको बताइएको छ।

भिएफएस ग्लोबल र सोसेक नेपालको यो पहलले विपन्न परिवारहरूको दैनिक आवश्यकतामा सहयोग पुर्‍याउनुका साथै उनीहरूको जीवनयापन सहज बनाउन महत्वपूर्ण योगदान दिएको छ।

राहत बितरणले आर्थिक रूपमा कमजोर तथा दैनिक जीवनयापनमा कठिनाइ झेलिरहेका परिवारहरूको समस्या केही हदसम्म समाधान गर्न सहयोग पुर्‍याएको छ। मेलम्ची–४ का सोमबहादुर तामाङ भन्नुहुन्छ, 'घरको आर्थिक अवस्था कमजोर भएर दैनिकी चलाउन कठिनाइ भइरहेको बेला पाएको यो खाद्यान्न सहयोगले हाम्रो जीवनमा ठूलो राहत दिएको छ ।'

प्रतिक्रिया