भुकम्पबाट भत्किएका ४२ वटा विद्यालय र स्वास्थ्य संस्था प्रदेश सरकार आफैले बनाउने
दैलेख । एकबर्ष अघि जाजरकोट रामीडाँडा केन्द्र बनाएर गएको भुकम्पले भत्काईएका विद्यालय र स्वास्थ्य संस्था कर्णाली प्रदेश सरकार आफैले बनाउने भएको छ । भुकम्प गएको १ बर्ष वितिसक्दा पनि पुननिर्माणबारे संघीय सरकारले चासो नदिएपछि प्रदेश सरकार आफै पुननिर्माणमा जुटेको हो । पुननिर्माणका निर्माण प्रदेश सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई पहिलो प्राथमिकतामा राखेर पुननिर्माण गर्न लागेको हो ।
प्रदेशसरकारको भौतिक तथा सहरी विकास मन्त्रालय अनुसार जाजरकोटमा मात्रै ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्ने भएको छ । मन्त्रालयका अनुसार पुनर्निर्माणका लागि जिल्लाको पूर्वाधार विकास कार्यालयबाट योजनाहरू छनोट गरेर पठाएको थियो । जाजरकोटमा पहिलो चरणमा ३१ वटा सामुदायिक विद्यालय र ११ वटा स्वास्थ्य संस्थाको भवन बनाइने भएको हो । बारेकोट गाउँपालिकामा ५, नलगाड नगरपालिकामा ४, भेरी नगरपालिकामा ३, छेडागाड नगरपालिकामा ४, कुशे गाउँपालिकामा ५, शिवालय गाउँपालिकामा ५ र जुनिचाँदे गाउँपालिका ५ वटा विद्यालय पुनर्निर्माणका लागि छनोट भौतिक तथा शहरी विकास मन्त्रालय जनाएको छ ।
विद्यालय र स्वास्थ्य संस्था भवन निर्माणका लागि ४५ लाखदेखि ७५ लाख लगानी गर्ने कार्यविधि प्रदेश सरकारले बनाएको छ । यस्तैगरि स्वास्थ्य चौकीतर्फ सबै पालिकामा दुई वटाका दरले छनोट गरिएको छ । जाजरकोटमा भूकम्पबाट प्रभावित स्वास्थ्य संस्था र विद्यालयहरूको पुनर्निर्माणका लागि २५ करोड रकम विनियोजन गरिएको छ ।
पूर्वाधार विकास कार्यालय जाजरकोटबाट सिफारिस भएर आएका योजनाहरू प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्वीकृत गरिसकेको छ । साथै कार्यविधि अनुसार निर्माण कार्यका लागि समेत अख्तियारी दिइसकेको मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए ।
प्रदेश सरकारले भूकम्प प्रभावित जिल्लाहरूका क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि चालु आर्थिक वर्ष ५० करोड रकम विनियोजन गरेको छ । सोही अन्तर्गत जाजरकोटमा २५, रुकुम पश्चिममा २२ र सल्यानमा ३ करोड रकम विनियोजन गरिएको छ । भुकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र सल्यानमा पनि योजना छनोट गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया