विपद् प्रतिकार्यका लागि अस्थायी सिकाइ केन्द्र र गैर खाद्य सामग्री हस्तान्तरण

काठमाडौँ - दैलेखको गुुराँस गाउँपालिकामा विपद् प्रतिकार्यका लागि अस्थायी सिकाइ सामाग्री बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपालले दैलेखको गुराँस गाउँपालिकालाई भूकम्पसहित विभिन्न विपद् प्रतिकार्यका लागि अस्थायी सिकाइ केन्द्र र गैर खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकालाई विपद् समयमा जीवनरक्षामा सहयोग गर्ने उद्देश्यले २ कोठे प्रिफ्याब भवन निर्माणका सामग्री, १५ घरपरिवारका लागि बन्दोबस्तका सामग्री, र अन्य व्यवस्थापन सामग्री प्रदान गरिएको बताइएको छ ।
करिब १३ लाख ५० हजार रुपैयाँ बराबरका घरायसी सामग्री कपडा, भाँडाकुँडा, साथै विद्यालय स्तरका शिक्षक र विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री रहेका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले विपद् पूर्व तयारी र तात्कालिक प्रतिकार्यको महत्त्वमा जोड दिनुभयो । उहाँले विपद् अज्ञात समयमा आउने भएकाले तत्काल विद्यालय क्षेत्रमा कक्षाकोठा निर्माण र अध्ययन व्यवस्थापनको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । साथै, यस पहललाई प्रभावकारी बनाउन गाउँपालिकाले थप सामग्री व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री गमता विकले सोसेक नेपाल र सेभ द चिल्ड्रेनले विकट कर्णाली प्रदेशमा विपद् व्यवस्थापनका लागि गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि यस किसिमका सहयोगले तत्काल राहत पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले गाउँपालिका स्तरबाट विगतदेखि नै विपद् प्रतिकार्य सामग्रीको व्यवस्थापनमा प्रयासरत रहेको जानकारी गराउनुभयो । हाल प्राप्त सहयोगले विपद् व्यवस्थापन र राहत वितरणलाई थप प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया