रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता

रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता

पोखरा । जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले आइतबार जिल्ला अदालत, कास्कीमा रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो। पूर्व गृहमन्त्री लामिछाने विरुद्ध तीन कसूरमा ममुद्धा दर्ता गरिएको अदालतका प्रवक्ता सुरज अधिकारीले बताए। उनले भने,“ लामिछाने विरुद्ध तीनवटा कसूरमा मुद्दा दर्ता भएको छ । ४२७ पृष्ठको अभियोगपत्र भएकाले अध्ययन गरिरहेका छौं ।

जिल्ला अदालतका प्रवक्ता अधिकारीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा दायर गरिएको हो। अभियोगपत्रमा लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी सहित ४४ जनालाई विपक्षी बनाइएको छ। पूर्व डीआईजी जोशीलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो।

 त्यस्तै, पूर्व गृहमन्त्री लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। दुवै जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए।सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ। त्यसैका आधारमा उनीहरूलाई पुस ५ गतेसम्म हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको थियो।
पुस ६ गते शनिबार भएकाले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ।
 

प्रतिक्रिया