ठाटीकाँधमा दुईदिने शत्रु जीव व्यवस्थापन तालिम सम्पन्न
दैलेख (ठाटीकाँध) - दैलेखको ठाटीकाँध गाउँपालिकामा दुईदिने एकीकृत शत्रु जीव व्यवस्थापन तालिम सम्पन्न भएको छ। एईआईएन लक्जेम्बर्गको साझेदारीमा ठाटीकाँध गाउँपालिकाको समन्वय र सोसेक नेपालद्वारा संचालित सहकार्य परियोजनाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो।
तालिममा ठाटीकाँध गाउँपालिकाका वडा नं. १, ३ र ४ बाट २२ जना कृषक सहभागी भएका थिए । तालिममा एकीकृत शत्रु जीव व्यवस्थापनको महत्त्व, त्यसका फाइदाहरू र कार्यान्वयनका उपायहरूका बारेमा विस्तृत छलफल गरिएको सहकार्य परियोजना कृषि प्राबिधिक भुपेन्द्र बहादुर सिजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा शत्रु जीवलाई प्रभावकारी ढंगले नियन्त्रण गर्नका लागि जैविक, रसायनिक र सांस्कृतिक विधिहरूको संयोजनको महत्त्वका बारेमा जानकारी दिइएको थियो ।
त्यस्तै खेतीमा शत्रु जीव व्यवस्थापनका उपायहरू र बेमौसमी तरकारी खेतीबाट कसरि फाइदा उठाउन सकिन्छ भन्ने बारे समेत छलफल गरिएको थियो । प्रयोगात्मक अभ्यासका क्रममा सहभागीलाई नर्सरी ब्याड बनाउने र झोल मल १, २, ३ बनाउनका लागि तालिम दिएको सिजापतिले बताउनुभयो । तालिमपश्चात् सहभागिहरुलाई काक्रा, सिमी, धनिया, सुइचाँडी साग र खुर्सानीका बीउसँगै झोल मल बनाउनका लागि प्रयोग हुने ६० लिटर क्षमता भएको ड्रम वितरण गरिएको थियो ।
सोसेक नेपालद्वारा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजनाका कृषि प्राविधिक भूपेन्द्र बहादुर सिजापतिले तालिमको क्रममा कृषकलाई शत्रु जीव व्यवस्थापनका नयाँ उपाय र बीउहरूको प्रयोग गरेर आफ्नो कृषि उत्पादन बढाउनका लागि प्रोत्साहित गर्नुभएको थियो ।
तालिमपछि ठाटीकाँध गाउँपालिकाका वडा नं. ४ का कृषक जयरुप बडुवालले खुशी व्यक्त गर्दै भन्नुभयो, “मैले पहिलो पटक यति उपयोगी तालिम पाएँ । यसले मलाई आधुनिक कृषि प्रविधिको ज्ञान दिएको छ र म भविष्यमा यसको प्रयोग गरेर राम्रो उत्पादन गर्ने प्रयास गर्नेछु ।” उहाँले तालिम आयोजक सोसेक नेपाललाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता तालिमहरू जारी राख्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया