लागूपदार्थ दुर्व्यसनी रोक्न पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने तयारी छ : मन्त्री भण्डारी
काठमाडौँ — कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा बढ्दो लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
लागूपदार्थ दुर्व्यसनी, बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, र लैङ्गिक हिंसाका घटनासम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा विषयक प्रदेशस्तरीय कार्यशालामा मन्त्री भण्डारीले कर्णाली प्रदेशमा बढ्दो लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि पुनर्स्थापना केन्द्र सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा मन्त्री भण्डारीले कर्णालीमा बढ्दो लागूपदार्थ सेवन रोकथामका लागि नेपाल प्रहरीद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रसँग सहकार्य गर्दै सुर्खेतमा शाखा स्थापना गरिने बताउनुभयो । पुनर्स्थापना केन्द्रमार्फत दुर्व्यसनीको समस्याबाट ग्रस्त व्यक्तिहरूलाई उपचार र मनोपरामर्शसहित पुनर्स्थापित गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
समाजमा हिंसाजन्य घटनाहरू न्यूनीकरण गर्न मानवता आधारित सोच र व्यवहार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 'जनावरलाई माया गर्ने र मानिसबीच विभेद गर्ने सोचले समाजमा हिंसा बढेको छ, उहाँले भन्नुभयो, यसलाई रोक्न सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक प्रयास गर्नुपर्छ।'
कार्यक्रममा भेरीगंगा नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र जुम्ला, एकद्वार संकट व्यवस्थापन केन्द्र लगायतका विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
गोष्ठीको अध्यक्षता सोसेक नेपालका उपाध्यक्ष कबीराज रिजालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी रहनुभएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगी विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
गोष्ठीको सञ्चालन सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख अनीता ज्ञवालीले गर्नुभएको थियो भने सोसेक नेपालका कार्यक्रम संयोजक माया अधिकारीले कार्यक्रमको उद्देश्य प्रष्ट गर्नुभएको थियो । कार्यशालामा बालविवाह, बालश्रम, लागूपदार्थ दुर्व्यसनी, लैंगिक हिंसा, र मानव बेचबिखनजस्ता सामाजिक सवालहरूबारे प्रस्तुतीकरण गरिएको थियो ।
चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्का, भेरीगंगा नगरपालिकाकी उपप्रमुख धनीसरा बोहरा, र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालसहित वडाका अध्यक्षहरू तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रम संयोजक माया अधिकारीले बताउनुभयो ।
कार्यक्रममा सुर्खेत र जुम्लाका एकद्वार संकट व्यवस्थापन केन्द्र, प्रदेश प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, र समुदाय प्रहरी साझेदारीका तर्फबाट सामाजिक सवालहरूको अवस्था, न्यूनिकरणका प्रयास, र तिनमा रहेका चुनौतीहरूको बारेमा १० /१० मिनेटको प्रस्तुतीकरण गरिएको थियो ।
कार्यशाला गोष्ठी एईआईएन लक्जेम्बर्गको साझदारीमा सोसेक नेपालद्वारा संचालित बिहानी परियोजना र पिपल इननिडको साझेदारी अन्र्तगत सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्पन्न भएको थियो ।
कार्यशालामा बालविवाह, बालश्रम, मानव बेचबिखन र लैङ्गिक हिंसाका घटनाहरू न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउने र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष थियो ।
प्रतिक्रिया