दैलेखको भैरवीमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन

दैलेखको भैरवीमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकामा सरुवा र मौसमी रोगको रोकथाम तथा उपचारका लागि नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। एईआइएनको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा भैरीकालिकाथुम स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा दुल्लू अस्पतालका डाक्टरहरूको टोलीले ग्रामीण क्षेत्रका स्थानीयलाई स्वास्थ्य जाँच गरी परामर्श दिएका छन् । जाडो मौसममा विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा अन्य वर्गलाई चिसोबाट हुने संक्रमण र सामान्य रोगहरूको पहिचान र उपचारमा यो शिविर केन्द्रित भएको बताइएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिका जनताको स्वास्थ्यप्रति सधैं सजग रहेको बताउँदै बदलिँदो मौसमका कारण वृद्धवृद्धा र बालबालिकामा देखिने स्वास्थ्य समस्यालाई समाधान गर्न शिविरले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्तो पहलले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलाई प्रभावकारी बनाउने उल्लेख गर्नुभयो ।

शिविरमा वडा नं. ४, ५ र ७ का वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । भैरवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शम्शेर बहादुर विष्टले कार्यक्रम संचालन गर्नुभएको थियो ।

शिुल्क रुपमा संचालन गरिएको एकदिने शिविरमा तीनसय जनाले सेवा लिएको बताइएको छ ।  शिविरले गाउँपालिकाको दुर्गम भेगका स्थानीयलाई आवश्यक स्वास्थ्य परामर्श र उपचार सेवाको सहज पहुँच प्रदान गरेको छ।

प्रतिक्रिया