साहसी महिला अभियन्ता दनुवारको निधनप्रति सोसेकद्वारा गहिरो दुःख व्यक्त

काठमाडौँ । मानव बेचबिखन विरुद्धका लागि साहसी अभियन्ता र 'शक्ति समूह' की पूर्व अध्यक्ष सुनिता दनुवारको निधनले नेपाली समाजले एक सशक्त आवाज गुमाएको छ । उहाँको निधनप्रति सामाजिक संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।
सोमवार सोसेक नेपाल, दैलेखले शोक वक्तव्य जारी गर्दै दनुवारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, “मानव बेचबिखन र हिंसा विरुद्ध जीवनभर संघर्ष गर्दै पीडित महिलाहरूलाई नयाँ जीवन दिन मद्दत पुर्याउने साहसी नेतृत्वलाई समाजले गुमाएको छ। उहाँप्रति हाम्रो उच्च सम्मान छ ।”
दैलेखमा जन्मिएकी सुनिता दनुवार मात्र १४ वर्षको उमेरमा दलालहरूको जालमा फसेर मुम्बईको कोठीमा बेचिन पुगेकी थिइन् । अपमान, हिंसा र पीडाका अनेकन् परिस्थितिबाट आफूलाई उन्मुक्त गर्दै उहाँले नेपाली समाजमा नयाँ चेतना जगाउने अभियान सुरु गर्नुभयो।
उहाँले स्थापना गरेको 'शक्ति समूह' ले मानव बेचबिखनबाट पीडित महिलाहरूको उद्धार, पुनःस्थापना, र सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्यायो ।
दनुवारको साहसी नेतृत्वका कारण अमेरिकाको प्रतिष्ठित फोर्चुन म्यागेजिन ले २०१८ मा उहाँलाई विश्वका ५० विशेष नेतृत्वकर्ताहरूको सूचीमा राखेको थियो। त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले उहाँलाई 'टिप हिरो' सम्मान प्रदान गरेको थियो।
सुनिता दनुवारले आफ्नो जीवनसंघर्षलाई ूआँसुको शक्ति पुस्तक सार्वजनिक गर्दै पुस्तक मार्फत आफ्नो संघर्ष, पीडा र विजयको कथा नेपाली समाजसँग बाड्नुभएको थियो । मानव बेचबिखन विरुद्धको अभियानलाई साहित्यको माध्यमबाट पनि बलियो बनाउनुभयो । यो पुस्तकले हजारौंलाई प्रेरित मात्र गरेन, समाजलाई चेतनशील बनायो ।
दनुवारको निधनले नेपाली समाज, विशेषगरी महिला सशक्तीकरण र मानव बेचबिखनविरुद्धको अभियानलाई गहिरो धक्का पुर्याएको छ। सोसेक नेपालले उहाँको योगदानलाई उच्च सम्मान गर्दै उहाँका अधुरा सपनाहरू पूरा गर्न शोक वक्तव्य जारी गर्दै प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया