अपांगता भएका व्यक्तिहरूका सवालमा दुल्लूमा विशेष छलफल

काठमाडौँ - दैलेखमा अपांगता भएका व्यक्तिहरूका सवालमा सरोकारवालाहरुसँग विशेष छलफल गरिएको छ । दुल्लू नगरपालिकामा अपांगता भएका व्यक्तिहरूले सरोकारवालाहरूसँगको छलफलमा आफ्ना हक-अधिकार र चुनौतीबारे ध्यानाकर्षण गराएका छन् ।
अपांगता भएका व्यक्तिहरूले जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था तथा अन्य सरोकारवालाहरूलाई समाजले उनीहरूको भावनालाई स्वीकृति नदिएको र अपमानित गर्ने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरूले आफ्नो पहिचान, क्षमता, र योगदानलाई स्वीकार्न समाजले अझै तयारी गर्न नसकेको भन्दै संवेदनशीलता वृद्धि गर्न आग्रह गरे । राज्य र स्थानीय तहले आफूहरूप्रति विशेष चासो र सहयोगको आवश्यकता रहेको बताएका थिए ।
सामाजिक समावेशीकरण र अपांगता भएका व्यक्तिहरूका अधिकारका लागि पहल गर्नुपर्नेमा सहभागी सरोकारवालाहरूले जोड दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले संविधानले प्रत्याभूत गरेको अधिकारलाई कार्यान्वयन गर्न राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “अपांगता भएका व्यक्तिहरूलाई राज्यका अन्य नागरिकभन्दा बढी सहयोग र संरक्षणको खाँचो छ। यसतर्फ राज्य सचेत हुनुपर्छ ।”
त्यस्तै दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्कीले स्थानीय तहको भूमिका स्पष्ट पार्दै नगरपालिकाले हरेक वर्ष अपांगता भएका व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि तालिम, शिपमूलक कार्यक्रम र आवश्यक व्यवस्थापन गर्दै आएको बताउनुभयो । उप-प्रमुख कार्कीले भविष्यमा पनि यो प्रक्रिया निरन्तर जारी राखिने बताउनुभयो
छलफलमा सहभागी विजय माध्यमिक विद्यालय दुल्लूका प्रधानाध्यापक केशव बहादुर भण्डारीले समाजले अपांगता भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण अपनाउनु जरुरी रहेको बताउतुभयो । उहाँले भन्नुभयो, “समाजमा समानता र समावेशिता स्थापना गर्न अपांगता भएका व्यक्तिहरूका योगदानलाई प्रोत्साहन गर्नुपर्छ ।”
सोसेक नेपालको सहयोग व्यवस्थापनमा गरिएको उक्त कार्यक्रमको सहजीकरण सोसेक नेपालकी हरिकला खड्काले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया