देशभर मौसम बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर मौसम बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं -   पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण विभिन्न क्षेत्रको मौसममा परिवर्तन आएको छ। मंगलबार बिहानदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा साधारणतया बदली रहँदा कोसी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका केही स्थान र कर्णाली प्रदेशका एक(दुई स्थानमा हाल हल्का वर्षा र हिमपात भइरहेको छ। देशका अन्य भूभागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाको मंगलबार बिहान ६ बजे जारी बुलेटिनअनुसार, आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। यसैगरी, बागमती र मधेस प्रदेशका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी, सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बागमती र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको छ।

आज बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, यातायात, स्वास्थ्य, र हवाई उड्डयनमा क्षणिक प्रभाव पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ।

मौसमको यो अवस्थाले जनजीवनमा असर पुर्‍याउन सक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। यात्रुहरूले यात्रा योजना बनाउँदा र किसानहरूले कृषिकर्म गर्दा मौसमको अवस्थालाई ध्यानमा राख्नुपर्ने सुझाव दिइएको छ।

देशभरका नागरिकलाई वर्षा र हिमपातबाट हुनसक्ने जोखिमप्रति सचेत रहँदै आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।


 

प्रतिक्रिया