दैलेखमा दुईदिने शत्रुजीव व्यवस्थापन तालिम, कृषकहरू उत्साहित
ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा दुईदिने शत्रुजीव व्यवस्थापन तालिम सम्पन्न भएको छ। एईआईएन लक्जेम्बर्गको साझेदारीमा, ठाटीकाँध गाउँपालिकाको समन्वय र सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोेजनामा सम्पन्न भएको हो ।
तालिमका क्रममा एकीकृत शत्रुजीव व्यवस्थापनको महत्व, यसको फाइदा, र मौसमी तथा बेमौसमी तरकारी खेतीको प्रभावकारी व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । सहभागी कृषकहरूलाई नर्सरी ब्याड निर्माण र झोल मल १, २, ३ बनाउने विषयमा अभ्यास गराउँदै, व्यावहारिक प्रशिक्षण प्रदान गरिएको सहकार्य परियोजना कृषि प्राबिधिक भुपेन्द्र सिजापतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा सहभागी कृषकहरूलाई काक्रा, सिमी, धनियाँ, सुईसार्ड साग, र खुर्सानीको बीउ वितरण गरिएको थियो । झोल मल बनाउनका लागि कृषकहरूलाई ६० लिटरका ड्रमसमेत वितरण गरिएको सिजापतिले बताउनुभयो ।
कार्यक्रममा ठाटीकाँध गाउँपालिकाका कृषि विकास अधिकृत अविषेक बिष्ट र वडा नम्बर ६ का वडा अध्यक्ष जोरा सिंह रोकायाको उपस्थिति रहेको थियो । सामाग्री वितरण गर्दै कृषकहरूको उत्पादन क्षमतामा यस तालिमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई दिनको तालिममा २० जना कृषकहरूले सहभागिता जनाएका थिए । कृषकहरूले नर्सरी निर्माणदेखि झोल मलको प्रयोग र मौसमी तथा बेमौसमी तरकारी खेतीका नयाँ प्रविधिहरू सिक्न पाउँदा खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया