कैलालीमा तीन लाख २४ हजार मेट्रिक टन धान उत्पादन
कैलाली । यहाँको जिल्लामा चालु आर्थिक बर्षमा तीन लाख २४ हजार ८८४ मेट्रिक टन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ४.७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार २८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।
उनले भने, ‘गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।’ गत वर्ष धानको उत्पादकत्व ४.७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।
यस्तै, जिल्लामा यस वर्ष ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १२७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।
ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बिउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै, किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए ।
प्रतिक्रिया