क्षमता विकास गरेर आत्मनिर्भरताको बाटो खोज्दै राउटे युवती

चुरा तथा पोते निर्माण सम्बन्धी सीपमूलक तालिममा भए पहिलोपटक सहभागी

क्षमता विकास गरेर आत्मनिर्भरताको बाटो खोज्दै राउटे युवती

 
काठमाडौँ - 
 दक्षिण एशियाको एक मात्र घुमन्ते जाती हो राउटे समुदाय । समयक्रम अनुसार यो समुदाय परिर्वतन हुँदै गएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेश आशपासका जंगलहरुमा घुमन्ते फिरन्ते जीवन बिताउने राउटे समुदायका युवतीहरु पनि बस्तिबाहिर पुगेर तालिममा सहभागि हुन थालेका छन्  समुदायका पुरुषहरु सबैसँग बोले र बस्ति छोडे पनि युवतीहरु बोल्न र बस्ति छोडेर अपरिचित ठाउँमा जान मान्दैन थिए । पहिले बस्ति नछोड्ने, बिरानो मान्छेहरुसँग नबोल्ने राउटे समुदायका युवतीहरु अहिले बस्तीका झुपडी  देखि सहर सहरका ठूला ठूला महलमा आयोजना गरिने कार्यक्रममा उपस्थित हुने गरेका छन् । बाहिरको बातावरणमा पुगेसँगै युवतीहरु अन्य समुदायझैँ चिटिक्क पर्ने, टाउको कोर्ने, डोरी बाट्ने र सरसफाईमा विशेष दिन दिन थालेका छन् ।

राउटे समुदायमा यस्तो परिर्वतन देखिनुमा राउटे गैर सरकारी संस्था सोसेक नेपालको महत्वपूर्ण भूमिका रहेको छ । समुदायका युवतीहरुले समुदायको भुपडी देखि सहर चहारेसँगै केही नयाँ सिक्ने हुटहुटी पनि जाग्न थालेको छ । सोही अनुसार  राउटे युवती पछिल्लो समय परिर्वतनको बाटोतर्फ अग्रसर हुन थालेका छन् । घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका युवतीहरु आफ्ना पारम्परिक चुरा पोते निर्माणमा दक्षता हासिल गर्न र जीविकोपार्जनको नयाँ आयाम बनाउन पहिलो पटक सीपमूलक क्षमता अभिवृद्धि तालिममा सहभागी भएका हुन् ।

एईआइएन लक्जेम्बर्गको साझेदारी गुराँस गाउँपालिकाको समन्वय,सोसेक नेपालले आयोजना गरेको चुरा, पोते र भुम्का निर्माण सम्बन्धी क्षमता विकास तालिममा सहभागी भएर चुरा र पोते निर्माण डिजाइन् सीप सिक्न थालेका छन्  । जस्ले गर्दा राउटे समुदायका युवतीहरुको पारम्परिक कला संरक्षण र जीविकोपार्जनमा सहयोग पु¥याउन मद्दत पुग्ने छ । 

राउटे समुदायको परम्परागत पहिचानसँग गाँसिएका चुरा, पोते, र झुम्का केवल सजावटका सामग्री मात्र होइन, ती समुदायको सांस्कृतिक पहिचान र मूल्य मान्यताका प्रतीक हुन यी आभूषणहरू राउटे महिलाहरूका लागि सौन्दर्य अभिव्यक्तिको माध्यम मात्र नभई, उनीहरूको सांस्कृतिक धरोहर र परम्पराको प्रतिबिम्ब पनि हुन । 

तर, समयक्रमसँगै समुदायमा परम्परागत सीप र अभ्यासमा कमी आउँदा यो कला हराउने अवस्थामा पुगेको थियो। सोसेक नेपालले शुरू गरेको एक विशेष पहलले भने यो परम्परालाई पुनर्जीवित गर्न महत्त्वपूर्ण योगदान दिएको छ। यो तालिमले राउटे युवतीहरूलाई आफ्नो सांस्कृतिक धरोहरलाई सम्मान गर्दै चुरा, पोते, र झुम्का निर्माणमा नयाँ–नयाँ डिजाइनहरू सिक्न प्रोत्साहित गरेको छ ।

पहिले परम्परागत रूपमा केवल एकै प्रकारका पोते बनाउने राउटे युवतीहरू अहिले तालिमपछि विभिन्न आकर्षक डिजाइनका चुरा सेट, पोते, र झुम्काहरू बनाउन सक्षम भएका छन । यो परिवर्तनले उनीहरूलाई परम्परागत कलालाई आधुनिक आवश्यकतासँग जोड्न अवसर प्रदान गरेको छ, जसले समुदायमा सीपको पुनर्जागरण र आत्मनिर्भरता विकास गर्न सहयोग पु¥याएको छ । तालिममा सहभागी युवतीहरूले आफ्नो उत्साह र खुशी व्यक्त गर्दै परम्परागत सीपलाई नयाँ उचाईँमा र्पुयाउन सक्षम भएको बताएका छन । 

समयको परिवर्तनसँगै परम्परागत सीपमा कमी आएको थियो, तर सोसेक नेपालले आयेजना गरेको क्षमता विकास तालिमले राउटे युवतीहरुलाई आफ्नो सांस्कृतिक धरोहरलाई सम्मान गर्दै नयाँ डिजाइन सिक्न उत्साहित गरेको छ ।

राउटे समुदायकी गाजली शाहीले भन्नुहुन्छ, ‘हामीलाई पहिले केवल एकै किसिमका पोते बनाउन जानेका थियौँ, त्यही पनि बनाउन कम हुँदै आएको थियो, तर अब तालिमपछि बस्तिमै बसेर विभिन्न डिजाइनका पोते, झुम्का, चुरासेट बनाउन सकिन्छ भन्ने कुरा सिक्न पाउँदा निकै खुशी छौँ ।’

यस सीप विकास तालिमले आफूहरुको जीवनमा नयाँ अवसर भएको राउटे युवतीहरु बताउँछन् । यस तालिमले हाम्रो जीवनमा नयाँ अवसरहरू ल्याएको छ,’राउटे समुदायकी अर्की युवती बाटुली शाहीले भन्नुभयो, ‘हामीले अब पोते र माला बनाएर आफ्ना घरका खर्च जुटाउन सहयोग गर्नेछौँ । पुरुषहरू काठका सामाग्री बनाएर परिवारको जीविका चलाउँछन, अब हामी पनि पोते र झुम्का बनाएर सहयोग गर्न जीविका चलाउन सक्छौँ ।’

त्यस्तै, कलिलो उमेरमै एकल जीवन बिताउन बाध्य भएकी किताब शाहीका लागि यो तालिम जीवनको नयाँ अध्यायको प्रतीक बनेको छ  । सानै उमेरमा श्रीमान गुमाएर एकल बनेपछि किताबलाई  निराशाले थिच्दै आएको थियो, तर यो क्षमता विकास तालिमले मलाई नयाँ ऊर्जा दिएको उहाँ बताउँनुहुन्छ । तालिममा बसेपछि चुरापोते निर्माण गर्नमा पहिले भन्दा अहिले क्षमता विकास भएको छ,’उहाँले भन्नुभयो, ‘अब मैले आफ्ना लागि केही गर्न सक्ने विश्वास पाएकी छु ।’ 

तालिममा हाल राउटे समुदायका सात जना महिला सहभागि छन् । सहभागीमध्ये चार जना एकल महिला र तीन जना अविवाहित युवती छन । २८ वर्षीया गाजली शाही, १८ वर्षीया सुरमान शाही, १६ वर्षीया बिनी शाही, २४ वर्षीया बाटुली शाही, २२ वर्षीया सुन्दरी शाही, १८ वर्षीया मयाराम शाही, र २५ वर्षीया किताब शाही तालिममा सहभागी छन् । 

सुरमान, सुन्दरी, मयाराम र किताब शाही एकल महिला हुन् भने गाजली, बिनी, र बाटुली शाही अविवाहित युवती हुन् । यस चुरा पोते सीप विकास तालिमले एकल महिलाहरुलाई जीविकोपार्जनका लागि सहजता ल्याउने छ भने अविवाहित युवतीहरुका लागि पनि भविष्यको बाटो कोर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ । 

तालिमपश्चात् राउटे युवतीहरूलाई आत्मनिर्भर बनाउनका लागि सोसेक नेपालले ठोस योजना बनाएको सोसेक नेपालका उप-कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

तालिमपश्चात् युवतीहरूलाई उत्पादन सामाग्री उपलब्ध गराइनेछ र यससँगै उनीहरूले निर्माण गरेका सामग्रीलाई बजारसम्म पु¥याउन सहज वातावरण निर्माणका लागि घुम्ती सामग्री व्यवस्थापन प्रणाली अन्र्तगत बजारिकरण गर्ने योजना छ,’श्रेष्ठले भन्नुभयो, ‘हामीले सामाग्री उपलब्ध गराउने छौँ र युवतीहरूले उत्पादन गरेका सामाग्रीलाई घुम्ती व्यवस्थापन प्रणालीअन्तर्गत बजारमा विक्री गर्न सहजीकरण गर्ने छौं । यस प्रक्रिया अनुसार, विक्रीबाट प्राप्त रकम पुनः उनीहरूलाई नै उपलब्ध गराइनेछ, र यो क्रम जारी रहनेछ ।’

आजको समयमा राउटे समुदायले उत्पादन गरेका सामाग्रीको अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दो क्रममा छ । राउटे समुदायले निर्माण गरेका, कोसी, मदुस लगायतका अन्य काठका सामाग्री राष्ट्रिय देखि अन्तर्राष्ट्रिय बजारसम्म पुगेको श्रेष्ठको भनाई छ । यसरी अन्तराष्ट्रिय बजारसम्म सामाग्री पुगेमा राउटे समुदायको आत्मनिर्भरता र जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेल्नेछ । 

राउटे समुदायका उत्पादनहरूको बजारिकरणमा कर्णाली प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको श्रेष्ठले बताउनुभयो । ‘कर्णाली प्रदेश सरकारले राउटे समुदायको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहयोग गर्नुपर्छ,’ उपकार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ।

 राउटे समुदायका युवतीहरू तालिममा उत्साह र जिज्ञासासहित सहभागी भएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्री बताउँनुहुन्छ  । यहाँ बस्तिदेखि नै युवतीहरु कति दिन के सिकाउँछन् भन्दै जिज्ञासा राखेका थिए,’उहाँले भन्नुभयो, ‘प्राय घरकै काममा व्यस्त हुने युवतीहरु तालिममा जाने भन्ने कुराले निकै उत्साहित देखिन्थे ।’

राउटे समुदायका युवतीहरुलाई सीपमुखी तालिम र सकारात्मक दृष्टिकोणको प्रोत्साहन दिइयो भने यसले अवश्य परिवर्तन ल्याउन सक्ने  सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत अनुजा पन्तले बताउनुभयो  ।

उहाँका अनुसार, बस्ती बाहिर सीप विकास तालिम र सकारात्मक सोचको प्रोत्साहनले राउटे युवतीहरुलाई नयाँ सम्भावनाहरु र अवसरहरूको बारेमा सोच्न मद्दत पु¥याउनेछ । यसले उनीहरुको जीवनस्तर सुधार्न, आत्मनिर्भर बन्न, र समुदायको विकासमा योगदान पु¥याउन ठूलो भूमिका खेल्न सक्छ । 

राउटे समुदायका सात जना युवतीले तीन दिनसम्म सञ्चालन गरिएको विशेष तालिममा चार प्रकारका पोते, हातमा लगाउने औँठी, चुरा सेट, र कानमा लगाउने झुम्का निर्माण गर्न सिकेका छन् । राउटे परियोजनामा कार्यरत अनुजा पन्तका अनुसार, यो तालिम एक हप्ताको लागि योजना बनाइए पनि सहभागिता तीन दिनमा सीमित गरिएको थियो । ‘सातजना सहभागीमध्ये पाँचजनाले पहिलो पटक बस्ती छोडेका कारण, उनीहरूको सहजताका लागि तालिम छोट्याइएको हो,’पन्तले जानकारी दिनुभयो  ।

तालिमले युवतीहरूलाई सिर्जनशीलता र आत्मनिर्भरताको नयाँ आयाम दिन सफल भएको र पहिलो पटक बस्तीभन्दा बाहिर निस्केर सिक्न पाउँदा उनीहरूमा नयाँ आत्मविश्वास र ऊर्जा देखिएको पन्तले बताउनुभयो ।

तीन दिनको तालिम अवधिमा सहभागी युवतीहरूले २३ वटा पोते लगायतका विभिन्न आभूषणहरू निर्माण गरे। प्रशिक्षक कल्पना बिसीका अनुसार, तालिमको प्रभावकारिता उत्साहजनक रह्यो । ‘राउटे युवतीहरू समुदायमै आभूषण निर्माणमा केही अनुभव भएकोले आधारभूत प्रशिक्षण आवश्यक भएन,’ उहाँले भन्नुभयो  । ‘उनीहरूको सिक्ने उत्साह र चाँडो आत्मसात गर्ने क्षमताले तालिमलाई थप प्रभावकारी बनायो ।’


सुर्खेतको वीरेनद्रनगरमा आइतवार देखि संचालन भएको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको थियो  ।

प्रतिक्रिया