दैलेखमा १ सय ५० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

दैलेखमा १ सय ५० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

दैलेख । दैलेखमा १ सय ५० मेट्रिकटन क्षमता भएको कोल्ड स्टोर सञ्चालनमा ल्याईएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उदेश्यसहित कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो ।  
 कृषि सामग्री केन्द्रको जीर्ण भवनलाई हटाएर अत्याधुनिक सुविधा सहितको भण्डारण भवन निर्माण गरेर तयार अवस्थामा राखिएको कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो । एक सय ५० मेट्रिकटन क्षमताको तीन वटा चेम्बरसहित कोल्ड स्टोर सञ्चालनमा ल्याईएको कृषि विकास दैलेखले जनाएको छ । 
कोल्ड स्टोर सञ्चालनमा आएपछि अधिकाँश किसानमा खुशी छन् । एकै पटक सुन्तला बेच्न समस्या हुने भएकोले भण्डार गरेको हौं । भण्डारमा एक ३० क्यारेन्टमा करिव तीन हजार सुन्तला भण्डार गरिएको दुल्लू नगरपालिका –११ भुकाँहाका किसान ठाकुर केसी बताए । उनले भने, मैले बारीमा पाँच सय बढी विरुवा छन्, तीन सय बढी विरुवाले उत्पादन दिन्छ ।कम मुल्यमा विक्री गर्न आतुर थिए । अब कोल्ड स्टोर बनेपछि सुन्तलाको सिजन अफ हुँदा मुल्य पाउँने  आशा गरेर कोल्ड स्टोरमा राखेको हौं उनले भने ।   
त्यस्तै कृषि विषय नै अध्ययन गरेर कृषि कर्ममा लागेका भैरवी गाउँपालिका –७ का राजेश कँडेलले करिब दुई क्विन्टल किबी भण्डारण गरेका छन् ।  किवीको बजारमा माग पनि धेरै छ तर सबै ठाँउमा एकै समयमा फल्न भएकाले पनि मूल्य नपाउने गरेकोमा अब केही महिना मात्र सुरक्षित राख्न सके उच्च मूल्य लिन सकिन्छ कि भनेर भण्डार गरेको हौं कँडेलले जानकारी दिए  । 
सञ्चालनमा आएको कोल्ड स्टोरबाट फलफुल र तरकारी किसानले लाभ लिने स्थानीयबासी बताउँछन् ।सुन्तला जस्तै किवी, जुनार, कागती, स्याउ, तरकारी लगायत फलफूललाई भण्डारण गर्न सकिने भएपछि किसानलाई उत्साह थपेको छ । किसानहरुको उत्साहलाई ध्यानमा राखी जति सक्दो छिटो सञ्चालनमा ल्याउँदा किसानले मूल्य पाउने र मनग्य कमाउन सक्ने विश्वाससहित सेवा विस्तार गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले बताए । 
भावनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको करिब ६० लाखको लागतमा दुई वर्ष अगाडि निर्माण सम्पन्न गरेको थियो भने करिब थप ७९ लाख बराबरको कोल्ड स्टोरको उपकरण जडान गरेर संचालनमा ल्याइएको हो। 
 
 

प्रतिक्रिया