दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तिम चरणमा

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार तीन हजार नौसय ३० मिटर गहिराइसम्मको ड्रिलिङ सम्पन्न भइसकेको छ, अब केवल ७० मिटर खन्न बाँकी छ।

यो परियोजना गत वैशाख २८ गतेबाट सुरु गरिएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार ड्रिलिङको काम यसै महिना सक्ने लक्ष्यसहित तीव्र गतिमा भइरहेको छ। निर्धारित समयभन्दा अगावै काम सम्पन्न हुने सम्भावना छ,' त्रिपाठीले जानकारी दिए।

चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा ‘सिस्मिक सर्भे’, ‘जियोलोजिकल सर्भे’, ‘म्याग्नेटो टेल्युरिक सर्भे’ र ‘जिओ केमिकल स्याम्पलिङ सर्भे’ समयमै सम्पन्न गरेको थियो । यी सर्भेक्षणहरूले जलजले क्षेत्र पेट्रोलियम पदार्थका दृष्टिकोणले सम्भावनायुक्त रहेको देखाएका थिए ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा यो परियोजना कार्यान्वयनमा आएको हो। परियोजनाका लागि जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन कार्यमा संलग्न छन्। यस परियोजनामा खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे, र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीको सहकार्य रहेको छ।

प्रतिक्रिया