ठाटिकाँध कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमडौँ - दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेको श्री ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ। जिल्लाकै नमुना सहकारीका रूपमा स्थापित यस संस्थाले स्थापना कालदेखि नै ठाटिकाँध गाउँपालिकाका सबै वडाहरूमा सक्रियतापूर्वक काम गर्दै ग्रामीण जीवनस्तर सुधारका लागि उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
सहकारीले विशेषगरी दलित, महिला, जनजाति, विपन्न, र पहुँचबाट वञ्चित किसानहरूको हकहितमा काम गर्दै हरेक वडामा विभिन्न उपसमिति मार्फत सेवा पुर्याउँदै आएको छ। स्थापनाको चार वर्षमै सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा प्रभावकारी योगदान गर्दै आशालाग्दा उपलब्धिहरू हासिल गरेको छ।
वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष दिपक कुमार रावलले आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई सक्षम र प्रभावकारी बनाउन आगामी दिनमा राज्यको तीनखम्बे आर्थिक नीतिका आधारमा गतिविधिहरूलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “गरिब र विपन्नको जीवनस्तर उकास्न हामीले सहकारीलाई एउटा प्रभावकारी माध्यम बनाउँदै लगिरहेका छौं,” अध्यक्ष रावलले भन्नुभयो ।
ठाटिकाँध गाउँपालिकाका उपाध्यक्ष देवीराम बडुवालले कार्यक्रममा बोल्दै सहकारीले गाउँपालिकाको समग्र विकास र किसानहरूको जीवनस्तर सुधारका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो । “हामी सबैको हातेमालोले सहकारीलाई अझ प्रभावकारी बनाउन र किसानहरूको जीवनस्तर उकास्न म सदैव प्रतिबद्ध छु,” उपाध्यक्ष बडुवालले बताउनुभयो ।
कार्यक्रको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाहले सहकारीको वास्तविक उद्देश्य सामाजिक तथा आर्थिक परिवर्तनमा योगदान पुर्याउनु रहेको बताउनुभयो । “सहकारी खोल्ने मात्र होइन, यसको माध्यमबाट ग्रामीण जनताको जीवनस्तर सुधार्न स्पष्ट योजना र दीर्घकालीन दृष्टिकोण आवश्यक छ,” मन्त्री शाहले जोड दिनुभयो।
साधारण सभाको अवसरमा सहकारीलाई सहयोग पुर्याउने विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सहकारीमा हाल ६०६ जना सेयर सदस्यहरू रहेका छन्। १३ सदस्यीय कार्यसमिति सहित लेखा र ऋणजस्ता विभिन्न उपसमितिहरू सक्रिय छन्। सभाको बन्द सत्रमा नयाँ कार्यसमिति चयन गरिने जानकारी सहकारीले दिएको छ।
श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारीले किसानहरूलाई व्यवसायिक बनाउनका साथै आय आर्जनमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सहकारीका गतिविधिले गाउँपालिकाभरि उत्साह थपेको र स्थानीय बासिन्दाको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्।
प्रतिक्रिया