लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन आवश्यक : सांसद राना

लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन आवश्यक : सांसद राना

काठमाडौं – लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य विषयमा केन्द्रित राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ। सेभ द चिल्ड्रेन, र नील हिरा समाजको आयोजनामा संचालन भएको उक्त भेलामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिका समस्याहरू, सामाजिक स्वीकृति, र उनीहरूको मानसिक स्वास्थ्य सुधारका उपायहरूबारे विस्तृत रुपमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सांसद सीता कुमारी रानाले यस विषयलाई समाजको प्राथमिकतामा राख्नुपर्ने र यसका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिनिधि सभा सांसद एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य सीता कुमारी रानाले लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । “सिमान्तकृत र आवाजविहीन समुदायहरूको पक्षमा आवाज नउठाएसम्म तिनीहरूको मुद्दा नीतिगत तहमा दर्ता हुँदैन,” उहाँले भन्नुभयो । 

सांसद रानाले एलजिबिटिक्यूआई (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायको हकहित सुनिश्चित गर्न गाउँ तहसम्म यस्ता कार्यक्रम पुर्‍याउनुपर्ने आवश्यकता रहेको जोड दिनुभयो।

उहाँले दैलेखको उदाहरण दिँदै भन्नुभयो, “भर्खरै पोहोर साल नील हिरा समाजमा कार्यरत अधिकारकर्मी भूमिका श्रेष्ठ दैलेख पुग्नुभएको थियो। त्यतिबेला एउटा गाउँपालिकाबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूका लागि सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात गरिएको थियो । अहिले दुल्लू नगरपालिकामा पनि यस्तो कार्य सुरु भइसकेको छ।”

 विकट हिमाली क्षेत्रहरू, जस्तै हुम्ला र जुम्लामा लैङ्गिक र यौनिक अल्पसंख्यकहरूको अवस्था कस्तो होला जहाँ बाटोको राम्रोसँग पहुँचमा छैनन् अझै त्यहाँको अवस्था दयनीय रहेको बताउँनुहुँदै यस्ता कार्यक्रम त्यस्ता ठाउँहरुमा पनि संचालन हुनुहपर्ने बताउनुभयो। “काठमाडौँका सीमित कार्यक्रमले मात्र समस्या समाधान हुँदैन। अब यस्ता कार्यक्रमहरू दुर्गम गाउँ र बस्तीमा पुर्‍याउन जरुरी छ,” उहाँले भन्नुभयो।

हामीले हाम्रो समाजलाई न्यायपूर्ण, समान, र समावेशी बनाउन आवश्यक नीतिहरू लागू गर्नु पर्छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न विशेष कार्यक्रम र सेवाको पहुँच बढाउन सरकारले पहल गर्नुपर्छ, उहाँले भन्नुभयो, मानसिक स्वास्थ्यको सवाल कुनै एक वर्गको मात्र होइन, यो समग्र मानव अधिकारसँग जोडिएको विषय हो।”

भेलामा सहभागीहरूले एलजिबिटिक्यूआई (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायले भोग्नुपरेका प्रमुख समस्याहरू, जस्तै सामाजिक अस्वीकृति, मानसिक स्वास्थ्यमा समस्या, रोजगारीमा भेदभाव, र कानूनी सुरक्षा अभावबारे विचार व्यक्त गरेका थिए ।

कार्यक्रमले मानसिक स्वास्थ्य क्षेत्रमा लैङ्गिक र यौनिक अल्पसंख्यक समुदायका विशेष आवश्यकता पहिचान गर्दै तिनलाई सम्बोधन गर्न नीति निर्माण, सेवाको विस्तार, र सचेतना अभिवृद्धिका उपायहरूबारे छलफल गरिएको थियो । सहभागीहरूले समाजमा पूर्वाग्रह र भेदभाव अन्त्य गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए । 

 मानसिक स्वास्थ्य सेवा प्रदान गर्दा लैङ्गिक र यौनिक विविधतालाई सम्मान गर्ने वातावरण निर्माण गर्न सरकार र नागरिक समाजले मिलेर काम गर्नुपर्ने निष्कर्ष थियो ।

प्रतिक्रिया