नामूलेमा करेन्ट लागेर १६ वर्षीय बालिका गम्भीर घाइते
दैलेख । दैलेखको नौमूले गाउँपालिका -६, सल्लेरीमा घाँस काट्ने क्रममा करेन्ट लागेर १६ वर्षीय सपना नेपाली गम्भीर घाइते भएकी छन्। सपना शिव शक्ति मावि कक्षा १० मा अध्ययनरत छन् ।
घटनास्थल सल्लेरीको धामीडाँडा सडक नजिकै रहेको काउलोको रुखमा घाँस काट्दै गर्दा करेन्ट लागेपछि उनी बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीय युवाहरू र वडा अध्यक्ष लालबहादुर चन्दको सहकार्यमा उनलाई उद्धार गरी नौमूले प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि दैलेख अस्पताल रिफर गरिएको छ।
डाक्टरका अनुसार सपनाको दायाँ हातका चार औंला र दायाँ तिघ्रामा गम्भीर जलन भएको छ। हाल बिरामीको बोल्ने अवस्था सामान्य भए पनि थप उपचारका लागि तयारी गरिंदैछ।
घटनाको जानकारी पाएपछि नौमूले गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाही, वडा अध्यक्ष चन्द, नेपाल विद्युत् प्राधिकरणका प्रमुख नरेशदत्त रावलसहितको टोली घटनास्थल पुगेको थियो। टोलीले करेन्ट प्रवाहित भएको काउलोको रुख हटाउने काम सम्पन्न गरेको छ।
इलाका प्रहरी कार्यालय नौमूलेका इन्चार्ज नवीन केसीले घटनास्थलको मुचुल्का तयार गर्दै सम्भावित जोखिम कम गर्न तत्काल उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ, दैलेखका अध्यक्ष अम्मर सुनारले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै विद्युत् सञ्जालसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया