कर्णाली नदिमा बेपत्ता संज्याल अझै भेटिएनन्
काठमाडौँ । कालिकोटको पचालझरना गाउँपालिका -८ खडितोलीका कुश्माखर संज्याल पुष १० गते स्काभेटर तार्ने क्रममा कर्णाली नदिमा बेपत्ता भए । पचालझरना गाउँपालिका -८ चाटेबगरबाट वडा नम्बर -४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा उनी बेपत्ता भएको आठ दिनस पुगिसक्दा समेत उनको शव भेटिएको छैन । उनका परिवार र स्थानीयवासी अझै उनको शवको खोजीमा छन । तर, पनि भेटाएका छैनन् ।
कर्णाली नदिमा स्काभेटर तार्न खोज्दा पानीको भेलमा डुबेर कुश्माखर संज्याल बेपत्ता भएका थिए । उनीसँगै कालीकोट खाँडाचक नगरपालिका - ८ का डोजर चालकनवराज मल्लको सकुशल उद्धार गरिएको थियो । संज्याल भने अझै बेपत्ता छन् ।
घटना भएको दिनदेखी नै स्थानीयवासी, नेपाल प्रहरी र सशत्र प्रहरीको गोताखोर टोलीले खोजी अभियान चलाए पनि उनको शव फेला पार्न नसकेपछि सुर्खेतबाट पुगेको सात जनाको गोताखोर टोलीले रंगिलसम्म खोजी गरे पनि शव भेट्न सकेन ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द चौधरीका अनुसार, टोलीले कर्णाली नदिको किनारका विभिन्न स्थानमा खोजी कार्य गरेको थियो । चौधरीले भन्नुभयोे, हामीले नदी आसपासका सबै पोष्टमा पत्राचार पनि गरेका छौँ, र स्थानिय प्रहरी चौकीहरूद्वारा पनि खोजी कार्य भइरहेको छ ।’
घटनाको केहि समयपछि स्काभेटर चालक मल्लको अवस्था सामान्य भएपछि उनलाई स्थानिय प्रहरी चौकीमा राखिएको छ । प्रहरी निरीक्षक चौधरीले मल्लको अवस्थाबारे भने, ‘स्काभेटर चालक मल्ल अहिले सामान्य छ ।’
यस घटना संगै स्काभेटर भने पानीमै डुबेको अवस्थामा रहेको छ र हालसम्म निकालिएको छैन। स्थानीयवासी र सरकारी निकायहरूले पानीमै डुबेको स्काभेटरको उद्धारका लागि योजना बनाइरहेका बताइएको छ ।
कर्णाली नदीमा पक्की पुल नहुँदा जोखिम
कर्णाली नदीमा पक्की पुलको अभावले गर्दा स्थानीयवासी र यातायात चालकहरूलाई निरन्तर जोखिम मोलेर नदी पार गर्नु पर्ने अवस्था उत्पन्न भएको स्थानीयले बताएका छन् । स्काभेटर र डोजरहरूलाई तार्ने कार्य यस क्षेत्रमा सामान्य बनिसकेको छ, जसले गर्दा यस्ता दुर्घटनाहरू हुने सम्भावना उच्च रहेको स्थानीयको भनाई छ ।
पछिल्लो वर्ष, कुश्माखर संज्यालका कान्छा भाई धिर संज्याल पनि कर्णाली नदीमा डोजर पल्टिँदा मृत्यु ज्यान गुमाएका थिए । घटना घटेकोे एक वर्ष नपुग्दै, अर्का भाई कुश्माखर संज्याल पनि यसै नदीमा बेपत्ता भएका छन । यसले संज्याल परिवारलाई दोहोरो पीडामा पारिरहेको छ, जहाँ एकै वर्षको अन्तरालमा दुई भाइको मृत्यु र धनमालको ठूलो क्षति भएको छ ।
प्रतिक्रिया