बाल विकास केन्द्र पिपलचौतारामा सिकाइ सहजीकरण
काठमाडौँ - दैलेखको ठाटीकाँध गाउँपालिका - २, पिपलचौतारामा बाल विकास केन्द्रमा सिकाइ सहजीकरण कार्यक्रम सम्पन्न भएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजना मार्फत जनता आधारभूत विद्यालय पिपलचौतारामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सिकाइ सहजीकरण कार्यक्रम बालबालिकाको समग्र विकासमा केन्द्रित रही, उनीहरूको शारिरिक, मानसिक स्वास्थ्य सरसफाइ र सामाजिक विकास लागि सहजीकरण गरिएको थियो । सहजीकरण कार्यक्रममा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो ।
विद्यालयमा ६८ जना बालबालिका अध्यनरत रहेता पनि ५६ जना बालबालिकाको सहभागिता रहेको सहकार्य परियोजना सामाजिक परिचालक मनसरा बिष्टले जानकारी दिनुभयो । सिकाईको सहजीकरण सोही विद्यालयमा कार्यरत शिक्षिका जगती कुमारी रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रमले बालबालिकामा सिकाइप्रति रुचि बढाउने, उनीहरूको प्रारम्भिक सीप विकास गर्ने, र सहजिकरणमार्फत सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्य राखेको थियो । सहभागी बालबालिकालाई शिक्षण सामग्री प्रयोग गरेर खेलकुद, चित्रकलासहितका गतिविधि थियो ।
सोसेक नेपालले ठाटीकाँध गाउँपालिका क्षेत्रका बाल विकास केन्द्रहरूलाई समृद्ध र बालमैत्री बनाउन निरन्तर पहल गर्दै आइरहेको छ। सहकार्य परियोजनाको सहयोगमा आयोजना गरिएका यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।
स्थानीय अभिभावकहरूले यस्तो कार्यक्रमले बालबालिकाको आत्मविश्वास र सिकाइ क्षमता बढाएको बताएका छन्। गाउँपालिकाका जनप्रतिनिधिहरूले बाल विकास केन्द्रहरूको स्तरोन्नतिका लागि यस्ता सहजीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया