प्रजनन् स्वास्थ्य सुधारका गर्न राउटे समुदायमा 'प्रजनन् शिक्षा'
काठमाडौँ – ‘के हाम्रो समुदायमा रक्सि सेवनकै कारण बच्चा नजन्मिएको हो त ?’ किशोर किशोरी प्रजजन शिक्षामा राउटे समुदायका राउटे युवा कलमको जिज्ञासा थियो । समुदायमा संचालन गरिएको किशोर–किशोरी प्रजजन् शिक्षामा किशोर–किशोरीले सोधेको प्रश्नले यस समुदायको गम्भीर चुनौतीलाई उजागर गरिदिएको छ ।
राउटे समुदायमा प्रजनन् उमेर समूहका धेरै दम्पती भएता पनि महिलाहरू गर्भवती हुन नसक्ने समस्या सामान्यजस्तै भएको छ । यसले समुदायको प्रजनन दर निकै न्यून बनाएको छ, जसका कारण जनसंख्या तीव्र गतिमा घट्दै गएको छ । राउट समुदायमा जन्मदर घट्दो छ भने मृत्युदुर बढ्दो छ । केही समयअघि सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२, गिरीघाटमा बसाइ सरेका राउटे समुदायको हाल जनसंख्या १३४ मात्र छ भने घरधुरी संख्या ४२ रहेको छ ।
राउटे समुदायमा सन्तान जन्मदर घट्नुको पछाडि प्रमुख कारण भनेको परम्परागत सोच, अत्याधिक मदिरा सेवन, र अस्वस्थ खानपान रहेको राउटे समुदायमा कार्यरत अहेव अनुजा पन्त बताउँनुहुन्छ । ‘प्रजनन उमेरका दम्पतीहरूले समेत सन्तान जन्माउन नसक्नु गम्भीर विषय हो,’ राउटे समुदायमा लामो समयदेखि कार्यरत अहेव अनुजा पन्त भन्नुहुन्छ, ‘मदिरा सेवन र खानपानमा लापरबाहीले प्रजनन् क्षमतामा नकारात्मक असर परेको देखिन्छ ।’
परम्परागत सोच र मदिरा सेवनका कारण उनीहरुको प्रजनन् क्षमतामा समस्या भएका कारण प्रजजन् दर घट्दै गएको हुनसक्ने लामो समय देखि राउटे समुदायमा कार्यरत स्वास्थ्यकर्मीको भनाई छ ।
विषेशतः खानपिनमा लापवाही, मदिरा सेवनले उनीहरुको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।
प्रजनन् स्वास्थ्य वृद्धि गर्न समुदायमा प्रजजन् शिक्षा
राउटे समुदायमा प्रजजन् दर घट्नुका पछाडी समुदायको परम्परागत सोच र मदिरा सेवनकै कारण भएको सरोकारवालाको दाबी छ ।
राउटे समुदायको प्रजनन् स्वास्थ्य वृद्धि गर्न र सुधारका लागि समुदायमा प्रजनन् शिक्षा दिन थालिएको छ । एइआईएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजना मार्फत समुदायमा प्रजनन्स्वास्थ्यबारे प्रजजन् शिक्षा लिन थालिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो ।
केही वर्ष यता राउटे समुदायमा प्रजजन् दर घटेको अवस्था छ,’यसै विषयमा राउटे समुदायलाई सुसुचित गर्न र प्रजनन शिक्षाका बारेमा जानकारी गराउन प्रजजन शिक्षा दिन थालिएको हो ।’
राउटे समुदायमा प्रजजन् दर वृद्धि गर्नका लागि दुइतीनवटा कुरा कडाईका साथ गर्नुपर्ने थापा बताउँनुहुन्छ । ‘पहिलो कुरा समुदायमा कडाइका साथ मदिरा सेवन रोक्न विशेष अभियान सञ्चालन, प्रजनन स्वास्थ्यबारे शिक्षा र परामर्शलाई निरन्तरता दिन आवश्यक र तेस्रो खानपानमा ध्यान दिँदै पोषणयुक्त आहारको व्यवस्था गर्दै परम्परागत सोचमा परिवर्तन ल्याउन सामुदायिक छलफल र प्रशिक्षण सञ्चालन गरिनुपर्छ,’ थापाले भन्नुभयो ।
राउटे समुदायमा सन्तान जन्मदर घट्नुको पछाडि प्रमुख कारण मध्य बालविवाह भएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीको भनाई छ । राउटे समुदायमा जन्मदर घट्नुको कारण मध्य एक बालविवाह हो,’उहाँले भन्नुभयोे, ‘परिपक्व उमेर नहुँदै बालविवाह गर्ने चलन र अर्को मदिरा सेवन र खानपानको लापवाही प्रमुख कारण हुन् ।’
राउटे समुदायमा मदिरा सेवन रोक्न स्थानीय तह र स्थानीय प्रहरी प्रशासनले विशेष प्रयास गरिरहेका छन । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीका अनुसार, राउटे समुदाय बसोबास गर्ने क्षेत्रमा मदिरा बिक्री र वितरणमा रोक लगाउन पालिका र प्रहरी प्रशासनले स्थानीय व्यवसायीहरूलाई सचेत गराउने काम गरिरहेका छन ।
‘राउटे समुदायलाई मदिरा बिक्री नगर्न व्यवसायीलाई बारम्बार अनुरोध गरेका छौँ । यदि अनुरोधको अवज्ञा गर्दै कसैले मदिरा बेचेको पाइएमा कानुन अनुसार कारबाही गर्ने गरेका छौँ,’अध्यक्ष बिसीले भन्नुभयो ।
स्थानीय पालिका र प्रहरीको सहकार्यमा मदिरा नियन्त्रणका प्रयास गरिए पनि राउटे समुदायमा यसको सेवन पूर्णतः रोक्न सकिएको छैन । अध्यक्ष बिसीले भन्नुभयो, ‘पहिलेको तुलनामा अहिले मदिरा सेवनमा कमी आए पनि समुदायले लुकिछिपी सेवन गर्न छाडेका छैनन ।’
मदिरा सेवनका कारण स्वास्थ्यमा गम्भीर असर परेको छ, साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक प्रभाव पारेको छ,’अध्यक्ष बिसीले भन्नुभयो, ‘हामीले बारम्बार प्रहरी परिचालन गरेर मदिरा नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ ।’
जन्मदर भन्दा मृत्युदर बढ्दो
राउटे समुदायमा जन्मदरभन्दा मृत्युदर बढ्दो छ । २०७५ असारदेखि हालसम्म समुदायमा ५४ जनाको मृत्यु भएको छ भने २०७६÷७७ यता विभिन्न वर्षमा जन्मदर भन्दा मृत्युदर बढ्दो अवस्थामा रहेको छ ।
राउटे परियोजनामा कार्यरत लाल बहादुर खत्रीले दिएको जानकारी अनुसार दिएको तथ्यांक अनुसार राउटे समुदायमा २०७६÷ ७७ मा ४ जनाको जन्म भएको थियो भने १० जनाको मृत्यु भएको छ ।
त्यस्तै २०७७ ÷७८ मा ७ को जन्म ६ जनाको मृत्यु, २०७८÷ ०७९ मा जन्म शून्य, मृत्यु २ जना, २०७९÷ ८० मा ४ जनाको जन्म ८ जनाको मृत्यु, २०८० ÷०८१ मा ६ जनाको जन्म भएको थियो भने १४ जनाको मृत्यु भएको खत्री बताउँनुहुन्छ ।
सामुदायिक सोचमा परिवर्तन आवश्यक
राउटे समुदायमा भगवानले सन्तान दिन्छन् वा लिन्छन् भन्ने विश्वास रहिआएको छ । तर, प्रजनन शिक्षाले स्वास्थ्य प्रतिको लापरबाहीका कारण समस्या भएको समुदायले स्वीकार्ने अवस्था ल्याएको छ ।
राउटे समुदायका २५ वर्षका दिपक शाही भन्नुहुन्छ, ‘हाम्रो समुदायमो प्रजनन् दर घट्नुमा हाम्रै लापवाहीको भएको आफूले पहिलेनै संका गरेको थिए । तर, अहिले समुदायमा संचालन गरिएको किशोरी शिक्षाबाट हाम्रा आँखा खुले । प्रजजन दर हाम्रै लापवाहीका कारण घटेको रहेछ ।’
राउटे समुदायकी गमला शाहीले यस्तै प्रजजनदर शिक्षा सम्बन्धी समुदायमा नियममित छलफल गर्न माग गर्नुभयो ।
हाम्रो समुदायको महिला पुरुषलाई नियमित रुपमा किशोर किशोरी प्रजजन् शिक्षालाई निरन्तरता दिन आवश्यक छ,’गमला भन्नुहुन्छ, ‘हाम्रा समुदायले रक्सि खाए पनि बच्चा जन्मिने औषधी ल्याइदिनुस । जन्मदर बढे अनि हाम्रो जनता धेरै हुन्छ ।’
प्रतिक्रिया