माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौँ माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
     
 माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो ।
      
टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ ।
      
टोखा नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने टोखा बजारभित्र चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखावासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो । अहिले नै चाकु किन्ने तथा खरिदका लागि ‘बुकिङ’ गर्न व्यवसायीहरू त्यहाँ पुग्ने गरेका छन् ।

यतिबेला टोखाको श्रीकृष्ण चाकु उद्योगमा ५० भन्दा बढी कामदारल चाकु उत्पादनको कार्यमा खटिएका छन् । उक्त चाकु उद्योगकी सञ्चालिका सन्तमाया श्रेष्ठ तिहारपछि आफू चाकु उत्पादनमा लागेको र अहिलेसम्म निरन्तर काम गरिरहेको बताउनुहुन्छ । आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको उहाँको भनाइ थियो ।
      
टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा बिक्री हुँदै आएको छ । यसैगरी, उक्त चाकु नेवार समुदाय भएको विदेशका विभिन्न मुलुकममा बिक्री वितरण हुन्छ ।
      
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउनुहुन्छ । “टोखाका चाकु उद्योगीले वार्षिक रू ३० लाखदेखि ४० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्रीवितरण गर्दै आएका छन्”, अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।
     
 नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश र विदेशमा रहेको बताउनुहुन्छ । नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ ।
      
टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकालेसमेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाले हाल टोखामा ‘चाकु स्तम्भ’ निर्माणका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।
      
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर  विसी टोखाको चाकु संरक्षणका लागि टोखाका चाकु उद्योगीलाई चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमण गरिसकिएको बताउनुहुन्छ । टोखाको चाकु अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गरिने उहाँको भनाइ थियो ।
       
अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्लाबाट आउने गरेको छ । पछिल्लो समय टोखाको परम्परालाई जोगाउनका लागि टोखा कृषि शाखाको सहयोगमा टोखाभित्र उखु रोप्न लागिएको छ । उक्त कार्यको लागि रू पाँच लाख विनियोजन भइसकेको टोखा नगरपालिकाले जनाएको छ । यस्तै, पुस्ता हस्तान्तरणका लागि विभिन्न प्रकारका तालिमसमेत प्रदान गरिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
      
बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० भन्दा बढी चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् ।
      
टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विस २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो । टोखामा ५० वर्षदेखि  चाकु उत्पादन गर्दै आउनुभएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाट माग भइरहेको बताउनुहुन्छ ।
      
चाकुको माग अत्यधिक भएपछि बजारसम्म पु¥याउन भ्याइनभ्याइ भएको उहाँको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
      
काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रूपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिरहेको बताउनुहुन्छ । “टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउने छन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु”, मन्त्री पौडेल भन्नुहुन्छ । मन्त्री पौडेल टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने बताउनुहुन्छ ।
      
टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३५ देखि एक सय ४० सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । रासस 

प्रतिक्रिया