कर्णाली राजमार्गका संरचना थालियो हटाउन

कर्णाली राजमार्गका संरचना थालियो हटाउन

जुम्ला -  जुम्लाको तिला गाउँपालिकास्थित कर्णाली राजमार्गमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरू भएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार तिलाको कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । 

अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र सडक डिभिजन जुम्लाले चासो लिएर काम गरिरहेको छ । तिलाको रारासेरी बजारका केही टहरा हटाएको छ । 

कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “सडक अतिक्रमणका विषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडा कार्यालयबाट जारी गरिएका सूचना केवल सूचना टाँसमै सीमित भएको बेला अहिले उक्त सूचनालाई कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील छ ।” 

तिला गाउँपालिका–३ निवासी ज्वारीलाल भट्टराईले निर्णय कार्यान्वयन गर्न पटक–पटक बजारवासीले नगरपालिका र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि ती कार्यालयले एकले अर्कालाई दोषारोपण गर्दै पन्छने गरेको आरोप लगाउनुभयो । 

समयमै अव्यवस्थित घरटहरा नहटाइँदा र तिला–३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेलाबेलामा दुर्घटना हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भन्नुभयो, “अतिक्रमण हटाउने विषय प्राथमिकताका साथ राखेर काम भइरहेको छ ।” राजमार्ग अतिक्रमण गरेर बनेका सबै संरचना हटाउन स्थानीय तहलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

प्रतिक्रिया